संगीत

अमेरिकाबाट प्रकाश सपुतको पत्र : 'सकम्बरी’का कारण चोट र अपमान महसुस गर्नेसँग क्षमा चाहान्छु

इकागज |
बैशाख ८, २०८० शुक्रबार १२:४२ बजे

काठमाडौँ- देशका अन्य घटनाक्रमलाई बिर्साउने गरी एउटा गीतमाथि भइरहेको बहसलाई छोट्याउँदै गीतका सर्जक प्रकाश सपुतले माफी मागेका छन् । उनले अमेरिकाबाट लामो फेसबुक स्ट्याटस लेख्दै गीतमा आएका प्रतिक्रियाले हौसला र खबरदारी दुवै गराएको बताएका छन् । यही स्ट्याटसमा उनले रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै हिजोका दिनमा आफू त्यहीँबाट उदाएको र त्यो ठाउँप्रति सम्मान रहेको बताएका छन् । गीतमा देखाएको पृष्ठभूमिलाई आधिकारिक रिपोर्टजस्तो नठान्न र गीतमा देखाएका कुरालाई फिक्सनल मान्न पनि आग्रह गरेका छन् ।

'पछिल्लो गीत  सकम्बरी ले उठाउन खोजेको महिला यौन हिंसाको विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्रमा छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र कुनै अर्को क्षेत्रमा छँदैछैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभुमी तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रुपमा बुझिदिनु होला',उनले लेखेका छन् ।


यही क्रममा उनले आफ्नो सिर्जनाले कसैलाई चोट पुगेको वा अपमानजनक महसुस भएको छ भने क्षमा चाहेको पनि बताएका छन् ।'मेरो सृजनाले प्रत्यक्ष / अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ , अपमानजनक महसुस भएको छ भने सबै सँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफु अग्लिनु छँदै छैन । कसैलाई असफल बनाएर आफू सफल हुनु छँदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन ।

म पनि यहि समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यहीँ निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकि/जानी नजानी गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरु देखाएर उज्यालोतिर लग्न प्रेरित गर्ने भन्ने हो । रात्रिकालीन मनोरन्जन व्यवसाय मात्रै होइन देशका सबै क्षेत्रलाई , सबै अंगलाई मर्यादित बनाउन , सफल र समृद्ध बनाउन तपाईँ हामी सबैको भूमिका उत्तिकै महत्वपुर्ण छ ।बाँकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौँला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउँला म.. कुनै मीठो भाका छान्दै गर्नु होला । धन्यवाद ! 'उनले लेखेका छन् ।

 


Author

थप समाचार
x