साहित्य

चितवनमा कुलपति राईको एकल कविता वाचन

इकागज |
भदौ ३१, २०८० आइतबार १६:३९ बजे

भरतपुर । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति कवि भुपाल राईले चितवनमा कविता वाचन गरेका छन् । साहित्य संगम चितवनले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा सहभागी भएर कुलपति राईले करिब १ दर्जन कविता प्रस्तुत गरे ।

भरतपुर महानगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको थियो । कवि राइले सुरुवातमा `चितवन टु काठमाडौं´ शीर्षकको कविता सुनाए । `यो कविता विद्रोहको आवाज हो, विचारका माध्यमबाट सरकारलाई खबरदारी गरिएको छ´, कविता वाचनका क्रममा राईले बताए । त्यसपछि उनले विभिन्न कविताहरू सुनाए । राईले आफ्नो कविता कृति `यारी´बाट कविताहरू प्रस्तुत गरेका थिए ।


कवि राईले पहिचानका मुद्दालाई कवितामा उतारेको कवि भूपिनले बताए । `उहाँले कलाको खपतका लागि मात्रै कविता लेख्नुहुन्न, उहाँका कवितामा उद्देश्य निहित हुन्छ´,भूपिनले बताए । राईले एक दर्जन जति चलचित्रका लागि पनि गीत रचना गरेका छन् । उनका गीत र कवितामा विद्रोही चेत पाइने भूपिनले बताए ।

`सांस्कृतिक सत्ता र समताका लागि´ भनेर कवि राईको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष प्रकाश चापागाईंले बताए । कार्यक्रममा डाक्टर धनप्रसाद सुवेदी, रामहरि श्रेष्ठ, इन्द्र रेग्मीलगायतले बोलेका थिए ।


Author

थप समाचार
x