दल

रविको सनकले दुई मन्त्रीको निराशाजनक बहिर्गमन

इकागज |
माघ २४, २०७९ मंगलबार १२:२३ बजे

प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएपछि रास्वपाका नेताहरू ।

काठमाडौँ- पछिल्लो एक दशकदेखि नेपाली शिक्षाबारेमा धेरै ज्ञान राखेका शिशिर खनाल शिक्षामन्त्री बन्दा धेरैमा ठूलो आशा पलाएको थियो । तर उनले एक महिना पनि पूरा समय मन्त्रालयमा बिताउन नपाउँदै निराशाजनक रुपमा राजीनामा दिन बाध्य हुनु परेको छ ।

त्यसैगरी चिकित्सकसमेत रहेकी तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री नै भए पनि सुधारको आशा राख्नु स्वभाविक थियो । उनले सक्रिय चिकित्सा पेशा छाडेर चुनावमा होमिँदा धेरै सकारात्मक सन्देश गएको थियो ।


तर दुवै जनाले धेरैका लागि महत्वपूर्ण र आफ्ना लागि ऐतिहासिक जिम्मेवारी सम्हाल्दा सुधारको बारेमा अध्ययन गर्दागर्दै राजीनामा दिएर बाहिरिनु परेको छ । 
यसले शिक्षा र स्वास्थ्यमा केही न केही सकारात्मक सुधार हुने र नयाँ पुस्ताले पुराना बिचौलियाको रजगज हुने शिक्षा र स्वास्थ्य मन्त्रालयमा थोरै भएपनि तात्विक परिवर्तन गर्ने आश निराशामा परिणत भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै शिक्षामन्त्री खनाल र स्वास्थ्य राज्यमन्त्री कार्कीले राजीनामा दिनु परेको हो । स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका डीपी अर्यालले पनि राजीनामा दिएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्र प्रत्यक्ष नागरिकसँग जोडिएको विषय हो । पछिल्लो समय नेपालमा सबैभन्दा धेरै अस्तव्यस्त क्षेत्र पनि शिक्षा र स्वास्थ्य नै हो । निःशूल्क शिक्षाको रटान लगाए पनि नागरिक महंगो मूल्य तिरेर निजी विद्यालयमा छोराछोरी पढाउन बाध्य छन् । 

‘टीच फर नेपाल’ संस्था र अभियानका कारण शिक्षाबारे गहिरो ज्ञान राख्ने शिशिर खनालले कम्तीमा संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको विषयलाई कार्यान्वयन गर्ने अपेक्षा धेरैको थियो । शिक्षा मन्त्रालयलाई जिम्मेवार बनाउने र शिक्षाका मुद्दालाई सम्बोधन गर्ने आश उनीबाट गरिनु अस्वभाविक थिएन । त्यसमाथि संस्था नै खोलेर अभियान चलाएका उनमा शिक्षामा केही न केही सकारात्मक प्रभाव पार्ने हुटहुटी थियो ।

तर गृहमन्त्री नपाएको झोँकमा सरकारबाट बाहिरिने सभापति रवि लामिछानेको निर्णयले त्यसको घानमा सरल र ‘भिजिनरी’ शिक्षामन्त्री खनाल परे । तत्कालका लागि उनी फेरि शिक्षामन्त्री बन्ने बाटो बन्द भएको छ ।

सम्भावना र सबै अवस्था सहज हुँदाहुँदै पनि एक असल र क्षमतावान व्यक्ति शिक्षा मन्त्रालयको बागडोर सम्हाल्न आइपुग्दा धेरै आशालाई क्षणमै निराशामा परिणत गरेर बाहिरिँदा स्वतन्त्र पार्टीको पनि आलोचना बढेको छ । 

त्योभन्दा बढी सभापति रवि लामिछानेको व्यक्तिगत महत्वाकांक्षा र अराजक अभिव्यक्तिको उनको आलोचनाले नेपाली सञ्चारमाध्यम तरंगित बनेको छ ।

यस्तै युवा उमेरमै स्वास्थ्य राज्यमन्त्री बनेकी डा.तोसिमा कार्की पनि हतासमै राजीनामा दिएर बिदा हुनुपर्दा धेरै स्वास्थ्य अभियान्ता निराश बनेका छन् । डा.गोविन्द केसी अनसन बसेदेखि चिकित्सा शिक्षामा सुधारको अभियानमा होमिएकी उनमा पैसाको अभावमा उपचार नपाएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने बाध्यता हटाउन लागेकी थिइन् । 

संरचनागत रुपमा यो धेरै जटिल देखिए पनि सम्भावना पनि धेरै बाँकी थियो । तीव्र इच्छाशक्ति भएको खण्डमा सफल नेतृत्वले यसलाई सम्भव पार्न सक्ने कुरा हो । तर काम गर्ने अवस्था हुँदाहुँदै पार्टीकै लहडमा केवल ३० दिनपनि सरकारमा बस्न नपाएका युवा शिक्षामन्त्री शिशिर खनाल र युवा राज्यमन्त्री डा.तोसिमा कार्कीको बहिर्गमनले धेरै निराशा थपेको छ ।

यसले भोलिका दिनमा पनि शिक्षा र स्वास्थ्यमा केही गर्छु भनेर आउनेहरु निराशा हुने अवस्था आउन सक्ने नजीर बस्न सक्ने देखिन्छ । विचौलियाको रजगज र कर्मचारीको मनपरीतन्त्र चलेको शिक्षा र स्वास्थ्य मन्त्रालयमा अब कसले पाइला टेक्ला ? जसको पाइला र प्रवेशले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन सम्भव होस् ? यो चाहना र परिकल्पना आम नेपालीमा भएपनि त्यसले साकार रुप पाउने सम्भावना कम छ ।

किनकी पुराना नेता, पुरानै पार्टीका कार्यकर्ताको जगजगीले थिलथिलो भएको शिक्षा र स्वास्थ्य मन्त्रालयका भित्ताहरु केवल खुइलिदै गएका छन् । त्यसमा नयाँ इट्टा थप्ने र सुधारको नारा लेख्ने मान्छे शिक्षा र स्वास्थ्य मन्त्रालयमा टिक्नै नसक्ने उदाहरण धेरै छन् । शिशिर खनाल र डा.तोसिमा कार्कीको बहिर्गमनले पनि तत्कालका लागि त्यही देखाएको छ ।


Author

थप समाचार
x