दल

एमालेमा सभामुखका लागि रस्साकस्सी, कसमा पर्ला ओलीको नजर ?

कमल विष्ट |
पुस २८, २०७९ बिहीबार १७:३४ बजे

काठमाडौं– संसद् सचिवालयले माघ ५ गतेका निम्ति सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन नजिकिँदै गर्दा अब सभामुख को बन्ला भन्ने चर्चा र चासो बढेको छ । 

सत्ता भागबण्डाअनुरूप एमाले र माओवादी केन्द्रबीच आलोपालोमा सभामुख बन्ने भद्र सहमति भएको थियो । सुरुमा एमालेबाट सभामुख बन्ने सम्झौता भएको हुँदा यसका लागि ६ जना नेताहरूले आकांक्षा व्यक्त गरेका छन् । तर, एमालेले कसलाई सभामुखका लागि अगाडि सार्ने भनेर निर्णय गरिसकेको छैन । 


‘पार्टीले सोमबारसम्म मन्त्रीहरू टुंग्याउला । त्यसपछि हामी सभामुखमा प्रवेश गर्छौँ,’ एमाले उपमहासचिव विष्णु रिमालले इकागजलाई बताए । 

एमालेका एक पदाधिकारीका अनुसार सभामुखका लागि पार्टीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मासहित ६ जनाले आकांक्षा व्यक्त गरेका छन् । यो सूचीमा स्थायी कमिटी सदस्य रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, देवराज घिमिरे र केन्द्रीय कमिटी सदस्य विद्या भट्टराई पनि रहेको ती पदाधिकारीले बताए । 

पार्टीले प्रत्यक्ष निर्वाचित हुनेलाई सभामुखमा प्रस्ताव गर्ने नीति लिएको हुँदा पन्तको सम्भावना न्यून रहेको ती पदाधिकारीको भनाइ छ । ‘पार्टीले प्रत्यक्ष निर्वाचितलाई सभामुख बनाउने योजना बनाएको छ, त्यसैले यी ६ मध्ये पन्तजीको सम्भावना छैन,’ नाम खुलाउन नचाहेका उनले भने ।

समानुपातिक प्रणालीबाट सांसद बनेका पन्तले २०७७ सालमा पार्टीमा विग्रह आउँदा सुरुमा माधवकुमार नेपालको पक्ष लिएका थिए । यसै कारणले पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई सभामुखको जिम्मेवारीका लागि पत्याउनेमा धेरैकाे शंका छ । तेस्रो पटक सांसद बनेका पन्त एकपल्ट मन्त्री भएका थिए । 

सभामुखका उम्मेदवार तोक्ने अधिकार अध्यक्ष ओलीलाई छ । एमालेका अर्का एक नेताका अनुसार ओलीले गुरुङ, श्रेष्ठ र विश्वकर्मामध्ये कोही एकलाई अगाडि सार्ने सम्भावना अधिक रहेको छ । त्यसमा पनि ओलीको प्राथमिकतामा श्रेष्ठ रहेको उनी बताउँछन् । 

‘उहाँलाई काठमाडौंमा हरेकले चिन्छन् । उहाँले दमननाथ ढुंगानादेखि पशुपति शमशेर राणासम्मका सभामुखलाई अनुभव गर्नुभएको छ,’ ती नेताले भने, ‘पार्टीमा सिनियर नेता पनि हुनुहुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा उहाँ कमरेड अध्यक्षलाई मनपर्ने मान्छे हुनुहुन्छ ।’

स्थायी कमिटी सदस्य श्रेष्ठ २०४८ यताका सात वटै संसदीय निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी तीमध्ये ४ निर्वाचनमा विजयी भएका थिए । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पनि उनी काठमाडौं–९ बाट भारी मतान्तरले विजयी भए । उनी थुप्रैपल्ट मन्त्री पनि भइसकेका छन् । श्रेष्ठ ओलीका विश्वास पात्र मानिन्छन्। 

श्रेष्ठ ओलीको सार्वजनिक रूपमै प्रशंसा र बचाउमा उत्रिने गर्छन् । कतिसम्म भने २०७७ एक विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले ओली नेपाली राजनीतिकाे पेले भएको बताएका थिए । उक्त अभिव्यक्तिलाई लिएर उनको चौतर्फी विरोध समेत भएको थियो ।

उपमहासचिव गुरुङको सम्भावना पनि प्रबल नै छ । गएको चुनावमा लमजुङबाट निर्वाचित गुरुङ मन्त्री तथा गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका छन् । 
अर्का प्रमुख दाबेदार छविलाल विश्वकर्माले राष्ट्रपतिमा पनि चाहना राखेका थिए । तर, पार्टीले राष्ट्रपति नदिने भएपछि उनले सभामुख ताकेका हुन् । विश्वकर्मा गएको चुनावमा रुपन्देही–१ बाट विजयी सांसद हुन् । उनीसँग ३ पल्ट सांसद र एकपल्ट मन्त्री भइसकेको अनुभव छ । 

सभामुखका आकांक्षीहरूको सूचीमा रहेका स्थायी कमिटी सदस्य देवराज घिमिरे झापा–२ बाट निर्वाचित भएका हुन् । उनी यसअघि एकपटक राष्ट्रियसभा सदस्य पनि भइसकेका छन् ।

केन्द्रीय कमिटी सदस्य विद्या भट्टराई कास्की–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । गत असारमा भएको उपसभामुखको निर्वाचनमा पराजित भएकी उनले यसपालि सभामुखको चाहना राखेकी छन् । ओलीले त्यस्तै परे उनलाई यसपालि सभामुख बनाउन सक्ने सम्भावना रहेको ती नेताको भनाइ छ । 

२०७५ सालमा तत्कालीन पर्यटन मन्त्री रहेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधनपछि अधिकारी पत्नी भट्टराई उपनिर्वाचनमार्फत संसदीय राजनीतिमा प्रवेश गरेकी हुन् । उनी त्यसअघि लामो समय प्राध्यापन पेशामा थिइन् । त्यसो त, उनको राजनीतिक यात्रा भने विद्यार्थी कालदेखि नै सुरु भएको थियो । 

ती पदाधिकारीका अनुसार ओलीले यी आकांक्षीबाहेक अरू जो कोहीलाई पनि सभामुख बनाउन सक्ने सम्भावना रहेको छ । ‘उहाँले बैठकमा यीबाहेक अरूलाई पनि ड्याङ्गै सभामुखका लागि प्रस्ताव गर्न सक्नुहुन्छ । आकांक्षी–साकांक्षी भन्ने नै हुँदैन,’ उनले भने ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x