साहित्य

मोहन बहादुर कायस्थको ८४ औं पुस्तक लोकार्पण

इकागज |
साउन ८, २०८० सोमबार १३:६ बजे

काठमाडौँ-  पूर्व विद्युत ईञ्जिनियर एवं साहित्यकार मोहन बहादुर कायस्थको चौरासिऔं पुस्तक ‘म बन्दीपुरे भक्तपुरको’ एक समारोहका बीच हालै भक्तपुरमा लोकार्पित भयो ।

सिर्जना अभियान समाज, भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्व भएको उक्त लोकार्पण समारोहमा साहित्यकार ध्रुव मधिकर्मील स्वागत मन्तव्य राख्नु भएको थियो । साहित्यकार डा. विष्णु भण्डारी, वरिष्ठ साहित्यकार तिलक प्रकाश कायस्थ, तथ्यांक विभागका पूर्व महानिर्देशक उत्तम नारायण मल्लले मोहन बहादुर कायस्थको लेखकीय क्षमता, भक्तपुर र बन्दीपुरबीचको सम्बन्ध एवं लोकार्पित पुस्तकमाथि प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा लेखक मोहन बहादुर कायस्थले आफू चालीसको उमेरदेखि लेख्न, प्रकाशन गर्न थालेर अहिले ८० वर्षको उमेरमा यो सहित ८४ वटा आफ्नै पहलमा प्रकाशन ल्याइसकेको बताउनु भयो ।


आफ्नो विद्वता र सिर्जना प्रकाशकको मुख नताकेर आफ्नै पहलमा भएपनि प्रकाशन गर्दै जानुपर्ने भन्ने धारणा राख्नुहुने मोहन बहादुर कायस्थले अब चाहिँ उमेरका कारण यही पुस्तक अन्तिम हुने घोषणा पनि गर्नु भयो । तर अन्य वक्ताहरुले त्यसो गर्न नहुने र मोहन बहादुर कायस्थको लेखकीय स्वभाव अनुसार उहाँले बिट मार्न नसक्ने धारणा व्यक्त गर्नुभयो । केही कविता, केही लघुकथा सहित आफ्ना संस्मरणहरुका साथै करीब एक दर्जन सर्जकहरुले मोहन बहादुर कायस्थको व्यक्तित्व माथि लेखिएको लेखहरु यसमा समेटिएको छ ।


Author

थप समाचार
x