दल

अन्तरद्वन्द्वले खुम्चिँदै मकवानपुर कांग्रेस

इकागज |
मंसिर १०, २०७९ शनिबार ८:३५ बजे

मकवानपुर- गत बैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पहिलो भएको मकवानपुर कांग्रेस आम निर्वाचनसम्म आइपुग्दा चौथो भएको छ ।

६ महिनाको अन्तरालमा मकवानपुर कांग्रेस कसरी यतिधेरै खुम्चियो ? यसमा कारण दुई कारण छन्, पहिलो मकवानपुर कांग्रेस पार्टीभित्र नै रहेको अन्तरद्वन्द्व, दोस्रो गठबन्धनभित्रको असन्तुष्टि ।  गत स्थानीय तहको निर्वाचनमा जस्तै गत मंसिर ४ मा भएको आम निर्वाचन २०७९ मा बाम लोकतान्त्रिक गठबन्धन थियो तर, त्यतिबेला पहिलो शक्ति बनेको कांग्रेस अहिले चौथो बन्यो ।


नेपाली कांग्रेस मकवानपुरको  राजनीतिमा आम निर्वाचनले उथलपुथल ल्याइदियो । पार्टीलाई अन्तरघात गर्नेहरूलाई कुनै पनि हालतमा 'नछोड्न' कार्यकर्ताहरू दबाब दिइरहेका छन्  । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै जनप्रतिनिधि जितेर पहिलो स्थानमा पुगेको कांग्रेस ६ महिनाको अन्तरालमा एक मात्र सिट जितेर चौथो स्थानमा पुगेको हो ।

मकवानपुरमा रहेको १० स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा अध्यक्ष, जितेर जिल्लामा प्रथम भएको मकवानपुर कांग्रेस प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा चौथो बरियतामा पुगेपछि यतिबेला नेतृत्वलाई कार्यकर्ताले धोका दिनेलाई कारबाही गर्न दबाब दिइरहेका छन्  ।

आम निर्वाचनमा नेकपा एमाले एक प्रतिनिधिसभा तथा एक प्रदेशसभासहित प्रथम स्थानमा रहँदा नेकपा माओवादी केन्द्र दुई वटा प्रदेशसभासहित दोस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एक प्रतिनिधिसभा सहित तेस्रो हुँदा नेपाली कांग्रेस एउटा प्रदेशसभामा मात्र खुम्चियो ।

गठबन्धनबाट नेपाली कांग्रेसले एक प्रतिनिधिसभासहित दुई वटा प्रदेशसभामा उम्मेदवारी दिएको थियो । तर कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र १ को ‘१’ बाट प्रदेशसभा सदस्यको उम्मदवार बनेका आनन्दराम पराजुली पराजित बने । कांग्रेसको तर्फबाट क्षेत्र नम्बर २ को ‘२’बाट इन्द्रबहादुर बानियाँ मात्र विजयी बने ।

एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा महेश बर्तौला विजयी बन्दा क्षेत्र नम्बर १ को ‘१’मा एकलाल श्रेष्ठ विजयी बने । माओवादी केन्द्रबाट मकवानपुरको क्षेत्र नम्बर १ को '१' र २ को ‘१’ मा प्रेमबहादुर पुलामी तथा कुमारी मोक्तान विजयी बने ।

गठबन्धनको बलमा गत स्थानीय तहको निर्वाचनमा पहिलो भएको मकवानपुर कांग्रेसले हार्नुको कारण खोजी गर्ने बताएको छ । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ गठबन्धनको पक्षमा जनलहर रहेको अवस्थामा पनि अप्रत्यासित हार भएको भन्दै हारबारे समिक्षा गरिने बताउँछिन् ।

चुनावी नतिजा सार्वजनिक भएलगत्तै मकवानपुर कांग्रेसले हार्ने समूह र जित्ने समूहले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरे । यसले पनि मकवानपुर कांग्रेसभित्रको अन्तरद्वन्द्व छर्लङ्ग पारेको छ । अहिले कांग्रेसको एउटा पक्ष हारको समिक्षा गरिरहेको छ भने, अर्को पक्ष जितको उल्लाष मनाइरहेको छ ।

