संसद्

प्रतिनिधिसभाको विशेष समय : कानुन निर्माणका साथै समसामयिक विषय उठान

इकागज |
चैत ५, २०८० सोमबार १५:७ बजे

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने सांसदहरूले समयमै कानुन निर्माणका साथै समसामयिक विषय उठान गरेका छन् ।

सांसद विमला सुवेदीले राजनीतिक समीकरण परिवर्तन हुँदा सदनको प्राथमिकतामा प्रभाव पार्न नहुने धारणा राखेकी छन् । उनले कानुन निर्माणका लागि सदनलाई क्रियाशील बनाउन प्रतिपक्ष सांसदहरूलाई आह्वान गरिन् । 'संसदमा सङ्घीयता कार्यान्वयनका लागि अतिआवश्यक विधेयक प्रवेश गरिसकेका छन् । यस्ता महत्वपूर्ण विधेयक चाँडो टुङ्गोमा पुर्याउनुपर्छ । यस अधिवेशनलाई भरपूर रूपमा विधेयक निर्माणमा केन्द्रित गर्नुपर्छ,' उनले भनिन् । सांसद सुवेदीले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र दीर्घकालीन समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । 


सांसद शिशिर खनालले सडक दुर्घटना नियन्त्रणका लागि सरकारले मौनता साध्न नहुने बताए । उनले पछिल्लो १० वर्षमा १९ हजारभन्दा बढीको मृत्युको कारण सवारी दुर्घटनामा भएको भन्दै यसबाट  भएको आर्थिक र मानसिक क्षतितर्फ पनि ध्यान दिनुपर्ने बताए । 
     
उनले सरकारद्वारा प्रस्तावित राष्ट्रिय सडक सुरक्षासम्बन्धी कार्ययोजना पारित गर्न नसकेको बताए । यस्तै राष्ट्रिय सडक सुरक्षा परिषदमा आर्थिक अभावका कारण कर्मचारी व्यवस्थापन हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

'पछिल्लो एक दशकमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६१ प्रतिशतले बढेको छ । यही अवस्था रहे हरेक वर्ष पाँच हजार जना नेपालीले सडकमा ज्यान गुमाउने छन्,' उनले भने ।
     
सांसद मेटमणि चौधरीले गुठी विधेयक ल्याउन माग गर्दै स्वर्गद्वारीका किसान केन्द्रसम्म धाउँदा पनि सरकारले गुनासो नसुनेको बताए । उनले झण्डै एक महिनादेखि आन्दोलनरत किसानले सदियौँदेखि भोगचलन गर्दै आए पनि स्वामित्व पाउन नसकेको भन्दै तत्काल गुठी विधेयक ल्याउन माग गरे । यस्तै नेपाल संस्कृत विश्वविद्यालयका नाममा अनियमितता भइरहेको बारे सरकारको ध्यानाकर्षण गराए । 

सांसद अब्दुल खानले देशभित्रको चरम निराशालाई निराकरण गर्न नसकिरहेको बताए । 'कतै पहिचानको, कतै सीमाङ्कनको समस्या अझै जरो गाढेर बसिरहेको छ । हामी त्यसतर्फ ध्यान दिइरहेका छैनौँ,' उनले भने, 'शिक्षा, स्वास्थ्यमा अर्बौं रकम बराबरको पुँजी पलायन भइरहेको छ । यसतर्फ सरकारले अल्पकालीन र दीर्घकालीन योजना देखिएको छैन ।' उनले देश आयातमुखी बन्दै गएको प्रति चिन्ता प्रकट गर्दै उद्योग व्यवसायीमा बढ्दो निराशाप्रति सरकारले चासो व्यक्त गर्नुपर्ने बताए ।

सांसद रामप्रकाश चौधरीले ठाउँठाउँमा निषेधित क्षेत्र तोक्नुले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुन्ठित भएको बताए । उनले देशभित्र ‘स्पीकर कर्नर’को व्यवस्थापन गर्न माग गरे । सांसद प्रेम सुवालले स्वर्गद्वारी गुठीपीडित किसानको समस्या समाधानतर्फ ध्यानकेन्द्रित गर्न सरकारसँग माग गरे । उनले अन्धविश्वासका कारण हुने अपराध नियन्त्रण गर्न सरकार अझै पनि चुकिरहेको गुनासो गरे ।
      
'बहुदल र गणतन्त्र आएको ३५ वर्ष भयो । बालविवाह, छाउगोठ, बोक्सीजस्ता अन्धविश्वास र मानवता विरोधी गतिविधि रोक्नका लागि सरकार असफल भयो,' उनले भने, '३५ वर्ष यता मन्त्री भएकाहरूलाई अन्धविश्वास र मानवताविरोधी अपराध नियन्त्रण गर्न किन सक्नुभएन ?'

