संसद्

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक विधायन समितिमा

इकागज |
फागुन ६, २०८० आइतबार १६:५८ बजे

काठमाडौँ- राष्ट्रिय सभाले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

आइतबार बसेको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गरेको सो विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको हो । त्यस्तै बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराइएको थियो ।


त्यस्तै, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभामा पेस गरेका थिए भने राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० सभासमक्ष पेस गरेकी थिइन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘विधायनसम्बन्धी विधेयक, २०८०’सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गरिन् ।

राष्ट्रिय सभाको अर्को बैठक फागुन ११ गते बोलाइएको छ । 


Author

थप समाचार
x