फिचर

सन् २०२३ लाई फर्केर हेर्दा

मेस्सीको मियामी प्रवेश, सिटीको 'ट्रेबल' तथा जोकोभिचले कीर्तिमान कायम गरेको वर्ष

सञ्जीव शाह |
पुस १०, २०८० मंगलबार १३:३१ बजे

तस्बिरः एजेन्सी

काठमाडौँ- अन्य वर्ष झै सन् २०२३ पनि अन्तर्राष्ट्रिय खेलकुदका लागि विशेष रह्यो । कीर्तिमानहरू कायम भए भने सुख र दुःख दुवै अवस्थामा समर्थकले आँखाबाट आँशू झार्न पुगे ।

स्पेनिस महिला फुटबल टिमले पहिलोपटक फिफा विश्वकपको उपाधि जित्नुदेखि इंग्लिस क्लब म्यानचेस्टर सिटीले ट्रेबल पूरा गर्ने कीर्तिमान पनि सन् २०२३ मै कायम भए । यी बाहेक अन्तर्राष्ट्रिय खेलकुदका अन्य कैँयौँ घटनाले चर्चा पायो ।


सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिचका लागि सन् २०२३ विशेष रह्यो । अस्ट्रेलियन ओपन  तथा फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिच सर्वाधिक ग्रान्ड स्लाम जित्ने टेनिस खेलाडी बने । उनले त्यसपछि अस्ट्रेलियन ओपनको उपाधि पनि चुमे । जोकोभिचले २४ वटा ग्रान्ड स्लाम जितिसकेका छन् भने स्पेनका राफायल नाडालले २२ वटा ग्रान्ड स्लाम हात पारेका छन् ।

चेक रिपब्लिककी मार्केटा भोन्डरोउसोभा महिला एकलतर्फ विम्बल्डनको उपाधि जित्दै वरीयतामै नभएर पनि ग्रान्ड स्लाम (विम्बल्डन) जित्ने पहिलो खेलाडी बन्ने कीर्तिमान कायम गरिन् ।

इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका लागि पनि सन् २०२३ कीर्तिमान कायम गर्ने वर्षको रुपमा सावित भयो । म्यानचेस्टर सिटीले आर्सनललाई पछि पार्दै सन् २०२३ मा इंग्लिस प्रिमियर लिग, म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै एफए कप तथा इटालियन क्लब इन्टर मिलानलाई पाखा लगाउँदै च्याम्पियन्स लिगको उपाधि जितेर पहिलोपटक 'ट्रेबल' पूरा गर्‍यो ।

सन् २०२३ मै म्यानचेस्टर सिटीले यूइएफए सुपर कप तथा फिफा क्लब विश्वकपको उपाधि समेत हात पार्‍यो ।

स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी जुलाई १५ मा अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेल्नका लागि औपचारिक रुपमा सम्झौता गरे । सन् २०२३ मै मेस्सीले कीर्तिमानी आठौँपटक बालोन डी'ओर अवार्ड हात पारे ।

सन् २०२३ मै अस्ट्रेलिया र न्यूजिल्यान्डमा संयुक्त रुपमा सम्पन्न फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जित्यो । फाइनलमा इंग्ल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलोपटक महिला विश्वकपको उपाधि जितेको थियो । तर आफ्नै खेलाडी जेनिफर हर्मोसोको ओठमा चुम्बन गरेपछि रोयाल स्पेनिस फुटबल फेडेरेसनका तत्कालीन अध्यक्ष लुइस रुवियाल्स विवादमा परे । जसका कारण उनले उक्त पदबाट राजीनामा दिनुका साथै फिफाको कारबाहीको भागिदार समेत बन्न पुगे ।

यता भारतमा नोभेम्बर १९ मा सम्पन्न आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियाले उचाल्यो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनलमा अस्ट्रेलियाले आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो ।

भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । त्यससँगै अस्ट्रेलियाले कीर्तिमानी छैटौँपटक एकदिवसीय विश्वकपको उपाधि जित्यो ।

भारतमा सम्पन्न विश्वकपमा भारतीय ब्याटर विराट कोहलीले ३ शतक र ६ अर्धशतकको मदतमा सर्वाधिक ७ सय ६५ रन बनाए । दक्षिण अफ्रिकाका क्विन्टन डी ककले सर्वाधिक ४ शतक प्रहार गरे । भारतकै मोहम्मद शामीले २४ विकेट हात पार्दै सर्वाधिक विकेट लिने खेलाडी बने ।

अगस्ट १५ मा ब्राजिलियन फुटबल स्टार नेयमार जुनियरले साउदी अरेबियन क्लब अल-हिलालसँग सम्झौता गरे । साउदी प्रो लिग क्लबहरूले चर्चित अन्तर्राष्ट्रिय खेलाडी भित्र्याइरहेको समयमा नेयमारसँगको सम्झौताले निकै चर्चा पाएको थियो ।

यता रियल मड्रिडले भ्यालेन्सियाविरुद्धको खेलमा १-० गोलअन्तरको हार भोगेपछि रियल मड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनियरमाथि रंगभेदी दुर्व्यवहार गरिएको थियो । उक्त घटनाको छानबिन समेत गरिएको थियो ।

शल्यक्रियापछि टाइगर उड्स नोभेम्बरमा हिरो वर्ल्ड च्यालेन्जमार्फत प्रतिस्पर्धात्मक गल्फ प्रतियोगितामा फर्किए ।

वर्ल्ड रेस्लिङ एन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) र यूएफसीको ठूलो हिस्सा बोकेको एन्डेभरबीच गाभिने सम्झौताको घोषणा भयो ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x