साहित्य

१२औँ घनश्याम ढकाल स्मृति दिवस : मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना सार्वजनिक

इकागज |
फागुन १३, २०८० आइतबार १०:३१ बजे

काठमाडौँ- साहित्यकार घनश्याम ढकाल (२०१०-२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरूको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो।

कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक चैतन्य (मोहन वैद्य किरण)ले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानबारे परिचर्चा गरेका थिए । ढकालसँग पञ्चायतकालदेखि जनयुद्ध हुँदै पछिल्लो कालसम्म आफूले निकट रुपमा सहकार्य गरेको संस्मरण सुनाउँदै समालोचक चैतन्यले ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकलाई नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रसम्बन्धी एक प्रतिनिधि ग्रन्थका रुपमा मूल्यांकन गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहेका चैतन्यले जनयुद्धको सौन्दर्यशास्त्र निर्माणमा पनि ढकालको विशिष्ट योगदान रहेको चर्चा गरे। 


घनश्याम ढकालको सामाजिक तथा राजनीतिक व्यक्तित्वबारे चर्चा गर्दै राजनीतिकर्मी सावित्रा दुराले तीन दशकअघि आफूले विद्यार्थी राजनीति थाल्दै गर्दा ढकालको वैचारिक अभिभावकत्व प्राप्त गरेको स्मरण गर्नुभयो । ढकालले आफ्नो परिवारबाटै राजनीतिक–वैचारिक तथा सांस्कृतिक उत्तराधिकारीहरू निर्माण गरेको कुरा आन्दोलनले सिक्नुपर्ने पक्ष भएको पनि दुराले चर्चा गरिन् । नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्य दुराले आज जनयुद्धलाई विद्रुपीकरण गरिएको बेलामा घनश्याम ढकालजस्ता क्रान्तिका पक्षधर साहित्यकार र समालोचकहरूको अभाव झन् खड्किएको बताए ।

‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकमाथि परिचर्चा गर्दै समालोचक डा. धनप्रसाद सुवेदीले नेपालमा मार्क्सवादी सौन्दर्यशास्त्रको विश्लेषण गर्ने काममा र त्यसको विकासका विभिन्न प्रवृत्तिहरूबारे समालोचना गर्ने काममा घनश्याम ढकालको योगदान विशिष्ट रहेको बताए । डा. सुवेदीले समालोचना र सौन्दर्यशास्त्र जस्तो जटिल सैद्धान्तिक विषयलाई पनि सरल, स्पष्ट र बुझिने भाषामा प्रस्तुत गर्न सक्ने क्षमता ढकालको लेखनमा पाइने एउटा मुख्य विशेषता भएको बताए । उनले ढकालले आफ्नो समयमा बहसमा आएका जनयुद्धको सौन्दर्यशास्त्र, प्रचण्डपथीय सौन्दर्यशास्त्र, दलित सौन्दर्यशास्त्र जस्ता विषयमा कलम चलाएको बारे पनि चर्चा गरे।

मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले घनश्याम ढकालको बहुआयामिक व्यक्तित्वबारे संक्षिप्त चर्चा गरिन् । ढकालले कथा, निबन्ध, उपन्यास, कविता, सौन्दर्यशास्त्र, दर्शन जस्ता मुख्यतः ६ वटा विधामा कलम चलाउँदै आएको र मूलतः कथाकार व्यक्तित्वका रुपमा उनको परिचय विस्तारित भएको समालोचक चापागाईंले बताए ।

घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका चापागाईंले ढकाल आमसाहित्यकारजस्तो कविता विधाबाट नभई निबन्ध विधाबाट लेखन थाल्नुभएका र पहिलो कृति नै निबन्ध प्रकाशित गरेको पनि चर्चा गरे । ढकाल आवद्ध भएका, ढकालले निर्माण गरेका र नेतृत्व गरेका संगठन, संस्था र मञ्चहरूको उल्लेख गर्दै चापागाईंले भने, ‘उहाँ आफ्नो लेखन र सिर्जनालाई मुक्ति आन्दोलनको अभिन्न अंगका रुपमा लिनुहुन्थ्यो। उहाँ आधारभूत रुपमा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। अर्को अर्थमा स्वयम् निर्मित, जुझारु र संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो।’

समाजरुपान्तरण र सांस्कृतिक रुपान्तरणका पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेका ढकालका विभिन्न विधाका रचनाहरूको संकलन प्रतिष्ठानबाट क्रमशः प्रकाशित गर्दै जाने पनि उनले प्रतिबद्धता गरे । कार्यक्रममा सुसेला सङ्गीत समूहका कलाकारहरू अन्जानबाबु, सबिर कार्की र ठाकुर सुवेदीले ढकालरचित गीत ‘छैन विश्वास लागेको’ पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव विष्णु भण्डारीले सञ्चालन गरेका थिए । घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले घनश्याम ढकाल रचनावलीको पहिलो खण्डका रुपमा उनका सौन्दर्यशास्त्रीय रचनाहरूलाई एकाग्र संकलन प्रकाशित गरेको हो । प्रस्तुत संकलनलाई प्रतिष्ठानकै अध्यक्ष समेत रहेका मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं र लेखक/सम्पादक एवम् प्रतिष्ठानका कोषाध्यक्ष वन्दना ढकालले सम्पादन गरेका हुन् ।


Author

थप समाचार
x