साहित्य

जंगबहादुर र अन्य प्रसङ्गसहितको किताब प्रकाशित

इकागज |
फागुन ११, २०७९ बिहीबार २१:२६ बजे

काठमाडौँ- नेपालको पहिला राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना बेलायती कूटनीतिज्ञ साथी ब्रायन हड्सनलाई भारतमा सन् १८७५ मा भएको सैनिक विद्रोहपछि लेखेको चिठी र अन्य इतिहासका प्रसङ्गसहितको किताब प्रकाशित भएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको उक्त किताबको नाम ‘तीन फरक विषय : फोकल्याण्ड युद्धका सिपाही, पहिलो विश्व युद्धका चिठी र उनै जंगबहादुर’ रहेको छ । किताबका पहिलो अध्यायमा फोकल्याण्ड युद्ध लडेका सिपाहीको युद्ध अनुभव रहेको छ जसमा शंकर राई, सुक्रिम राई, जंगबहादुर गुरुङ र अन्यले युद्धका कथा भनेका छन् । फोकल्याण्ड युद्ध लडेका शंकर राई युद्धको केही वर्षपछि बर्खास्तीमा परेका थिए ।


शंकर लगायत अन्य ११० जनालाई अनुशासन उल्लंघन गरेको आरोपमा बर्खास्त गरिएको थियो जसलाई ‘हवाई काण्ड’ भनिन्छ । सुक्रिम राईले अर्जेन्टीनामा विपक्षीलाई बन्दी बनाएका थिए ।

किताबको दोस्रो अध्यायमा पहिलो विश्व युद्ध लडेका नेपाली मूलका सिपाहीका चिठी रहेका छन् । चिठीमा उनीहरूले लडाइको बारेमा लेख्न नपाइने र आफूहरूले दु:ख पाएको लेखेका छन् । 

तेस्रो अध्यायमा जंगबहादुरका केही नयाँ प्रसङ्ग, उनको समयका केही चिठी पत्र र उनी आफैँले  लेखेका चिठी समेटिएका छन् । किताब श्रीभक्त खनाल र खेमराज रानाभाटले संयुक्त रूपमा लेखेका हुन् । लेखकद्वय बेलायतमा रहेका व्यावसायिक पत्रकार हुन् । दुवै जनाले नेपाल पत्रकार महासंघ बेलायत शाखाले प्रदान गर्ने ‘वर्ष पत्रकारिता पुरस्कार’ प्राप्त गरेका छन् । 

शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार किताबको केही समयपछि बेलायतमा एक कार्यक्रमका साथ लोकार्पण गरिने छ ।


Author

थप समाचार
x