साहित्य

छुदेन काबिमोको ‘फातसुङ’ जेसीबी प्राइजको अन्तिम पाँचमा

इकागज |
कात्तिक ११, २०७९ शुक्रबार १४:३४ बजे

काठमाडौँ- छुदेन काबिमो लिखित उपन्यास ‘फातसुङ’को अंग्रेजी अनुवाद ‘सङ अफ दि सोइल’ भारतको प्रतिष्ठित पुरस्कार जेसीबी प्राइजको अन्तिम पाँचमा परेको छ । ​जेसीबी प्राइज फर लिटरेचरले शुक्रबार ग्लेनबर्न पेन्टहाउस, कोलकातामा लेखक, अनुवादक र सहरका साहित्यिक समुदायको भेलामा सन् २०२२का  सर्टलिस्टेड ५ पुस्तकको घोषणा गरेको हो ।  जेसीबी प्राइज फर लिटरेचर प्रत्येक वर्ष भारतीय लेखकद्वारा लिखित पुस्तकलाई प्रदान गरिन्छ । कोलकातामा शुक्रबार भएको कार्यक्रममा निर्णायक अध्यक्ष एएस पनिरसेलवानले सर्टलिस्टको अनावरण गरेका हुन् ।

छनोटमा परेका उपन्यासहरू उर्दू, हिन्दी, बंगला, मलयालम र नेपाली भाषाका छन् । अन्तिम सूचीमा अटाएका पुस्तक विभिन्न भाषाबाट अनुदित भएका हुन् जसमध्ये २ जनाले पहिलोपल्ट यो सूचीमा ठाउँ बनाएका हुन् । अन्तिम सूचीको अनावरण पछि, जयन्त कृपलानी, परमिता साहा र सन्दिप रोयले सर्टलिस्ट गरिएका शीर्षकहरूका अंशहरू पढेका थिए । 


सूचीमा मनोरञ्जन व्यापारी लिखित ‘इमान’, ‘खालिद जावेद’ लिखित ‘प्याराडाइज अफ फुड’, शिला टोमी लिखित ‘भल्ली’, गीताञ्जली श्री लिखित ‘टम्ब अफ स्यान्ड’ र छुदेन काबिमो लिखित ‘फातसुङ’ छन् । ‘फातसुङ’ लाई अजित बरालले ‘सङ अफ सोइल’ शीर्षकमा नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका थिए ।

सन् २०१८ मा स्थापना भएको यो पुरस्कार अंग्रेजी भाषामा लेखिएका कृतिलाई प्रदान गरिँदै आएको छ । आयोजकले पहिलो चरणमा लामो सूची सार्वजनिक गरेको थियो । यसमा ‘सङ अफ दि सोइल’बाहेक बाँकी ९ पुस्तक समावेश थिए ।यो पुरस्कारको राशि २५ लाख भारतीय रुपैँया रहेको छ । गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा लेखिएको उपन्यासले असफल आन्दोलनले बिचल्ली पारेको सपनाको कथा प्रस्तुत गर्छ । पुस्तकलाई नेपालमा फाइनप्रिन्टले प्रकाशन गरेको हो ।


Author

थप समाचार
x