संसद्

संसद्‍मा ७७ वर्षीया ज्वारचनको १० मिनेट, हाँसोको पात्र बन्दै गम्भीर विषय उठाइन्

कमल विष्ट |
जेठ १५, २०७९ आइतबार १३:४४ बजे

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/०८० का लागि गत मंगलबार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि हिजो शनिबार साँझसम्म तीन दिन छलफल चल्यो । 

छलफलका क्रममा सत्तासीन र विपक्षी दलका विभिन्न सांसदहरूले नीति तथा कार्यक्रममाथि आआफ्नो विचार राखे । यही क्रममा छलफलको अन्तिम दिन नेपाली कांग्रेसको तर्फबाट सांसद सुवर्ण ज्वारचनले पनि नीति तथा कार्यक्रममाथि आफ्नो भनाइ राखिन् । 


करिब १० मिनेट लामो सम्बोधनको सुरुमा उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार सांसदमा नीति तथा कार्यक्रमको विरोधकै लागि तीन घण्टा खर्चिएकामा आपत्ति जनाइन् । 

ओलीको विषयमा प्रवेश गर्नुपूर्व उनले आफूले संसद्मा बोल्न पटकपटक नाम टिपाए पनि बोल्न नपाएकामा गुनासो पोखिन् । 

‘मलाई त्यति बोल्ने इच्छा पनि थिएन । धेरैपल्ट बोल्छु भनेर नाम पठाएँ तर बोल्न पाइनँ । त्यसैले नबालेको भए हुन्छ भन्ने लागेको थियो,’ अक्मक्किँदै उनले आफ्नो कुरा सुरु गरिन्, ‘तर, आज त बोल्छु भन्ने जमर्को गरेर हाम्रा सचेतकज्यूलाई आवेदन गरेँ । उहाँले नाम दिनुभएपछि बोल्न पाएँ ।’

संसद्मा बोल्न पाउनु आफ्नो सौभाग्य हो भन्दै उनले विपक्षी नेता ओलीको आलोचना गर्न थालिन् । उनले ओलीको नैतिकतमाथि नै प्रश्न गरिन् । 

‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यू रोस्टममा पूरा तीन घण्टा बस्नुभयो । अरुले बोल्ने चान्स नै पाएनन्, त्यो बेला । त्यो बेला पनि मैले बोल्ने जमर्को गरेको थिएँ । के उनलाई नैतिकताको ख्यालै हुन्न कि ?’

उनले अगाडि भनिन्, ‘उहाँले तीन घण्टा बोल्दा कार्यक्रमबारे सबै बुँदागत आलोचना, खण्डन, विरोध, गाली यी सबै कुरा गर्नुभयो । किन ? कार्यक्रम बनाउँदा उहाँसँग राय लिन पुग्नुभएका सबै टोलीलाई ठीक छ भन्नुभएको हो ।’

आफैँले ठीक छ भनेर सदर गरेको कार्यक्रममाथि फेरि आफैँले प्रश्न उठाउनु ठीक नभएको ज्वारचनले भनिन् । उनले ओलीलाई जे पनि गर्न छुट छ ? भन्दै प्रश्न पनि गरिन् । 

चुरे–पहाड संरक्षणको मुद्दा

ज्वारचन ७७ वर्ष पुगिन् । उमेरकै कारणले होला उनी बोल्दा धेरै ठाउँमा अक्मक्किइन् । ओलीको आलोचनापछि उनले बन्द भएका उद्योग तथा कलकारखाना खोल्ने नीति लिएकामा सरकारलाई  धन्यवाद दिइन् । 

‘अघिल्लो सरकारका अर्थमन्त्री युवराज खतिवडाले बजेटमै भन्नुभयो– अब चुरे पहाडलाई डोजर लगाएरै समथर बनाउने र ढुंगो, माटो, गिटी सबै भारतलाई बेचेर यहाँ हामीले विचार गर्नुछ,’ चुरे–पहाड मास्ने नीति सफल नभएकामा उनले खुसी व्यक्त गरिन्, ‘धन्न साक्षात् प्रभु प्रकट हुनु भई उहाँ नै रहनुभएन ।’

‘यसले गर्दा चुरे बाँच्यो । त्यो स्थिति आएको भए सारा बसोवास, सारा पानीका स्रोतहरू, सारा समथल भू-भागहरू मासिन्थ्यो र ठूलो दुर्घटना हुन्थ्यो,’ उनले भनिन् । 
उनले नागरिकता विधेयकबारे संसद्‌मा यथेष्ट छलफल भए पनि अहिलेसम्म पास नभएकामा चिन्ता व्यक्त गरिन् । उनले अध्यादेश नै ल्याएर भए पनि यसलाई पास गर्नुपर्ने तर्क राखिन् । 

