संगीत

कर्मा ब्यान्डको व्यवस्थापन अब एएसक्युले गर्ने

इकागज |
फागुन ३, २०८० बिहीबार १४:४९ बजे

काठमाडौँ- 'हुक्का मेरो', 'छैन मैले तिम्रो', 'कहाँ होला घरबार', 'यानिमाया', जस्ता बहुप्रतिष्ठित गीतहरू प्रस्तुत गरिसकेको कर्मा ब्यान्डको व्यवस्थापकीय जिम्मेवारी एएसक्युले लिएको छ ।

आदि ग्रुपअन्तर्गत गीत-सङ्गीतको क्षेत्रमा गायक-गायिका तथा ब्यान्डहरूको जिम्मेवारी लिँदै आएको एएसक्युले कर्मा ब्यान्डको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी लिएको हो । यसअघि 'कन्दरा' ब्यान्डको जिम्मेवारी लिई 'कन्दरा' को पुनर्आगमनको सिलसिलामा 'बिचरा म' गीत र हालको सबैभन्दा बृहत् कन्सर्ट आयोजना गरेको एएसक्युले आजकै मितिबाट कर्मा ब्यान्डको व्यवस्थापन पनि सुरुवात गरेको छ ।


कर्मा ब्यान्डका गायक सुरेन्द्रमान सिंहले भने, 'हामी यो सहकार्यलाई प्रगतिशील मान्छौं किनकि गायक र वाद्यवादकको काम सिर्जना हो, र व्यवस्थापनको काम व्यवस्थापन गर्ने टोलीले नै लिएको राम्रो हो । यसले कर्मा ब्यान्डको दुईवटै पक्ष– सिर्जना र व्यवस्थापनलाई टेवा पुग्नेछ ।'

कर्माले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ ल्याएको थियो । त्यसपछि २००० मा दोस्रो एल्बम ‘हुक्का’ आयो । त्यसपछि सन् २००३ मा ‘एस.एम.एस.’ र सन् २००७ मा ‘कर्मा’ आयो । नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गराउन माहिर कर्माले पछिल्लो समय सन् २०१३ मा एल्बम ‘नयाँ सपना’ ल्याएको थियो ।

कर्मा ब्यान्डको ‘हुक्का मेरो’ गीतसहित ‘मौनतामा’, ‘कहाँ होला घरबार’, ‘मार्यो’, ‘छैन मैले तिम्रो चित्त दुखाएको’, ‘सुपारी दाना’, ‘यानीमाया’ र ‘नयाँ सपना’ लगायत गीतहरू चर्चामा छन् । ब्यान्डले गत वर्ष ‘कारबारी छाता’ गीत सार्वजनिक गरेको थियो । कर्मा ब्यान्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आबद्ध छन् ।

आदि ग्रुपका अध्यक्ष तथा एएसक्युका प्रणेता आशिष पराजुली भन्छन्, 'नेपाली परिप्रेक्ष्यमा कुनै गायक-गायिका वा ब्यान्डको व्यवस्थापन नै गर्न एउटा छुट्टै टोली खडा गरिनु उति प्रचलित प्रयोग होइन । तर, अन्तर्राष्ट्रिय तवरमा यो अत्यावश्यक मानिएको छ । हामीले हालै 'कन्दरा' ब्यान्डको व्यवस्थापन गरी म्युजिक भिडियो र कन्सर्ट नै गर्‍यो जसले व्यवस्थापन गर्नुपर्ने तथ्यलाई उजागर गरिदिएको छ । अब 'कर्मा' ब्यान्डको पनि जिम्मेवारी लिई हामी नयाँ एल्बम, नयाँ म्युजिक भिडियोहरू, र कार्यक्रम तथा प्रस्तुतिहरूको व्यवस्थापनमा पनि दत्तचित्त भई लाग्नेछौं ।'


Author

थप समाचार
x