अनियमितता

५३ लाख हिनामिना गर्ने वडासचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

इकागज |
माघ १४, २०७८ शुक्रबार १५:७ बजे

फाइल फोटो

काठमाडौँ : सामाजिक सुरक्षा भत्ता र राजस्व रकम हिनामिना अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोट पञ्चकन्या गाउँपालिका–०२ का वडासचिवसहित ३ जनाविरुद्ध ५३ लाख १ हजार ८ सय ५६ बिगो कायम गरि भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

वडा सचिव सरिता राउत, रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोग लगाउँदै शुक्रबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।


गतवर्ष चैत २४ मा रातको समयमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न ल्याएको रकम र संकलित राजस्व रकम हराएको थियो । त्यसरी शंकास्पद रुपमा हराएपछि आयोगले अनुसन्धान गरी ‘हिनामिना’ भएको ठहर गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार, उक्त रकम राखिएको दराजको सेफको साचो सरिता राउत र रामकुमार गिरीसँग रहेको एवं ढोकाको साचो निलप्रसाद मिश्रले बोकेका थिए । तर, ताल्चा लगाएको ठाउँमा कुनै तोडफोड भएको नदेखिएको, सुरक्षा निकायलाई जानकारी नगराएको साथै सुरक्षाका लागि समन्वयसमेत गरेको देखिएन ।

वडा कार्यालयमा रकम राखी घर गएको देखिएको हुँदा राउत, गिरी र मिश्रले नेपाल सरकारको सम्पत्तिको बदनियत गरी हानिनोक्सानी गरेको अभियोग आयोगले लगाएको हो । तीनै जनाबाट उक्त रकम असुल हुनुपर्ने माग आयोगको छ ।
 


Author

थप समाचार
x