सांसद चित्रबहादुर केसीले कालीगण्डकीको गिट्टी, बालुवा उत्खननमा बिचौलिया हाबी भएको बताए । उनले सम्बन्धित नगरपालिकाले गिट्टी, बालुवा उत्खनन गर्न पाउनुपर्ने मागसमेत राखे । 'तीन वर्षअघि सर्वोच्च अदालतले कालीगण्डकीको गिटी, बालुवा उत्खनन नगर्न फैसला गरेर रोक लगाएको थियो । तर, अहिले विचौलियाले लगातार उत्खनन गरिरहेका छन् । नगरपालिकाले त्यो गिट्टी, बालुवा झिक्न सकेको छैन,' उनले भने ।

सांसद प्रभु साहले अवैध उत्खननको विरोध गर्दा मृत्यु भएका धनुषा जिल्लाका दिलीप महतोलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । उनले भने, 'अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्वारा हत्या गरिएका दिलीप महतोलाई अहिलेसम्म सहिद घोषणा गरिएको छैन । पीडित परिवार काठमाडौँमा न्यायको खोजीमा काठमाडौँसम्म आइपुगेको छ ।' 

सांसद जीवन परियारले पोखरालाई पर्यटकीय राजधानीको घोषणा गर्ने निर्णयप्रति सरकारसँग आभार प्रकट गरे । उनले आमजनतामा निराशा बढेको भन्दै सुशासनका लागि सहकारी पीडितलाई न्याय दिनेदेखि सुन तस्करलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । 'सुन तस्करीमा संलग्न कोही दोषीहरू उम्किन नपाउनु, निर्दोष नपरोस्,' उनले भने । अनुसन्धानका क्रममा राजनीतिक आग्रह र पूर्वाग्रह नराख्नतर्फ सचेत गराए ।

सांसद ऋषिकेश पोखरेलले सहकारीमा देखिएको समस्याको तत्काल समाधान खोज्नुपर्ने माग गरे । उनले सहकारी आन्दोलनको संरक्षण गर्न अधिकारसम्पन्न छानबिन आयोग बनाउन सरकारसँग माग गरे ।

उनले सहकारी अभियानलाई कालोधनलाई सेतो धन बनाउने धन्दाका रूपमा प्रयोग गर्दा समस्या उत्पन्न भएको दाबी गरे । 'देशभर २९ हजार आठ सय ८६ सहकारी संस्था क्रियाशील छन् । यस्तो पवित्र संस्था आज गम्भीर घाइते अवस्था छ । राज्यले समयानुकूल कानुनको व्यवस्था गर्न नसक्दा, नियामक निकाय गैरजिम्मेवार बनिदिँदा विभिन्न बेला राजनीतिक हस्तक्षेप भइदिँदा समस्या आएको छ,' उनले भने ।
      
सांसद किरणकुमार साहले समयसापेक्ष शैक्षिक प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । 'हामी सबैले छातीमा हात राखेर मनन गरौँ । के अहिलेको शिक्षा अहिलेको पुस्तालाई काम लाग्ने छ ? के यसले हाम्रो स्रोतसाधनको उचित प्रयोग गरी देशमा उत्पादन बढाउँछ ? पक्कै पनि बढाउँदैन,' उनले भने ।
      
सांसद दीपकबहादुर सिंहले सुन तस्करीका विषयमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताए । सांसद कल्पना चौधरीले पछिल्लो समय राजनीतिक नेतृत्वले दिने अभिव्यक्तिले जनतामा नेतृत्वप्रति नै अविश्वास बढेको बताए । सांसद बिजुला रायमाझीले वर्तमान राजनीतिक समीकरणले विगतबाट सिक्दै नयाँ शिराबाट कामको थालनी गर्नुपर्नेमा जोड दिए ।


Author

थप समाचार
x