दल

इलाम-१ मा एमाले हराउन झलनाथलाई कांग्रेसको साथ अनिवार्य

उपेन्द्र अर्याल |
असोज ४, २०७९ मंगलबार १६:२० बजे

काठमाडौँ– झलनाथ खनाललाई इलाम–१ बाट उम्मेदवार बनाउन जिल्ला समितिले सिफारिस गरिसकेको छ । तर, गठबन्धनले भने सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । गठबन्धनमा जे जस्तो सहमति भए पनि इलाम–१ एकीकृत समाजवादीको भागमा पर्नेमा दुविधा छैन । किनकि दोस्रो तहका नेताको जे जसो भए पनि गठबन्धनका मुख्य व्यक्तिलाई रोजेका क्षेत्र दिनमा सायदै कसैको आपत्ति रहनेछ । त्यसैले इलाम–१ बाट समाजवादीका निर्विकल्प उम्मेदवार हुन्, खनाल । सत्ता गठबन्धनले पनि वरिष्ठ नेता झलनाथ खनाललाई नै उम्मेदवार बनाउने लगभग पक्का छ । इलामका दुईवटा क्षेत्रमध्ये १ मा झलनाथ उठे २ मा कांग्रेसका उम्मेदवार उठ्नेछन् ।

खनाल ०७४ को निर्वाचनमा समेत विजयी भएका थिए । त्यसबेला उनले नेपाली कांग्रेसका उम्मेदवार भुपेन्द्र कट्टेललाई १७ हजार बढी मतले हराएका थिए । त्यसताका नेकपा एमालेबाट उम्मेदवार भएका खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने कट्टेलले १९ हजार ६ सय ३८ मत ल्याएका थिए । तर, खनाललाई यसपटक अघिल्लो निर्वाचनमा जस्तो जित निकाल्न सहज भने छैन । अघिल्लो निर्वाचनमा एमालेबाट विजयी बनेका खनालको प्रतिस्पर्धी एमाले हुनेछ । एमालेले अहिले कसलाई उम्मेदवार बनाउने भन्ने घोषणा गरिहालेको भने छैन ।


इलाम–१ बाट महेश बस्नेत सिफरिस भएका छन् । एमालेले केन्द्रबाट बस्नेतको नाम अनुमोदन गरे उनले झलनाथलाई चुनौती थप्न सक्छन् । बस्नेत अघिल्लो कार्यकालमा इलामको मेयर भएर अनुभव लिइसकेका नेता भएकाले उनको पनि स्थानीय पकड राम्रै छ ।

खनालले २०४८ सालको संसदीय निर्वाचनदेखि नै इलाममा एत्रछत्र राज गर्दै आएका छन् । २०४८ सालमा उनले कांग्रेसका नेता तोयानाथ भट्टराई हराएका थिए । झलनाथले २५ हजार ५ सय ४० मत ल्याउँदा उसबेला तोयानाथले १९ हजार २ सय ७० मत मात्रै ल्याएका थिए ।  २०५१ को मध्यावधि निर्वाचनमा पनि खनाल एमालबाटै विजयी भएका थिए । उनले ०५१ को निर्वाचनमा पनि कांग्रेसकै तोयानाथलाई नै हराएका थिए । खनालले १४ हजार ३ सय ८३ मत ल्याउँदा भट्टराईले १४ हजार १ सय ७३ मत मात्रै पाएका थिए । उनको जितको शृंखलामा बेनुपराज प्रसाईं बाधक बने । प्रसाईंले ०५६ को निर्वाचनमा भने झलनाथलाई हराए । उनले १८ हजार ६ सय ८ मत ल्याउँदा झलनाथले १८ हजार ५ सय २ मत मात्रै ल्याएका थिए ।

झलनाथले आफ्नो हारको बदला भने त्यसपछिको पहिलो संविधान सभाको निर्वाचनमा लिए । ०६४ को निर्वाचनमा झलनाथ १७ हजार ६ सय ५५ मत ल्याएर विजयी हुँदा प्रसाईंले १३ हजार ७ सय ७४ मत मात्रै ल्याएका थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी इलाम–१ बाटै निर्वाचित भए । उनले नेपाली कांग्रेसका हिमालय कर्माचार्यलाई १८ सय १५ मतले हराएका थिए । खनालले १७ हजार ३ सय ४२ मत ल्याउँदा कर्माचार्यले भने १५ हजार ५ सय २७ मत मात्रै पाएका थिए ।  

गठबन्धनको भरोसामा झलनाथ

इलाम १ मा सन्दकपुर, माइजोगमाइ, सूर्योदय र रोङ गाउँपालिकाका सबै वडाहरू पर्छन् । यस्तै माई नगरपालिकाको वडा १, ३, ४, ५, ९, १० पनि यही क्षेत्रमा पर्छन् भने इलाम नगरपालिकाको १० नं वडा पनि यही निर्वाचन क्षेत्रमा पर्छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा वडामा पाएको मतका आधारमा हेर्दा इलाम–१ मा एमाले सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेस र एकीकृत समाजवादी क्रमशः दोस्रो र तेस्रो दल बनेका छन् । यही अंकगणितका आधारमा हेर्ने हो झलनाथले यो पालि यहाँबाट जित निकाल्न सकस छ । गठबन्धनमा रहेको प्रमुख दल कांग्रेसले साथ दियो भने मात्र खनालले यहाँबाट जित निकाल्ने ल्याकत राख्छन् । किनकि खनालको पार्टी एकीकृत समाजवादीले वडामा १० हजार ४ सय २९ मत मात्रै पाएको छ । यो क्षेत्रमा पहिले बनेको एमालेले २६ हजार २ सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार ७ सय ७२ मत पाएको छ । अन्य दलको मत भने न्यून छ ।

सन्दकपुर गाउँपालिकाका ५ वटा वडामध्ये दुई वटामा एमाले जितेको छ । बाँकी तीनवटा पालिका भने कांग्रेस, जसपा र समाजवादीले एक–एक सिट जितेका छन् । माइजोगमाइका ६ वटा वडामध्ये चार वटामा एमाले र बाँकी दुई वटामा कांग्रेस विजयी भएका छन् । सूर्योदय नगरपालिका भने एकीकृत समाजवादीले जितेको थियो । यस पालिकाका १४ वटा वडामध्ये एकीकृत समाजवादीले ५, एमालेले २ र कांग्रेसले ७ वटा वडा जितेका छन् । रोङ्ग गाउँपालिकाका ५ वटा वडामध्ये ३ वटामा कांग्रेस, दुई वटामा एमाले र बाँकी एउटामा स्वतन्त्रले जितेका छन् । माई नगरपालिकाका १० वडामा ७ वटामा एमाले र बाँकी ३ वटामा कांग्रेस विजयी भएको थियो । यस क्षेत्रमा इलाम नगरपालिकाको वडा १० मात्रै छ । यो वडामा भने कांग्रेस विजयी भएको छ ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीले स्थानीय चुनावमा शीर्ष नेतृत्वले सोचेझैँ जनाधार प्रमाणित गर्न सकेको थिएन । गठबन्धनको साथ पाएको समाजवादीले भागमा परेका धेरै सिट गुमाएको तथ्यांक छ । यसरी नयाँ पार्टीको रूपमा कम अनुभवसहित जाँदा योपालि खनालले पहिलेझैँ ढुक्कले जित्ने अवस्था छैन । यदि गठबन्धन भएर कांग्रेस कार्यकर्ताले इमान्दार भएर भोट हाले मात्र यो पालि इलाम–१ ले खनाल चुन्ने अवस्था छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x