साहित्य

चाैतारामा जम्याे मुक्तक महफिल, श्रेष्ठलाई सिन्धुका ‘मुक्तक सम्राट’ उपाधि

इकागज |
फागुन ७, २०७९ आइतबार २०:३२ बजे

सिन्धुपाल्चोक- जिन्दगी शीत हो कर्कलामा टल्कने
जिन्दगी गीत हो हृदयभरी घन्कने
ज्यूँदै मर्ने लाछीहरूलाई के थाहा
जिन्दगी ज्वाला हो छातीभरि सल्कने

याे मुक्तक वाचन गरे सिन्धुपाल्चोककाे चाैतारा सांगाचाेकषढी नगरपालिका-५ का निवर्तमान अध्यक्ष नरमान श्रेष्ठले । वाचनसँगै उद्घाटन भयाे मुक्तक महफिल तथा सम्मान कार्यक्रम ।

मुक्तकका रचयिता थिए स्रष्टा जीवन श्रेष्ठ । जसले सिन्धुपाल्चोकमा इतिहास रचेका छन् कि जिल्लाकै पहिलाे मुक्तक संग्रह प्रकाशन गर्ने स्रष्टा बनेर । साहित्यकाे उपविधा मुक्तककाे संग्रह प्रकाशित गर्ने उनी जिल्लाकै पहिलाे स्रष्टा हुन् । उनले तीन दशकअघि झरेका फूलहरू नामक संग्रह पाठकसामू ल्याएका थिए ।
जिल्लाकै पहिलाे मुक्तक संग्रहमा संग्रहित भएर मात्रै उनकाे मुक्तक वाचन गरेर कार्यक्रम उद्घाटन गरिएकाे हैन । यही कार्यक्रममा उनै स्रष्टा श्रेष्ठ सम्मानितसमेत हुने कार्यक्रम थियाे ।​


कार्यक्रमकाे चाँजोपाँजो मिलाएकाे थियाे शब्द सारथिले । जसले हरेक हप्ता सिन्धुपाल्चोकमा नियमित सुन्ने सुनाउने शृंखला गर्दै आएकाे छ ।

 प्रजातन्त्र दिवसको अवसरमा आइतबार सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाकक्षमा भएको कार्यक्रममा ६ मुक्तककारको ७२ वटा मुक्तकले मेहफिल गुञ्जियमान भयो । मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाको सहकार्यमा गरिएको सो मुक्तक मेहफिलमा मुक्तककार अमित घिमिरे, सुन्दर शिरीष, रमेश श्रेष्ठ, हेमन प्रधान, ऋषिराम अपवाद र केशव आशुतोषले मुक्तक वाचन गरे । विजय नेपालले सुत्राधार गरेको मेहफिलको पहिलो चरणमा ६ मुक्तककारले ५/५ वटा मुक्तक वाचन गरे । दोस्रो चरणमा ४/४ वटा र तेस्रो चरणमा ३/३ वटा मुक्तक वाचन गरी मेहफिललाई रौनकता प्रदान गरेका थिए ।

कार्यक्रममा सिन्धुपाल्चोकको पहिलो मुक्तक कृतिकार जीवन श्रेष्ठलाई ‘मुक्तक स्रमाट’ उपाधिद्वारा सम्मान गरिएको थियो । सिन्धुको पहिलो मुक्तक संग्रह झरेका फूलहरू वि.सं. २०५३ सालमा प्रकाशन भएको थियो । मुक्तकको पहिलो कृति प्रकाशन गरी सिन्धु साहित्यलाई थप उचाइमा पुर्‍याउन योगदान पुर्‍याएवापत श्रेष्ठलाई ‘गजल स्रमाट ! उपाधिद्वारा सम्मान गरिएको शब्द–सारथिले जनाएको छ । सम्मानपछि श्रेष्ठले आफ्नो मुक्तक संग्रहबाट पाँच वटा मुक्तक वाचन गरेका थिए ।

