साहित्य

बा

मन्जु थापा ‘आनन्द’ |
फागुन २७, २०७९ शनिबार १७:२२ बजे

बा जिम्मेवारीले भरिएको सम्बन्ध हो । जसरी भवनको वजन खाबोले उठाउँछ त्यसरी नै परिवारको वजन बाले उठाउँछन् । पारिवारिक जिम्मेवारी पूरा गर्न सकिन भन्ने छुट छैन उनलाई । सके पनि नसके पनि पारिवारिक उत्तरदायित्व पूरा गर्छन् उनी । उत्तरदायित्वले सधै थिचिएका हुन्छन् सबै बाहरू । सानी बालिका हुँदा बाको छायाँ पनि संसारमा सबैभन्दा सुरक्षित ठाउँ थियो मेरा लागि । सबैभन्दा राम्रा र जिम्मेवार पुरुष उनी मेरा लागि । जब  पुरुष भन्ने शब्द सुन्थें बाको चित्र मेरो मानसपटलमा घुम्थ्यो । सोच्थें पुरुष भनेको मेरो बा जस्तै प्राणी हो । बाहिरबाट खरो तर औधी माया गर्ने, सुरक्षा गर्ने  । 

१२ वर्ष उमेरमा बाबुको छायाँ गुमाएर पारिवारिक जिम्मेवारीले घर छाडेका थिए बाले । भैरहवामा अहिले पवन ईन्टरनेशनल भएको अपोजिटमा एउटा ढाबा थियो रे । त्यही सुरुमा भाँडा माझ्ने काम पाएको रे उनले । आफू भन्दा ठूला, चिल्ला र आगोले डढेर कालो भएको भाडा माझ्नु पर्ने । हातखुट्टा त साबुन पानीले खाएर हेर्नै नहुने भएको थियो रे । चहराउने र पोल्ने त कति हो कति  । घर जाँदा हजुरआमाले रुँदै तेल र बेसार तताएर लगाइदिनु हुन्थ्यो रे । बालख छोरो नपठाई नहुने आमाको मन कति रुँदो हो । सम्पत्तिको नाममा २ छोरी र ३ छोराको लस्कर लगाएर गएका थिए हजुरबा । गहुँको हरियै बालो छोडाएर केटाकेटीको भोक मार्नुहुन्थ्यो रे हजुरआमाले । त्यो अभावको पीडा कति थियो होला एक्लो महिलालाई ।  कल्पना गर्दा पनि आँशु आउँछ । केही समय पछि बाको ईमानदारी देखेर पैसाको काउन्टरमा राखे रे साहुले  । त्यही काम गर्ने क्रममा चिनेको एक जना प्रहरी अधिकृतलाई दया लागेर प्रहरीमा जागिर लगाइदिएको रे । त्यतिकैमा बाको संघर्ष सकिँदैन । तालिममा जाँदा आफ्नो लत्ताकपडा र बिस्तरा लैजानु पर्थ्यो रे । एउटा लुगा सुके पछि लुगा फेर्ने बासङ्ग बिस्तरा त कहाँबाट हुनु । आज एउटा सङ्ग भोलि अर्कोसङ्ग जीउहजुरी गरेर सुत्थे रे । सधै अरुले के सुताउँथे र रु  पछि त भुईमै गुन्द्री ओछ्याएर सुत्न थाले  रे । प्रहरी तालिमको चाप र ताप अनि भुईंको सुताई बाको त पूरै शरिर सुन्नियो रे । पुलिसमा भर्ना भएको चार महिना पछि हजुरआमा तालिम केन्द्र पुग्नुभो रे छोरोलाई एउटा पुरानो डसना लिएर । त्यो डसना पाएपछि धेरै खुसी हुनु भो रे बा । अब भुईँमा सुत्नु पर्दैन भनेर र अरुलाई सुताउ भनी जीउहजुरी पनि गर्नु पर्दैन भनि । ५ कक्षा पढ्दा पढ्दै १२ वर्षको उमेरमा घर छोडेर होटेलमा  भाडा माझ्न हिडेको केटोदेखि प्रहरी अधिकृतसम्मको यात्रा सहज त पक्कै थिएन । तर भन्छन् नि त आँट म पुरयाउँछु भन्छन् रे देवताले । त्यस्तै भयो, बाले आँटे देवताले पुर्याइदिए । 


आज पनि सम्झन्छु मेरा बाले म र बैनीलाई साइकलमा पछाडि राखेर स्कुल लगेको । त्यसबेलाको फोनिक्स साइकलमा बाको पछाडि बस्दाको आनन्दलाई आजको बिएमडब्लूको सवारीले पनि  प्रतिस्पर्धा गर्न सक्दैन  । 

