प्रदेश / स्थानीय सरकार

'मेट्रो मेयर मिट' घोषणा पत्र

महानगरलाई छुट्टै ऐन जारी गर्न माग

धनबहादुर गुरुङ |
साउन १५, २०७९ आइतबार ११:० बजे

पोखरा - पोखरामा दुई दिनसम्म चलेको ‘मेट्रो मेयर मिट’ले महानगरपालिकाहरूका लागि छुट्टै ऐन जारी गर्न माग गरेको छ । पोखरामा आयोजित महानगरपालिकाका मेयरहरूको बैठकपछि आइतबार ७ बुँदे संयुक्त घोषणा पत्र सार्वजनिक गर्दै संघीय संसद्‍बाट महानगरपालिकाहरूका लागि छुट्टै ऐन माग गरिएको छ । घोषणा पत्रको पहिलो बुँदामै महानगरका लागि संघीय छुट्टै ऐन जारी गर्न अनुरोध गर्ने उल्लेख छ ।  

‘संघीय राज्य व्यवस्थाको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि संघ र प्रदेश सरकारहरूसँगको समन्वय, सहयोग र सहकार्यलाई अझै घनीभूत गर्दै महानगरीय सुशासन, नीति तथा योजना व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहलाई थप सुदृढ बनाउँन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विषय क्षेत्रसँग सम्बन्धित विद्यमान संघीय कानूनको परिमार्जन र नयाँ कानुनको निर्माणसँगै महानगरपालिकाहरूका लागि संघीय संसदबाट छुट्टै ऐन जारी गर्न समेत अनुरोध गर्दछौं,’ पोखरा घोषणापत्रमा उल्लेख छ ।


सार्वजनीक खरिद ऐनदेखि धेरै काम गर्नका लागि स्थानीय तह एक्लैले गर्न नसक्ने भएका कारण महानगर आफैले गर्ने कामका लागि छुट्टै ऐनको माग गरिएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले १० लाख जनसंख्या भएको महानगर र ५ सय भन्दा कम जनसंख्या भएको गाउँपालिकाको एउटै ऐन नियम भएकाले त्यो न्यायोचित नभएको भन्दै आफूले यस्तो माग गरेको सुनाए । 

यस्तै प्राकृतिक, साँस्कृतिक एवं सामाजिक मौलिकतामा रहेका समस्या सम्भावनालाई सम्बोधन र सम्मान गर्दै महानगरहरूबीच पारस्परिक सम्पर्क सञ्जाल प्रर्वद्धन गरी आपसी सहयोग र सहकार्यलाई ‘महानगर मञ्च नेपाल’ को माध्यमबाट संस्थागत गर्ने प्रण पनि मेयरहरूले गरेका छन् ।

महानगर मञ्च नेपालद्वारा प्रत्येक वर्ष पालैपालो महानगर सम्मेलन आयोजना गर्ने, हरेक महानगरमा नीति तथा योजना आयोग गठन गरी सञ्चालन गर्ने, संघीय तथा प्रदेश सरकारले अपनाएको व्यवस्था बमोजिम आवश्यक कानुनी प्रबन्ध गरी सबै महानगरको संगठन संरचनामा उपयुक्त संस्थागत व्यवस्था गर्ने पनि संयुक्त घोषणा पत्रमा उल्लेख छ । 

महानगरका छिमेकी पालिकाहरूसँग समावेशी पूर्वाधार विकासमा सहकार्य गर्ने तथा संघ र प्रदेश सरकार एवं राज्यका अन्य अंग र निकायहरूसँग पारस्परिक सूचना सम्प्रेषण र परामर्श गरी सम्पर्क, समन्वय र सहकार्य गर्ने ऐक्यबद्धता पनि जनाइएको छ ।

संयुक्त घोषणा पत्रमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ललितपुरका चिरिबाबु महर्जन, भरतपुरका रेणु दाहाल, वीरगञ्जका राजेशमान सिंह विराटनगरका नागेश कोइराला र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।

आगामी मेयर सम्मेलन भरतपुरमा हुने तय भएको छ । यो भन्दाअघि ललितपुरमा हुने भनिएको सम्मेलन भरतपुरले माग गरेपछि सारिएको हो । पोखराका मेयर आचार्यले भरतपुरकी मेयर रेणु दाहाललाई मेट्रो मेयर मिटको झण्डा हस्तान्तरण गरेका छन् । 


Author

थप समाचार
x