मेहफिलको अवसरमा मुक्तक मञ्च सिन्धुपाल्चोक शाखाका अध्यक्ष सुन्दर शिरीषले ‘मुक्तकमा सिन्धु’ नामक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा को पहिलो खण्डमा कवि दील कार्की, इसान घिमिरे, निर्मल बस्नेतलगायतले सिर्जना वाचन गरेका थिए । मुक्तक मेहफिलपछि कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–५ का पूर्व वडाध्यक्ष नरमान श्रेष्ठले मेहफिलमा वाचन गरेको मुक्तकहरू चोटिलो हुनुका साथै समाजलाई सही गन्तव्य देखाउन प्रेरित रहेको बताए ।

‘मुक्तकले मनोरञ्जन मात्र प्रदान गरेको छैन समाज विकास, राजनीतिज्ञलाई सच्चिन आग्रह, बेरोजगारीको पीडा, विदेशिनुको पीडा, प्रेम, राज्य सञ्चालन पद्धतिप्रति व्यङ्गजस्ता कुरालाई प्रस्तुत भयो,' उनले भने, ‘यो प्रहारले पक्कै सकारात्मक प्रवाह ल्याउने छ ।’

शब्द–सारथिको स्थापनाकालदेखि नै आफू कुनै न कुनै रूपमा संलग्न रहेको बताउँदै श्रेष्ठले शब्द–सारथिले सिन्धुपाल्चोकको साहित्य क्षेत्रमा विशेष योगदान पुर्‍याएको उल्लेख गरे । ‘विभिन्न विसंगतिविरुद्ध सडक कविता वाचन, राष्ट्रिय/अन्तर्राष्ट्रिय साहित्य यात्रामार्फत जिल्लाको प्रचार प्रसार, राष्ट्रिय स्तरको प्रतियोगिता, विद्यार्थीसँग सिर्जना साटफेरजस्ता कार्यक्रम गरी साहित्यको उच्चतम विकास गर्न शब्द–सारथि लागिरहेको पाएको छु,' श्रेष्ठले भने, ‘यस्ता कार्यक्रमले जिल्लाको कला, साहित्य, संस्कृति प्रवर्द्धनमा विशेष भूमिका खेल्छ ।’

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले सहयोग गरेको कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यपालिका सदस्य एवम् वडा नं. ५ को वडा सदस्य सानुमाया गुरुङ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजार सिं तामाङ, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकका अध्यक्ष निर्मल बस्नेतलगायतले शुभकामना व्यक्त गरे ।

कार्यक्रमकै बीच चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ वडास्तरीय बाल सञ्जालले प्रकाशन गरेको स्मारिका ‘कर्णधार’को विमोचन गरिएको थियो । प्रमुख अतिथि नरमान श्रेष्ठले स्मारिकाको विमोचन गरेका थिए । त्यस्तै कार्यक्रममा मेहफिल सफल बनाउन विशेष योगदान पुर्‍याएको भन्दै पूर्व वडा अध्यक्ष नरमान श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, कञ्चन स्मृति ग्राम पुस्तकालय, प्रगतिशील लेखक संघ सिन्धुपाल्चोक र मेहफिलका सुत्राधार विजय नेपाललाई मायाको चिनो प्रदान गरिएको थियो ।

स्रष्टा, सारथि, साहित्यनुरागी, बुद्धिजीवि, सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई समापन गर्दै शब्द–सारथिका अध्यक्ष अमित घिमिरेले साहित्यको उन्नयनका लागि संस्थाले स्थापनादेखि नै केही न केही काम गरिरहेको बताए । ‘साहित्यलाई अनुत्पादक क्षेत्रका रूपमा लिइने गरेता पनि साहित्य राज्यको एउटा अभिन्न अंग हो भन्ने कुरालाई संस्थाले उजागर गर्दै आइरहेको छ,' उनले भने, ‘यो मेहफिलको आयोजना गरी एउटा मूर्धन्य स्रष्टालाई सम्मान गर्न पाउनु हाम्रो गौरवको कुरा हो ।’

अध्यक्ष घिमिरेले कार्यक्रमलाई सफल बनाउन जुट्ने वडा कार्यालय, विभिन्न संघसंस्था, विभिन्न व्यक्तित्व, सञ्चार क्षेत्रलाई विशेष धन्यवाद व्यक्त गरे ।


Author

थप समाचार
x