फिचर

निसिमको अन्तिम उडान...

धनबहादुर गुरुङ |
असोज ३१, २०७९ सोमबार ६:५५ बजे

पोखरा- पोखराले आइतबार प्याराग्लाईडिङ खेलाडी र प्यारा पाइलट गुमायो । खुलेको आकाशले प्याराग्लाईडिङ खेलाडी निसिम थापालाई सदाका लागि लग्यो । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको 'क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्ट'मा स्वर्ण जित्ने सपना क्षणभरमै चुँडियो ।

खेलाडी भएपछि घाँटीमा पदक झुड्याउँने सपना सबैले बुन्छन् । पदकको आशा बोकेका निसिमको सपना अधुरै रह्यो । आइतबार पोखराको आकाशमा उड्दा ड्दै उनको मृत्यू भयो । त्यही उडान नै निसिमको अन्तिम उडान बन्यो ।


२६ वर्षीय निसिम नवौंका लागि त्रिभुवन आर्मी क्लबमा करारमा अनुबन्ध भएका हुन् । प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङ शनिबारबाटै सुरु भएको हो । शनिबार निमिसले उत्कृष्ट प्रदर्शन गरेका गरेका थिए । आइतबार अझै राम्रो कौशल देखाउँदै उपाधि चुम्ने सपना बुनेर उनले आइतबार पहिलो उडान गरेका थिए । तर, पहिलो उडानले खराब ल्याण्डिङ गर्‍यो ।

सराङकोटबाट टेक अप गरेर निसिमको ग्लाइडको एउटा भागलाई हावाले खुम्च्याइदियो । करिब ५०-६० मिटर माथि पुगेका उनको ग्लाइड फनफनी घुम्यो र जमिनतिर खस्दै बजारियो । दुर्घटनामा परेका निमिसलाई तत्कालै उपचारका लागि अस्पताल पुर्‍याइयो । तर डाक्टरले प्राण गइसकेको जानकारी गराए । प्रत्यक्षदर्शीकाअनुसार उडेको पाँच मिनेट आसपास निसिम दुर्घटनामा परेका हुन् । दुर्घटनाको कारण भने खुलेको छैन ।

उनी उड्नुभन्दा अघि मौसम र हावाको गति परीक्षण गर्न एपीएफका प्रशिक्षक सुरेन गुरुङ उडिसकेका थिए । त्यसपछि मात्र खेलाडीमध्ये निसिम उडेका हुन् । उनी उडेको केही समयपछि हेर्दा ग्लाइडर दुर्घटनाको अवस्थामा पुगेको सुरेनले बताए । ‘ग्लाइडर कोल्याप्स (ग्लाइडर खुम्चिने अवस्था) भएर घुमेको थियो । उचाइ नभएपछि ग्लाइडर खोल्न नपाउँदै जमिनमा ठोकिहाल्यो,’ सुरेनले सुनाए ।

गोर्खा घर भई पोखरा हस्पिटल चोक बस्ने निसिम पोखराकै एउटा प्याराग्लाइडिङ कम्पनीमा व्यावसायिक उडान पनि गर्थे । उनले प्याराग्लाइडिङ गर्न थालेको ९ वर्ष भएको थियो । यससँगै इन्डोनेसिया, कोरिया, भारतका प्रतियोगितामा निसिम उनी सहभागी भएका थिए ।

निसिमको वल्र्डकप नै जित्ने सपना रहेका उनका प्याराग्लाइडिङ पाइलट साथी अर्जुन बरालले सुनाए । ‘उनको सपना, योजना सम्झनामात्रै रह्यो,’ उनले भने । निसिम आर्मीबाटै आठौँ राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङअन्तर्गत क्रस क्रन्ट्री विधामा पनि सहभागी भएर रजत पदक जितेका थिए ।

पोखरामा जारी प्रतियोगितमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ सहभागी छन् । शनिबारको खेलका आधारमा आर्मीको रेकर्ड राम्रो छ । तर, निसिमको निधनसँगै प्रतियोगिता अनिश्चित बनेको छ । नागरिक उड्यायन प्राधिकरणले नेपालभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध पनि लगाएको छ ।


Author

थप समाचार
x