नेता मिनेन्द्र रिजाल प्यानल निकट डिना र पराजुलीलाई हराउन कांग्रेसकै अर्को धारको कार्यकर्ता परिचालन गरिएको आरोप लगाइएको छ । जसमा कांग्रेस जिल्ला सभापति बुद्ध लामाको समेत नाम मुछिएको छ । जिल्ला सभापति लामा, प्रदेश सभा सदस्यमा नवनिर्वाचित इन्द्रबहादुर बानियाँ शेरबहादुर देउवा प्यानलका हुन् । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले चुनावअघि गठबन्धनको समर्थन गर्ने निर्देशन गर्दै यो चुनावमा धोका दिनेलाई कुनैपनि हालतमा 'नछाड्ने' बताउँदै आएका थिए । तर जब आफूलाई जनमत प्राप्त भयो,र आफ्नो पार्टीको अर्को समूह पराजित भयो,अहिले उनको बक्तब्य फेरिएको छ ।

जितपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका बागमती प्रदेश सभापति तथा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘२’ का नवनिर्वाचित प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले कांग्रेसले मकवानपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा गुमाउनुको कारण गएको स्थानीय तहमा राप्रपाका दिपकबहादुर सिंहलाई दिइएको अनावश्यक राजनीतिक ‘स्पेस’ रहेको बताए ।

बानियाँले हिजो (स्थानीय तह निर्वाचनमा) कांग्रेस, माओवादीसहितका पार्टीका नेताहरूले सिंहलाई हेटौँडामा स्थान दिएको र सोहि स्थानको जगमा रहेर सिंहले अहिले जित हाँसिल गरेको बताए । 'चुनावमा पराजय भोगेपछि आरोप प्रत्यारोपमा लाग्नुभन्दा आफुले गरेको कमजोरी सम्झेर ‘मम’ भन्दै बस्नुपर्छ' उनले भने ।

'चुनाव जितेपछि आफ्नो मेहनतको कारण भन्ने अनि हारेपछि अरुलाई आरोप प्रत्यारोप लगाइने काम गलत हो' बानियाँले भने  'मकवानपुरमा गठबन्धनको मत सुरक्षित छ ।'

यता हार्ने समूहले हेटौंडामा छुट्टै पत्रकार सम्मेलन गरेर हारको समिक्षा गर्ने बताएको छ । पत्रकार सम्मेलनमा कांग्रेस सहमहामन्त्रीसमेत रहेकी डिनाले पार्टीभित्र भएका आन्तरिक त्रुटि र असन्तुष्टिको कारण हार भएको बताइन् । 'कारबाहीको लागि कार्यकर्ताको दबाब स्वाभाविक हो, हामी समिक्षा गर्छौ र प्रमाण भेटिएपछि बोल्छौ' उनले भनिन् । यो तरिकाले कांग्रेस नरहने उनले प्रतिक्रिया दिइन ।

मकवानपुर–१ मा गठबन्धनको मतान्तर प्रतिस्पर्धीहरूको भन्दा १० औँ हजार बढि रहेको अवस्थामा हार व्यहोरेपछि पत्रकार सम्मेलनको आयोजना गरि डिनाले हारको गम्भीर समिक्षा गरिने बतायन् । पार्टीको हारबारे समिक्षासहित प्रमाण फेला परेको अवस्थामा कारबाही पनि गरिने उनले बताइन् ।

प्रदेशमा पहिलो हुँदा पनि कांग्रेसलाई तनाव
यता आम निर्वाचन २०७९ को हालसम्म सार्वजनिक अन्तिम नतिजामा नेपाली कांग्रेस बागमती प्रदेशमा पहिलो स्थानमा छ।

सत्ता गठबन्धनमा कांग्रेस पहिलो स्थानमा छ । यो नतिजाले गठबन्धनमा सहभागी दलहरू कांग्रेसको भूमिकाप्रति असन्तुष्ट बनेका छन् ।

कांग्रेसमाथि गठबन्धनका दलहरूले शंका गर्न थालेका छन् । यसले हालको सत्ता गठबन्धनलाई धक्का दिनसक्ने विश्लेषण गर्न थालिएको छ ।

बागमती प्रद्रेशमा हालसम्मको नतिजा अनुसार कांग्रेस २३ सिटसहित पहिलो स्थानमा छ । माओवादी केन्द्र १३ सिटसहित दोस्रो र नेकपा एमाले १० सिटसहित तेस्रोमा छ भने गठबन्धनको साझेदार अर्को पार्टी एकीकृत समाजवादी ४ सिटसहित पाँचौ स्थानमा छ । ५ सिटसहित चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कांग्रेसको समर्थन रहेको आशंका गरिएको छ ।


Author

थप समाचार
x