प्रमुख समाचार

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ?

कमल धिताल |
असोज १२, २०७८ मंगलबार १७:४२ बजे

काठमाडौँ - २०७२ सालको गोरखा भुकम्पले मुलुकको संरचना तहसनहस पार्‍यो । कतिपय भर्खर निर्माण भएका पक्की संरचना स्वाहा भए भने कति पुराना संरचनाको इट्टासम्म हल्लिएन । किन त पुराना संरचनामा क्षति कम र नयाँ संरचनामा बढी क्षति हुन गयो?

नेपालमा घर निर्माण होस् या ठूला भवन निमार्णमा भुकम्प प्रतिरोध क्षमता यकिन नगरि निमार्ण गरिएको देखिन्छ । निर्मीत संरचनाले कति भारवहन गर्न सक्छ भन्ने जानकारी समेत राखेको पाइँदैन ।


कुनै पनि संरचना बलियो हुनुमा त्यसमा प्रयोग हुने सिमेन्ट बालुवा र कंक्रिटको मिश्रण अनुपात र रडको गुणस्तर आदिको महत्वपूर्ण भूमिका रहन्छ । कुनै पनि संरचना निमार्ण गर्दा इन्जिनियरहरूले स्ट्रकचरका आधारमा कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने सो आधारमा संरचनाको डिजाइन गरेका हुन्छन् । घरको नक्सा पास र सम्पन्नपछि पनि त्यसमा माथि संरचना थप गर्ने गरेको समेत देखिन्छ । संरचना निर्माण गर्दा सोही अनुसारको भार बहनका क्षमता हुनेगर्छ ।

सिमेन्टको प्रकार

नेपालमा धेरै प्रयोग हुने सिमेन्ट दुई प्रकारका छन् । ओपीसी र पीपीसी दुई प्रकारको सिमेन्ट नेपालमा सर्वाधिक प्रयोग हुने सिमेन्टमा पर्दछन् । ओपीसी सिमेन्ट पनि तीन प्रकारको हुन्छ । ३३, ४३ र ५३ ग्रेड गरि तीन प्रकारको सिमेन्ट छन् । ३३ ग्रेडको साधारण ओपीसी हो यसलाई साधारण प्लास्टरमा प्रयोग गरिन्छ । सबैभन्दा बढी प्रयोग हुने भनेको ४३ ग्रेडको सिमेन्ट हो । घरायासी संरचना र भवन बनाउँदा ४३ ग्रेडकै सिमेन्ट प्रयोग हुन्छ ।

निर्माण व्यावसायी महासंघका अध्यक्ष रवि सिंह नेपालमा सर्वाधिक प्रयोग हुने सिमेन्टमा ओपिसी ४३ ग्रेडको सिमेन्ट प्रयोग हुने बताउँछन् । ५३ ग्रेडको  सिमेन्ट ठूला निर्माणको लागि बढी प्रयोग हुने उनको तर्क थियो ।

४३ ग्रेडको सिमेन्ट पनि ठूला निर्माणलाई प्रयोग नै नहुने भन्ने होइन । ठूला हाइड्रो तथा ब्रिजको लागि भने ५३ ग्रेडको सिमेन्ट प्रयोग हुने गरेको उनको भनाइ थियो । साधारण भाषामा भन्दा ओपीसी अर्थात अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट साधारण चुनढुंगाबाट बनेको हुन्छ । ओपीसी सिमेन्टमा बढी क्लिंकरको प्रयोग गरिएको हुन्छ । संरचना निर्माण गर्दा यो सिमेन्ट चाँडै पकडमा आउँछ ।

पुजोलोना पोर्टल्यान्ड सिमेन्ट (पीपीसी) यो सिमेन्ट कोइलाबाट निस्केको खरानीमा क्लिंकर मिसाएर बनाइएको हुन्छ । यसमा बढी मात्रामा क्लिंकर प्रयोग गरिएको हुन्छ । यो सिमेन्ट सेट हुन बढी समय लाग्ने हुन्छ । पीपीसी सिमेन्ट धेरै जसो प्लास्टर गर्नमा प्रयोग हने गर्छ ।

ग्रेड के हो ?

