प्रमुख समाचार

बुद्ध थिएटर फेस्टिभल सुरु

इकागज |
चैत ८, २०७७ आइतबार २०:१९ बजे

नाटक फोटो  : रविन्द्रनगर नाट्ययुध भारत

काठमाडौँ  :  कथित तल्लो जातका एक युवकले पानी छोइदिएको निहुँमा कथित माथिल्लो जातका मानिसहरू उनलाई कुट्न तम्सिए । सबै आफूमाथि जाइलागेको देख्दा ति युवक चिच्याए । यत्तिकैमा ति युवकलाई संरक्षण गर्न आइपुगे । अँगालोमा लुकाउन खोजे । तर उक्त युवक ‘मलाई नछुनुहोस्, तपाई दुषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छन् । तब बुद्ध भन्छन्– किन दुषित हुन्छु म ? तिमी पनि सबै जस्तै मानिस हो । एक मानिसले अर्काे मानिसलाई कसरी दुषित बनाइदिन सक्छ ? केबल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दुषित बनाउन सक्छ ।’ 


नाटक ‘तथागत’मा देखिएको यो दृश्यले बुद्धको सरलता र ज्ञानलाई दर्शाउँछ । यस्तै बुद्धको जीवनशैली र दर्शनसँग सम्बन्धित नाटक ‘तथागत’ देखाउँदै आइतबारदेखि काठमाडौँमा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ । काठमाडौँको जमलस्थित सांस्कृतिक संस्थानमा आइतबारबाट सुरु भएको फेस्टिभलमा देखाइएको नाटकको निर्देशन भातरका डा डानी कर्माकरले गरेका हुन् । साथै नाटक रविन्द्रनगर नाट्ययुधले प्रस्तुत गरेका थिए । कोभिड-१९ को संक्रमणको खतराले गर्दा नाट्य टोली नेपाल आउन पाएन । सांस्कृतिक संस्थानमा आइतबार नाटकको भिडियो देखाइएको थियो । ४० मिनेट लामो नाटकमा धर्म, वर्ग, जातिको हिसाबमा हुने गरेका विभेदहरू देखाइएको छ । 

वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान नाचघर र डबली थिएटरको आयोजनामा भएको फेस्टिभलको उद्घाटन कलाकार मदनदास श्रेष्ठ, प्राडा अभि सुवेदी र प्रा तुलसी दिवसले गरेका थिए । उद्घाटन पछि बोल्दै कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । त्यस्तै यस्ता फेस्टिभलमा देखाइने नाटकहरूका माध्यमबाट बुद्धको महिमा चिनाउने अवसर हुन सक्ने उनले सुनाए ।  

फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो । तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन । उनले भने, ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ । हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ ।’ 

सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार यो फेस्टिभले पर्यटकीय महत्व समेत बोक्न सक्छ । कार्यक्रममा परम्परागत ‘पञ्चबुद्ध’ र ‘मञ्जुश्री’ नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै १४ जना लामाहरूले लामा मन्त्र पाठ गरेका थिए । फेस्टिभल पाँच दिनसम्म चल्नेछ । फेस्टिभलको दोस्रो दिन सोमबार नेपालका मण्डला थिएटरले ‘सिद्धार्थको गृह त्याग’ नाटक देखाउने छ । नाटकलाई विकास जोशीले निर्देशन गरेका हुन् । 

नाटक फोटो  : रविन्द्रनगर नाट्ययुध भारत र सरोज बैजु/इकागज


Author

थप समाचार
x