साहित्य

पुस्तक प्रदर्शनी : के भन्छन् पाठक, के भन्छ साझा ?

सदिक्षा आचार्य |
पुस २४, २०७९ आइतबार १४:२२ बजे

काठमाडाैं ।

-नयाँबजारमा व्यापार गर्ने मिलन भट्ट फुर्सद पाउनासाथ पुस्तक पढ्छन् । पुस्तकले उनलाई पढ्ने लत बसाएको छ । उनी लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, माधव घिमिरेका सबै पुस्तक पढेको सुनाउँछन् । संसार बुझ्न पढ्नुपर्ने उनको तर्क छ ।


-अध्ययनको सिलसिलामा काठमाडौं छिरेकी ताप्लेजुङकी यमुना गौतम पनि ‘किताबको किरो’ नै हुन् । उनी बजारमा आएका नयाँ पुस्तक सकेसम्म छुटाउँदिनन् । कविता, उपन्यासका पुस्तक उनी रुचिसाथ पढ्छिन् ।

-ममता मृदुल गोरखापत्र संस्थानमा कार्यरत छिन् । अध्ययनमा निकै चासो राख्ने उनी फुर्सदमा पढ्न नै रुचाउँछिन् । अध्ययनको विषयमा उनको फरक दृष्टिकोण छ । पुस्तक मात्रै नभई समाजिक सञ्जालबाट पनि ज्ञान लिन सकिने र त्यो पनि अध्ययन नै भएकोे उनको तर्क छ ।

-प्रगति राई आफैँमा लेखक हुन् । पुस्तक नपढ्नै कुरै भएन । किताबका कुरा हुँदा निकै राम्रो हुने, पठन संस्कारको सोचे जस्तो विकास हुन सक्ने उनको बुझाइ छ । आफ्नो खाली समयको सदुपयोग गरे राम्रो हुने उनको ठम्याइ छ । 

शुक्रबार दिउँसो करिब दुई बजे ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनमा पुस्तकहरूको चाङ थियो, जहाँ पाठकहरू झुम्मिरहेका थिए । उनीहरू पुस्तक ओल्ट्याई पोल्ट्याई हेरिरहेका थिए भने पुस्तक किनिरहेका थिए । पुस्तकप्रेमीहरू थिए, त्यहाँ । त्यही किताब पढ्नेहरूको भिडमा भेटिएका हुन् मिलन भट्ट, प्रगति राई, ममता मृदुल र यमुना गौतम ।

यहाँ बृहत् पुस्तक प्रर्दशनी चलिरहेको छ । 

 

व्यापारी मिलन भट्ट पुस्तक किन्नकै लागि पुल्चोकको साझा प्रकाशन आएका हुन् । पुस्तक पढ्न निकै मन पराउने भट्ट समाचारका आधारमा एक रुपैयाँ, तीन रुपैयाँमा पुस्तक पाइने कुरा रोचक लागेर त्यहाँ आएको बताउँछन् । लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, माधव घिमिरेका पुस्तक उनको रोजाइमा परेका छन् । आफूजस्ता युवाहरूलाई सामाजिक सञ्जाल, टिकटकमा घोरिनुभन्दा, भाइरल हुन लाग्नुभन्दा अध्ययनमा लागेर सक्षम हुनुपर्ने उनी बताउँछन् । ‘कसैको जीवनका भोगाइ एक बसाइमा पढेर सकिन्छ, इतिहास, संसार बुझ्न त पुस्तक पढ्नैपर्छ,’ उनी भन्छन् ।

त्यस्तै प्रगति राई औपचारिक पढाइ सकिए पनि पुस्तक मोह नसकिने बताउँछिन् । प्रायःजसो सबै पुस्तक प्रदर्शनीहरूमा राई जाने गर्छिन् । उनका रोजाइमा कम्युनिस्ट मेनुफेस्टो, आख्यान विमर्श आदि परेका छन् । वास्तवमा पुस्तक प्रदर्शनीहरू त्यति प्रभावकारी नभएको उनको बुझाइ छ । नेपालीहरू प्रायः भेट हुँदा अरुकै कुरा गरेर बस्ने गरेको उनले देखेकी छिन् । उनका विचारमा कुरामा पनि किताबका कुरा हुँदा निकै राम्रो हुने, पठन संस्कारको सोचे जस्तो विकास हुन सक्ने उनको बुझाइ छ । आफ्नो खाली समयको सदुपयोग गरे राम्रो हुने उनको ठम्याइ छ । 

त्यस्तै गोरखापत्र संस्थानमा कार्यरत ममता मृदुलको अध्ययनका विषयमा फरक दृष्टिकोण छ । पुस्तक मात्रै नभएर सामाजिक सञ्जालबाट पनि ज्ञान आर्जन गर्न सकिने उनको बुझाइ छ । कार्टुनमार्फत पनि साना बच्चाहरूले रामायण, महाभारत नै जानेका छन् ।

त्यसैगरी अध्ययनको सिलसिलामा काठमाडौं आएकी ताप्लेजुङकी यमुना गौतम पनि पुस्तक पढ्न निकै रुचाउँछिन् । उनले सामाजिक सञ्जालबाटै बृहत् पुस्तक प्रदर्शनीबारे थाहा पाएर पुस्तक किन्न आएको बताइन् । १५ वटा पुस्तक छानिसकेकी गौतमले खाली समयमा पढ्न उपयुक्त हुने साहित्य सिर्जनाहरू जस्तै उपन्यास, कविता आदि रोजेकी थिइन् ।