सिमेन्टमा ग्रेड भनेको यसको भारवाहन क्षमता हो । ३३ ग्रेड ४३ ग्रेड तथा ५३ ग्रेडले यसको 'स्ट्रेन्थ' क्षमतालाई दर्शाउँछ । संरचना निर्माणको क्षमता अनुसार इन्जिनियरको सुझावमा कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने भन्ने जानकारीका आधारमा गर्नुपर्ने बताउँछन् । बढी ग्रेडको सिमेन्ट राख्दैमा संरचना बलियो हुन्छ भन्ने होइन । निर्माण गरिने संरचनाका आधारमा मात्र कुन ग्रेडको सिमेन्ट प्रयोग गर्ने भन्ने निश्चित गर्नुपर्ने इन्जिनियरहरूको तर्क छ ।

इन्जिनियर संगम धिताल बढी ग्रेडको सिमेन्ट प्रयोग गर्दैमा संरचना बलियो नहुने तर्क गर्छन् । संरचना निर्माण गर्दा सबै कुरामा ध्यान पुर्‍याइ गरेमा मात्र कुनै पनि संरचना दीर्घ र स्थायी हुने बताउँछन् । संरचनाले मागेको ग्रेडको सिमेन्ट र इन्जिनियरको सुझावलाई मनन गरेर निर्माण गरेको संरचना लामो समयसम्म टिक्ने उनको तर्क थियो ।

सिमेन्टको गुणस्तर

नेपालमा नेपाल गुणस्तर चिन्ह एन एस मार्क प्राप्त नगरेका सिमेन्टहरू बिक्री गर्न पाइँदैन । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर जाँचेर गुणस्तरीय भएमा एनएस मार्क प्रदान गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । गुणस्तर मापनका लागि गुणस्तर तथा नापतौल विभागले एक मापदण्ड बनाएको हुन्छ । यो मापदण्ड पास गरेमा नेपाल गुणस्तर चिन्ह प्राप्त गर्छन् । नेपाल गुणस्तर चिन्हबिना नेपालमा सिमेन्ट बिक्री गर्न नपाइने उनको भनाइ छ । बेला-बेला सिमेन्टको नमुना परीक्षण गरेर गुणस्तरीय भए नभएको परीक्षण विभागले गर्दछ ।

सिमेन्ट भण्डारण

सिमेन्टको भण्डारण निकै चुनौतीपूर्ण कार्य हो । बालुवा रोडा रडलगायतका सामान भण्डारण सजिलो हुने भएता पनि सिमेन्ट भण्डारणमा भने निकै सावधानी अपनाउनु पर्छ । चिसो स्थानमा सिमेन्ट भण्डारण गर्दा एकै ढिक्का हुने हुँदापछि प्रयोग गर्न सकिँदैन । कुनै पनि सिमेन्टको म्याद प्याकेजिङ पछिको तीन महिना हुने गर्छ । म्याद गुज्रिएका सिमेन्ट प्रयोग गर्दा संरचना दीर्घकालीन हुँदैन । भण्डारण गर्दा राम्रोसँग त्रिपालले छोपेर सुख्खा राख्दा यसलाई तीन महिनासम्म प्रयोग गर्न सकिन्छ ।

कुन संरचनामा कस्तो सिमेन्ट प्रयोग गर्ने ?

कुन संरचनाका लागि कस्तो सिमेन्ट प्रयोग गर्ने भन्ने कुरा संरचनाको नक्सासँगै निर्णय लिनुपर्ने हुन्छ। बजारमा दर्जनौं सिमेन्टले विज्ञापन गरेको हुन्छ । कुन सिमेन्ट प्रयोग गर्ने भन्ने अन्यौल निर्माणकर्तामा हुने गर्छ । विशेषत: नेपालका निर्माण क्षेत्रमा ४३ ग्रेडको सिमेन्टको प्रयोग अत्यधिक हुने गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघ नेपालको निर्माण व्यवसायमा बढी ४३ ग्रेडको सिमेन्ट प्रयोग भएको बताउँछ । ठूला संरचनामा जस्तै पुल ड्याम जस्ता निर्माणमा ५३ ग्रेडको सिमेन्टको प्रयोग हुने गर्छ । कुन सिमेन्ट प्रयोग गर्ने भन्नेमा भवन निर्माण सल्लाह दिने इन्जिनियरसँग परामर्श गर्नु राम्रो हुन्‍छ । कतिपय सिमेन्ट गुणस्तर कम भएका कारण त कतिपय बालुवा नराम्रो परेका कारण संरचना कमजोर हुने गरेका छन्  ।  


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x