प्रमुख समाचार

टिप्पणी

'बेल्ट एण्ड रोड' गरिबी निवारणको बाटो

अजय अलौकिक |
बैशाख ८, २०७८ बुधबार ९:२५ बजे

बेइजिङ : यस वर्षको पोआउ एसिया मञ्‍च (बोवाओ फोरम) अप्रिल २० तारिख मङ्गलबारबाट हाइनानको पोआउमा शुरु भएको छ । पोआउ एसिया मञ्च स्थापनाको २०औँ वार्षिकोत्सव मनाउँदै गर्दा यस पटकको सम्मेलनको मुख्य नारा 'विश्वको ठूलो परिवर्तन : वैश्विक सुशासन र बेल्ट एण्ड रोड (बीआरआई) सहकार्यलाई सुदृढ बनाउन हातेमालो गरौँ' रहेको छ ।

उक्त सम्मेलनको उद्घाटन समारोहलाई चीनका राष्ट्रपति सी चिनफिङले भिडियोमार्फत 'एउटै डुंगामा बसेर संयुक्त रुपमा कठिनाइलाई जितेर सबैका लागि साझा भविष्यको सिर्जना गरौं' शीर्षकमा सम्बोधन गरेका छन् ।


सम्बोधनको क्रममा राष्ट्रपति सी चिनफिङले 'बेल्ट एण्ड रोड' सबैले हातमा हात मिलाएर हिँड्ने फराकिलो सार्वजनिक मार्ग भएको र कुनै पक्षको निजी सडक नभएको व्यक्त गरेका छन् । उनले भने, यसप्रति रूचि भएका मुलुकहरूले भाग लिएर संयुक्त सहकार्य र साझा हित लिनसक्छन् । 'बेल्ट एण्ड रोड' को संयुक्त निर्माणको उद्देश्य विकास र संयुक्त लाभ लिनु हो र यसबाट समग्र विकासको आशा गर्न सकिन्छ । हामी खुलापन र समावेशीकरणको लागि घनिष्ट साझेदारी निर्माण गर्नेछौँ ।

विश्व बैंकको एक रिपोर्ट अनुसार सन् २०३० सम्ममा 'बेल्ट एण्ड रोड' को माध्यमबाट विश्वका ७६ लाख जनता चरम गरिबीबाट र ३ करोड २० लाख जनता मध्यम गरिबीको अवस्थाबाट मुक्त हुने भन्दै राष्ट्रपति सीले चीनले 'बेल्ट एण्ड रोड' लाई 'गरिबी निवारण बाटो' र 'आर्थिक वृद्धि बाटो' बनाएर मानवको साझा समृद्धिका लागि सक्रिय योगदान पुर्‍याउनेमा जोड दिएका छन् । 

राष्ट्रपति सीका अनुसार, चीनले खुला रूपमा सहिष्णु धारणा अपनाउँदै बेल्ट एण्ड रोडमा संलग्न भएका सम्बद्ध पक्षहरू सँगसँगै मिलेर बेल्ट एण्ड रोडलाई गरिबी निवारण बाटो तथा विकासको वृद्धि हुने बाटोको रुपमा निर्माण गर्दैजाने छ । साथै चीनले मानवजातिको साझा समृद्धिका लागि सकारात्मक योगदान पनि गर्दैजाने छ ।

सन् २०२० मा बीआरआईमा आबद्ध देशहरूमा चीनको गैर-वित्तीय प्रत्यक्ष लगानी १७.७९ अर्ब डलर पुगेको छ, जुन वार्षिक आधारमा १८.३ प्रतिशतले वृद्धि भएको छ । यसबाट पनि बीआरआईले आर्थिक तथा व्यापारिक विकासमा सहयोग पुर्‍याएको प्रमाणित गर्दछ ।  

यसै गरी आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बितेका २० वर्षयता चीनले एसियाको महत्त्वपूर्ण सदस्यको हैसियतमा सुधार र खुलापनलाई निरन्तर रुपमा वहन गर्नुका साथै सक्रियताका साथ क्षेत्रीय सहकार्यलाई अघि बढाउँदै आएको पनि बताए । 

विश्व अर्थतन्त्रमा एसियाले ओगटेको भाग गत शताब्दीको ९० को दशकको सुरूको ३० प्रतिशतबाट सन् २०१९ मा ४१ प्रतिशतसम्म पुगेको छ । सम्बोधनको क्रममा राष्ट्रपति सीले विश्वलाई न्याय चाहिने प्रभूत्ववाद होइन भन्दै जे जस्तो परिवर्तन भए तापनि प्रभुत्त्ववाद तथा विस्तारवादको पछि नलाग्‍ने र होडबाजी नगर्ने चीनको शान्तिपूर्ण परराष्ट्र नीतिमा कुनै परिवर्तन नहुने पनि औँल्याए ।

साथै ठूला मुलुकले अरु बढी जिम्मेवारी वहन गर्नुपर्ने बताउँदै चीन निरन्तर रुपमा शान्ति, विकास, सहकार्य र आपसी लाभका लागि प्रतिबद्ध रहने तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको आधारमा अन्य देशहरूसँगको मित्रता र सहकार्यको विकास गर्दै जाने र अन्तर्राष्ट्रिय सम्बन्धलाई बढावा दिने पनि बताए । साथै विश्व विकासको योगदानकर्ता र अन्तर्राष्ट्रिय परिपाटीको सँरक्षक बन्दैजाने पनि औँल्याए ।

सन् २०२० को पोआउ एसिया मञ्च सम्मेलन कोभिड-१९ महामारीका कारण रद्द गरिएको थियो । चारदिनसम्म चल्ने यस पटकको सम्मेलनमा ६० वटा मुलुकका २६०० प्रतिनिधिहरूले भाग लिइरहेका छन् ।


Author

थप समाचार
x