साहित्य

कांग्रेसले बिपी साहित्य महोत्सवको अयोजना गर्ने

इकागज |
भदौ ११, २०८० सोमबार २१:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले ११० औँ बिपी जन्मजयन्तीको अवसरमा बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्ने निर्णय गरेको छ । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्मजयन्तीका रूपमा मनाउँदै आएको छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्‍याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अमर रहेको छ ।


आजको राजनीतिक परिवेशमा समेत बिपी विचारको महत्त्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्ष स्थानमा छन् । यही भदौ २४, २५ र २६ गते पार्टी केन्द्रीय कार्यालयमा हुने उक्त महोत्सव कांग्रेस केन्द्रीय कार्यालयको आयोजनामा र नेपाली लेखक संघको संयोजनमा सम्पन्न हुनेछ । तीन दिनसम्म चल्ने महोत्सवमा विभिन्न विषयमाथि छलफल हुनेछ ।

महोत्सवमा विभिन्न व्यक्तिका प्रमुख प्रवचन (सम्भाषण) हुने पार्टीका प्रचारप्रसार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसैगरी मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेस, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन् ।

महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी हुनेछन् । पहिलो पटक आयोजना गर्न थालिएको यस साहित्य महोत्सवमा उपस्थित लागि प्राज्ञिक तथा विद्वान् वुद्धिजीवी, अध्येता, एवं राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुचि राख्ने सम्पूर्णलाई अनुरोध गरिएको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने उनले बताए । रासस


Author

थप समाचार
x