संगीत

गायक कर्मा शेर्पा भन्छन् ‘गायनमा निरन्तरता नै सफलता हो’

इकागज |
बैशाख ५, २०८० मंगलबार १६:५१ बजे

काठमाडौँ-  रियालिटी शोमार्फत उदाएका गायक कर्मा शेर्पा गत हप्ता नेपालमा थिए । काठमाडौंमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ का सहभागी प्रतियोगीलाई हौसला प्रदान गर्न नेपाल आएका शेर्पाले प्रतियोगीसँगै एक हप्ता बिताए । यो क्रममा प्रतियोगीलाई उनको सुुझाव थियो, ‘कलामा निरन्तरता महत्वपूर्ण हो । निरन्तर लाग्नुस् ।’  

भारतीय गायन रियालिटी शो ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’का प्रतियोगी गायक शेर्पाले आफ्नै सङ्गीत संस्थानको स्थापना गरी नव प्रवेशीलाई मार्गदर्शनसमेत गर्ने गरेका छन् । अन्य नवप्रतिभाहरुलाई दिने सुझावजस्तै आफू पनि कलामा निरन्तर रहेकाले नै यो ठाउँमा टिकिरहेको उनको भनाइ थियो । ‘म यो मञ्चसम्म पुग्न निकै सङ्घर्ष गरेको छु । अरूले पनि त्यही सङ्घर्ष गर्न नपरोस् भनेर काम गरिरहेको छु । किनकि धेरै प्रतिभा गन्तव्यसम्म नपुग्दै हराउने गरेका छन्’, गायक शेर्पाले भने ।  


इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा यहाँ जारी प्रतियोगिताका सहभागीलाई उनको सुझाव थियो, ‘म पनि सहजै यो स्थानमा पुगेको होइन । प्रत्येक कला क्षेत्रका कलाकारका लागि पनि निरन्तरता र मेहनत महत्वपूर्ण छ ।’

    उनले दार्जीलिङमै छँदा त्यहाँ आयोजित एक गायन प्रतियोगितामा भाग लिने अवसर पाएका थिए । प्रतियोगितामा कर्मा उत्कृष्ट दशमा पनि पर्न सकेका थिएनन् । ‘जब उत्कृष्ट दशको पत्रिकामा नाम आयो तब मेरो नाम थिएन’, उनले विगत सम्झिए , ‘पत्रिकामा नाम नदेखेपछि रुँदै घर फर्किएँको थिए ।’ 

    ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’बाट पनि कर्मा प्रतियोगीकै रूपमा बाहिरिएको थियो ।  भारतीय संगीतकार विशाल एण्ड शेखरको समूहमा रहेका गायक शेर्पा  अन्तिम समयमा राम्रो प्रस्तुति दिँदादिँदै पनि बाहिरिन बाध्य भएका थिए ।  

    ‘बाहिरिएपछि मञ्च पछाडि रुँदै गर्दा मलाई विशाल सर सम्झाउँदै भन्नुभयो, योभन्दा राम्रो अवसरले पर्खिएको हुनसक्छ अगाडि बढ्नुहोस्”, उनले सम्झना गरे ।  
पछिल्लो समय प्रशारित भइरहेका यस्ता रियालिटी शोहरू वास्तविकताभन्दा पर रहेको उनको बुझाइ छ । ‘पहिले जस्तो निर्णायकले प्रतिक्रिया दिँदैनन्, तारिफ मात्रै गर्छन्’, उनको भनाइ छ , ‘हामीले गाउने समयमा अलिकति तलमाथि हुँदा पनि कडा प्रतिक्रियाको सामना गर्नुपथ्र्यो ।’

उनको बुझाइमा अहिले दर्शक निर्णायक बनेका छन् भने भोटबाटै उत्कृष्ट गायक छनोट हुन थालेका छन् । पचासभन्दा बढी देशबाट छानिएका मध्येबाट नृत्य र गायनमा ५०÷५० प्रतियोगी छनोट गर्न हाल काठमाडौँमा अडिसन जारी छ । 

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन् । यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई हुनुहुन्छ । कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ रहेका छन् । 

    नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो । गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् । 

    नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिनुभयो ।


Author

थप समाचार
x