संगीत

नाट्य प्रतिष्ठान परिसरमा गायक आचार्यप्रति अन्तिम श्रद्धाञ्जली

इकागज |
फागुन १५, २०८० मंगलबार १२:३८ बजे

काठमाडौँ -  वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । 

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जली अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उनलाई श्रद्धाञ्जली दिन शुभेच्छुक तथा गीत सङ्गीत क्षेत्रका व्यक्तिको उपस्थिति छ । 


प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जली अर्पण चलिरहेको बताए । साथै केही समयपछि श्रद्धाञ्जलीका लागि संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीलगायत नेपाल सरकारका उच्च अधिकारीहरूको पनि उपस्थिति रहने जानकारी दिनुभयो । उहाँका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । 

भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो । उहाँलाई हिजो अपरान्ह ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो ।

 प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताए । 

आचार्यले ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौँ...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाहरूको...’, ‘माया मेरी साँझ बिहान...’, ‘हजार आँखा हेर्ने...’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिनुभएको छ । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन् । 

 उनको राष्ट्रिय सम्मानका साथ बिदाइको तयारी गरिएको छ । विसं १९९९ मा धनकुटामा जन्मिएका आचार्यको नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान छ ।
---
 


Author

थप समाचार
x