यी चार प्रतिनिधि पात्र हुन्, पुस्तक प्रदर्शनीमा किताब किन्न आएका ।

पुस १७ देखि चलिरहेको प्रर्दशनीमा साझा प्रकाशनका पुराना, नयाँ तथा अन्य प्रकाशनका पुस्तकसमेत राखिएका छन् । साझा प्रकाशनका देशभरिका सबै बिक्री केन्द्रहरूमा २५ देखि ८० प्रतिशतसम्म छुटका साथ पुस्तक बिक्रीमा राखिएको छ । ३० गतेसम्म चल्ने पुस्तक प्रर्दशनीमा हालसम्म साझाका ‘रिप्रिन्ट’ नै बढी बिक्री भएको साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोखरेलले जानकारी गराए ।

पोखरेलका अनुसार सामाजिक विषयका पुस्तक बढी मात्रामा बिक्री भएका छन् । लेखनाथ पौड्याल, तारानाथ शर्मा जनकलाल शर्मा, नारायण ढकाल, बीपी कोइरालाका पुस्तक अधिक बिक्री भएका छन् । उनी भन्छन्, ‘ठ्याक्कै यही पुस्तकभन्दा पनि समग्रमा सामाजिक विषयवस्तुका पुस्तक धेरै नै बिक्री भएका छन् ।’ नेपाल एकेडेमीका, नेपाल एसियाली अध्ययन संस्थान (सिनास)का पुस्तक पनि बिक्रीमा छन् । भिन्नै प्रकाशनमा छापेर साझालाई बिक्री गर्न दिएका पुस्तक पनि प्रदर्शनीमा छन् । 

पुस्तक मोह र पाठक कम भएका हुन् कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘पाठकहरू त्यति कम पनि होइनन् र पहिले भन्दा बढी पनि होइनन् ।’ त्यसो त त्यहाँ त्यति धेरै चहलपहल पनि देखिँदैनथ्यो । भन्छन्, ‘पढ्नेहरूको रफतार लगभग उस्तैउस्तै छ । घट्दो छैन । साझा प्रकाशनको इतिहासमा सबैभन्दा ठूलो पुस्तक गत वर्ष मात्रै छापेको उनी बताउँछन् । उक्त पुस्तक ‘व्युत्पत्तिमूलक संस्कृत नेपाली शब्दकोश’ जुन १४ सय २२ पृष्ठको छ । अर्को अनूदित कृति ‘महाभारत’ दुई भागमा नौ-नौ सय पृष्ठमा छापिएको बताउँछन् । भन्छन्, ‘समालोचनाका पुस्तक छापेका छौँ । प्रायः बजारमा सकिएका पुस्तकलाई बढी प्राथमिकताका साथ छापेका छौँ ।’ 

पठन संस्कृतिको विकास हुने कुरालाई त पाठकहरूकै हातमा छोडेको उनको भनाइ छ । उनका अनुसार साझाले पुस्तक प्रदर्शनीलाई व्यावहारिक बनाउने प्रयत्न गरेको छ । नयाँ वर्षको सुरुवात हुनासाथ हामीले प्रदर्शन गरेका छौँ उनी भन्छन्, ‘उत्साहजनक कारोबार भयो, करिब करिब ४८ लाख रुपैयाँको कारोबार भयो, त्यो दुई हप्तामा ।’ उनका अनुसार तीन महिनाको अन्तरालमा भदौको पुस्तक प्रदर्शनीमा २८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

साझाका सूचना अधिकारी भेषराज घिमिरेका अनुसार पाठकका लागि धेरै सस्तो रुपैयाँमा ३, ७, १२ रुपैयाँमा पनि किताब किन्न पाइन्छ । गैरआख्यान–आख्यान सबै किसिमका पुस्तक उपलब्ध भएको घिमिरे बताउँछन् । साझा प्रकाशनका २२ सय विधाका पुस्तकमा ३ सय पुस्तक सदाबहार जाने गरेको उनको अनुभव छ । 
२०५२ सालदेखि साझामा आबद्ध गणेश पुलामीका अनुसार उनी प्रायः सबैजसो पुस्तक प्रदर्शनीमा स्टलमा हुन्छन् । उपन्यास, कविताका पुस्तकहरू बढी बिक्री हुने गरेको उनको अनुभव छ । पुस्तक प्रदर्शनीमा युवाहरूको बाक्लै उपस्थिति रहेको उनी बताउँछन् । बिहिबार मात्रै ९४ हजार रुपैयाँ बराबरको पुस्तक बिक्री भएको उनी बताउँछन् ।

त्यसैगरी साझा प्रकाशनका कर्मचारी सुशील अधिकारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले ७० वर्ष लगाएर लेख्नुभएको ‘ऋतंभरा’ महाकाव्य निकै बिक्री भइरहेको बताउँछन् । यो सँगसँगै ‘डोल्पो ओ डोल्पो’, ‘सन्धि र शताब्दी’, पारिजात, लक्ष्मीप्रसाद देवकोटाका सदाबहार, रमेश विकल, जनकलाल शर्माका कृतिहरू सधैँ बिक्ने पुस्तकमा पर्छन् । अधिकारीले साझाका प्रत्येक पुस्तकमा इतिहास जोडिएको बताए । साझाका धेरैजसो किताबमा टेकवीर मुखियाले चित्र बनाएका छन् । 


 

 


Author

थप समाचार
x