साहित्य

घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड

लेखराम सापकोटा |
बैशाख २२, २०८० शुक्रबार १७:२१ बजे

देवचुली । नवलपरासी पूर्वको देवचुली नगरपालिकामा घडियाल काव्य उत्सव- २०८० सुरु भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् नवलपरासीपूर्व-१ का संघीय सांसद डाक्टर शशांक कोइरालाले उत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद कोइरालाले घडियालको संरक्षण गर्नु नागरिक र सरकार दुवैको कर्तव्य भएको बताए ।


घडियालको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेकोे पनि कोइरालाले बताए । `पानी सफा राख्न र पानीका मुहान जोगाउन सबैले ध्यान दिनु जरुरी छ´, कोइरालाले भने । मानिसले दिनदिनै प्रकृतिलाई नास गर्दै गइरहेको हुँदा यो चिन्ताको विषय भएको कोइरालाले बताए । प्रकृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न कोइरालाले सबैलाई आग्रह पनि गरेका छन् ।

महेन्द्र राजमार्गको फारमबाट १ किलोमिटर दक्षिण नारायणी नदी किनारमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा शुक्रबार सुरु भएको उत्सव शनिबारसम्म चल्नेछ । ह्याप्पी एफएमको आयोजनामा गरिएको यो उत्सव दोस्रो शृङ्खला हो । पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको स्थानीय ह्याप्पी एफएमले विषयवस्तु र मुद्धालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण आयोजना गरेको हो । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सव-२०८० आयोजना गरिएको एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । यो उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ ।

घडियाल काव्य उत्सवको पहिलो दिन शुक्रबार `सङ्कटमा घडियाल : लोभदेखि लोपसम्म´, `वेग र भेगको दोसाँधमा नारायणी´, `शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा´, `चराचरमा चरा´, `नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता´ गरी ५ वटा कार्यक्रम भएका छन् ।

कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको छ । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको छ भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको छ ।

आकर्षक मञ्चमा पहिलो कार्यक्रम `संकटमा घडियाल : लोभदेखि लोपसम्म´ शीर्षकमा छलफल गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लूडब्लूएफ नेपालका नेपाल प्रमुख डाक्टर घनश्याम गुरुङ र पूर्व संरक्षण अधिकृत रामप्रित यादवसँग करुणासागर सुवेदीले छलफल चलाए । यो सेसनमा घडियाललाई लोप हुन नदिन पानी र वातावरण जोगाउनुका साथै यसको चोरीसिकारी हुन नदिने कुरामा जोड दिइएको थियो । 

त्यसैगरी दोस्रो सेसनमा `वेग र भेगको दोसाँधमा नारायणी´ शीर्षकमा छलफल भएको छ । पूर्वमन्त्री गणेश शाह, गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसँग खिमानन्द भुसालले बहस गरे । यो सेसनमा नारायणी किन साँघुरो हुँदै गयो, पानी किन सुक्न थाल्यो भन्ने विषयमा छलफल भएको थियो । त्यसैगरी तेस्रो कार्यक्रम अन्तर्गत `शिक्षाको संरक्षण की संरक्षणका लागि शिक्षा´ शीर्षकमा बहस भयो ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह र नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीसँग डाक्टर भूमिराज चापागाईंले बहस गरे । यो छलफल कार्यक्रममा वातावरणलाई कसरी जोगाउने र घडियालको संरक्षण कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो । पानीको संरक्षण र नागरिकको आनीबानीमा ध्यान दिन सकेमा वातावरणको संरक्षण हुने यो छलफलको सन्देश थियो ।

पहिलो दिनको चौंथो कार्यक्रममा `चराचरमा चरा´ शीर्षकमा छलफल भयो । बर्ड लाइफ इन्टरनेशनलका एसिया पार्टनरसिप म्यानेजर डाक्टर हुम गुरुङ, पंक्षी संरक्षण संघ नेपालका प्रोजेक्ट अफिसर देउबहादुर राना र संरक्षणकर्मी डिबि चौधरीसँग सुवास बस्ताकोटीले छलफल गरे । यो सेसनमा हाम्रो संस्कृति र जीवनसँग पनि चराको परस्पर सम्बन्ध रहेको बारेमा बहस भएको थियो । 

पहिलो दिनको अन्तिम कार्यक्रम अन्तर्गत `नवलपुर राष्ट्रिय निकुञ्ज : आवश्यकता की वाध्यता´ शीर्षकमा छलफल भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी र संरक्षणकर्मी विष्णुप्रसाद अधिकारीसँग पत्रकार नारायण शर्माले छलफल चलाए । निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीबासीले निकुञ्ज सम्बन्धित ससाना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयमा चर्चा गरिएको छ ।

उत्सवको दोस्रो दिन वैशाख २३ गते शनिबार `प्रकृतिसँग साहित्य´, `शिरको गाथा तीरको व्यथा´ र वैभवशाली देवचुली शीर्षकमा बहस तथा छलफलका कार्यक्रम हुनेछन् । शनिबार बिहान ८ बजे काव्य वाचनको कार्यक्रम पनि रहेको छ । काव्य वाचनमा गण्डकी प्रदेशसहित मध्यनेपालका १८ जना स्रस्टाले कविता वाचन गर्ने कार्यक्रम रहेको छ । उत्सव शनिबार सम्पन्न हुँदैछ । समापन कार्यक्रममा नवलपरासीपूर्वका ८ वटै पालिकाका सांस्कृतिक प्रस्तुतिहरू पनि राखिने कार्यक्रम संयोजक एवम् ह्याप्पी एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए ।


Author

थप समाचार
x