आज पनि सम्झन्छु मेरा बाले म र बैनीलाई साइकलमा पछाडि राखेर स्कुल लगेको । त्यसबेलाको फोनिक्स साइकलमा बाको पछाडि बस्नु सबै भन्दा रमाइलो सवारी, आजको बिएमडब्लूले पनि त्यो सवारीको प्रतिस्पर्धा गर्न सक्दैन  । शनिबारको दिन थियो आमाले मेरो टाउकोमा जुम्रा हेरेको देखेर पढ्ने केटाकेटीलाई कपाल सियार्न गाह्रो हुन्छ भने बाले । कपाल सियार्ने समयमा पनि पढ्नु पर्छ  है नानी भन्दै  पार्लरमा लिएर हिँडे । बैनी र मलाई फोनिक्स साइकलको पछाडि सिटमा राखेर कपाल काट्न लगेका थिए  । साना साना हामी दुवै एउटै सिटमा अटाउने । त्यसबेला बैनी अलि बाठी र नक्कली थिई । उ त साइकलबाट फाल हालेर भागी । म चाहिँ बाच्छो जस्तो थिए । साँझ घर आउदा म त पुरै केटो । एसएलसी दिने छोरीको कपाल देखेर आमा जिल्ल । सायद आफूले पढ्न नपाएर होला पढाइलाई निकै महत्व दिएको  बाले । त्यसताकाको परम्परागत महिलाभन्दा फरक आत्मविश्वासले भरिपूर्ण आत्मनिर्भर महिला रुपमा छोरीहरू देख्न चाहन्थे उनी । 

जीवनमा उमेरअनुसार कहिले सही त कहिले गलत गरिरहे । सही होस् या गलत बाले भनिरहे  छोरीको निर्णय मेरो निर्णय । मेरा बामा आपतकालीन स्थितिमा पनि परिस्थितिलाई व्यवस्थापन गर्न सक्ने क्षमता अथाह रहेछ । मलाई केही परे मेरा बा छन् नि जस्तो लाग्थ्यो सधैँभरी । मेरो आत्मविश्वास बाबाट पाएको बल हो । हरेको चोटलाई भुलेर शून्यबाट सुरु गर्न सक्ने क्षमता त्यही आत्मबल दिएको हो । बाबाट मैले जे जे पाएँ त्यो नपाएको भए सायद म जहाँ छु त्यहाँ हुने थिइन होला । 

कुनै समयका निकै व्यस्त रहने मेरा बा आजकल फुर्सदिला भएका छन् । हुर्काएका चार मध्ये तीन सन्तानलाई नेपालको बेरोजगारी समस्याले अष्टेलियाको पुर्याएको छ । बाँकी रहेँ म, रोजगारीको नाममा काठमाण्डौंले फुस्कनै नसक्ने गरी बाधेको छ । फुर्सदिला मेरा बा आजकाल हरेक बिहान खाना खाए पछि कालो कोटमा ढाका टोपी ढल्काउँदै तयार हुन्छन्  । कहाँ जाने उनलाई पनि थाहा छैन । खासै काम नै नभए पनि एक पटक बजार नपुगी छाड्दैनन् , कहिले आधा किलो गोलभेडा त कहिले बीस रुपियाँको धनिया लिने नाममा । एक जनाले छ जनाको परिवार पाल्नु पर्ने अनि शिक्षा दिक्षा खर्च , व्यस्तताले छोरा छोरीको अनुहार पनि राम्ररी हेर्न भ्याउने थिएनन् उनी । समयको खेल, आजकल छोरा छोरीसङ्ग फोन मै बोल्छु भन्दा पनि चाहेको बेला पाउदैनन् । पहिले बाको मुख हेर्न साझसम्म कुर्नु पर्थ्यो हामीलाई । धेरै साँझ त बाको मुख नदेखी बित्थे । आजकल उनी हाम्रो कार्यालय छुट्ने समय कुरी बस्छन् । कुटु कुटु मेसेन्जरमा कल हानिरहन्छन् । कहिले काहिँ त अष्टेलिया बस्नेलाई बिहानको २ बजे फोन हान्छन् । फोन उठायो तेतिकै फोन हानेको रे । उनको व्यवहार र अनुहारमा अपेक्षा देख्छु । आजकल एक बालकले ध्यान खोजे जस्तो गरी सबैको ध्यान खोज्छन् मेरा बा । बुझ्छु म, ४० वर्षसम्म छायाँ दिएको त्यो रुख आफैँलाई छायाँको आवश्यकता पर्दैछ । मलाई केही अफ्ठेरो परे मेरा बा छन् जस्तो लाग्थ्यो पहिले । एउटा उमेर पुगे पछि बालाई पनि छोराछोरी छन् नि भन्ने जस्तो लाग्दो रहेछ क्यारे । बाको हात सामाएर भन्ने मन छ ु ए बा१ पिर नगर म छु नि । तिम्रो हात समाएर ताते ताते गर्ने । तिम्रो खालीपनको औषधि बन्ने अनि तिम्रो बुढेउलीकी लौरी बन्ने ।

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् । 


 


Author

मन्जु थापा ‘आनन्द’

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।


थप समाचार
x