साहित्य

बकैया कला–साहित्य महोत्सव सकियो, स्रष्टाहरू सम्मानित

इकागज |
फागुन १०, २०७९ बुधबार १९:४३ बजे

मकवानपुर । मकवानपुरको अग्रेणी साहित्य संस्था झरना साहित्य परिवारले आयोजना गरेको बकैया कला साहित्य महोत्सव सकिएको छ । 

महोत्सवको दोस्रो दिनका कार्यक्रमहरूमा स्रष्टा सम्मान, बकैया तथा बकैया बाहिरका विद्यार्थीहरूको रचना वाचन, चित्रकला प्रदर्शनी, जिल्लाभित्र तथा जिल्लाबाहिर छानिएका सर्जकहरूका गजल, कविता तथा मुक्तक वाचन, झरना पत्रिका विमोचन, बहस तथा विविध लोक सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेले बताए ।


महोत्सव अन्तरगत सम्मान तथा पुरस्कार वितरण अन्तरगत प्राध्यापक डाक्टर जीवेन्द्र देव गिरीलाई २१ हजार १२१ राशिसहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान समर्पित गरिएको छ । यसैगरी मकवानपुरे पत्रकार भानुभक्त आचार्यलाई ११ हजार १११ राशि सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता पुरस्कार समर्पण गरिएको छ । 

यस वर्षको खडानन्द–मनमाया प्रतिभा सम्मानबाट सिन्धुलीकी स्रष्टा अमला अधिकारीलाई सम्मान गरिएकाे छ। त्यस्तै सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट मकवानपुरे स्रष्टा अनिता न्यौपाने सम्मानित भइन् ।

मकवानपुर जिल्लामा साहित्य सेवा गरेबापत प्रदान गरिने सञ्जिवनी बुटी साहित्य सेवा पुरस्कार यस वर्ष बकैयाका कृष्णप्रसाद चौलागाईलाई प्रदान गरियो । यसैगरी यस वर्षको खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट ऋषि केबीलाई सम्मानित गरिएको छ । यी सम्मानहरूको राशि जनही ७ हजार ७७७ रहेको थियो । 

यसैगरी झरना साहित्यिक परिवार मकवानपुरद्वारा हरेक वर्ष प्रदान गरिने ५ हजार ५५५ राशि सहितको झरना बकैया नवप्रतिभा सम्मान यस वर्ष बकैयाकी उदीयमान कवि स्वस्तिका दाहाललाई प्रदान गरिएको छ । संस्थाद्वारा नै प्रदान गरिने झरना बकैया उत्कृष्ट विद्यालय सम्मान यस वर्ष पनि महेन्द्र मावि, छतिवनलाई प्रदान गरिएको छ ।

संस्थाद्वारा नै प्रदान गरिने झरना बकैया सिर्जनशील शिक्षक सम्मान यस वर्ष प्रभात मावि, श्रीपुरका शिक्षक कुमार स्याङ्बोलाई प्रदान गरिएको सचिव लामिछानेले बताए ।

कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले स्थानीय स्तरमा देखिएका विविध खालका समस्याहरूको समाधान खोज्नका लागि पनि साहित्यिक गतिविधिहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।


Author

थप समाचार
x