उनी बोल्दा बेलाबेला रोक्किन्थिन् । उनको बोली र लवज देखेर सांसदहरू गद्गद् हाँसिरहेका थिए । सांसद भएर पनि वर्षाैं बोल्न नपाएकी ज्वारचनबाट छुटेका शब्दभन्दा भाव महत्वपूर्ण थिए । तर, कतिपय सार्वभौम सांसदले नेपालको सामुदायिक विविधता हेक्का राखेको देखिएन ।

महिला सुरक्षाको मुद्दा

चुरे–पहाडपछि उनी महिला सुरक्षाको विषयमा प्रवेश गरिन् । उनले नेपालमा महिला असुरक्षित रहेकोप्रति चिन्ता व्यक्त गरिन् । नेपालमा महिलाका लागि प्रशस्त नीति र कानुन भए पनि हरेक दिन महिला हिंसामा परिरहेको बताइन् । 

‘महिलाहरू दिनदहाडै लुटिएका छन्, बेचिएका छन् । आफ्नै घरभित्र असुरक्षित छन्,’ जस्तो कानुन भए पनि केही हुनेवाला छैन । महिलाहरू दाइजोका कारण मारिएका छन् । घरबाट स्कुल हिँडेका युवतीहरू विद्यालय नपुग्दै अपहरित हुन्छन् ।’ 

बल्लतल्ल बोल्न पाएकी सांसद ज्वारजनको ज्वराभाटा सकिएको थिएन, बीचैमा सभामुख अग्निप्रसाद सापकोटाले समय सकिएको सूचना दिए । तर उनले आफ्ना कुरा नसकिएको भन्दै बोली जारी राखिन् । 

‘मैले थोरै कुरा भन्छु । मैले बोलेकै छैन सभामुखज्यू । माफ पाऊँ ! मेरा कुरा सुन्नुस्,’ उनी भन्दै गइन्, ‘महिलाहरू अपहरणमा परेका छन्, बलात्कारमा परेका छन् । एसिड आक्रमणमा बाँचेका छन् ।’

उनले २०७२ मा संविधान जारी गर्ने बेलामा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूले महिलाका लागि बलियो कानुन बनाउन अनुरोध गरेको स्मरण गरिन् । 

‘संविधान लेख्ने बेलामा प्रधानमन्त्री सुशील कोइरालाज्यूलाई सुझाव दिएको थिएँ, जे भए पनि महिलाका लागि अरब कन्ट्रीमा जस्तो अर्काको छोरीचेलीलाई आँखालाई आँखै झिकिदिने, जसले चोरी गर्छ हातै काटिदिने र जसले चेलीलाई अपहरण, बलात्कार, मार्छ त्यस्तोलाई मृत्युदण्ड दिने प्रावधान संविधानमै राखेको भए धेरै सुरक्षित हुन्थे भनेर भनेको थिएँ ।’

त्यति बेला संविधानमा त्यस्तो प्रावधान लेख्न कोइरालाले अस्वीकार गरेका कारण आज महिलाहरू अन्यायमा परिरहेको उनले बताइन् । 

आत्मनिर्भरताको उपाय

उनले वैदेशिक ऋण लिएर देशलाई समृद्ध बनाउनेभन्दा आफ्नै देशमा रहेका प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने नीति सरकारले लिनुपर्नेमा जोड दिइन् । 

‘हामी हरेक कुरामा यति धनी छौँ । हामीसँग के छैन ?,’ उनले प्रश्न गरिन्, ‘मुक्तिनाथको शिरमा पेट्रोल खानी छ । सुपादेउरालीमा तामाखानी छ । पाल्पाको रामपुरमा कोइलाखानी छ । हाम्रो देशमा फलामका खानीदेखि चाँदीका धेरै खनीहरू छन् । हामीले यी सारा कुरा पत्ता लगाएर देशको विकास गर्नुपर्छ ।’

लिपुलेख, कालापानी र लिम्पियाधुराबारे चासो

अन्तिममा कालापानी र लिम्पियाधुराको विषय प्रवेश गरिन् । अहिले विपक्षी दलका नेताहरूले वर्तमान सरकारले यी क्षेत्र किन फर्काउन नसकेको भन्दै प्रश्न गर्नुको तुक नभएको उनले बुझाइ थियो । 

उनले भनिन्, ‘भारतले दामोदर कुण्ड जाने बाटो ओली प्रधानमन्त्री भएकै बेला बनाएको हो । बाटो खनेर उद्घाटन गर्दा ओलीले आफूलाई बल्ल थाहा पाएँ भन्नुभएको होइन ? ’

विसं २००२ मा गुल्मीमा जन्मिएकी ज्वारचन कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा २०७७ साउनमा सांसद बनेकी थिइन् । 

लामो समयदेखि कांग्रेसमा क्रियाशील ज्वारचनले २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन् । 

उनी २०७३ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहरी विकास राज्यमन्त्री पनि भएकी थिइन् । 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x