अनियमितता

अर्थका ‘रिटायर्ड’ शाखा अधिकृतविरुद्ध १ करोड ६४ लाख बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा

इकागज |
मंसिर २३, २०७८ बिहीबार १६:२ बजे

फाइल फोटो

काठमाडौँ - भ्रष्टाचारजन्य क्रियाकलाप गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका अवकास प्राप्त शाखा अधिकृत उद्ववप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार ७ सय रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ । 

अख्तियारले लामो समयदेखि सरकारी सुविधाभोगीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध मुद्दा चलाएको थिएन । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रियकै दिवसका दिन आज अवकाश प्राप्त अर्थ अधिकृत थपलियाविरुद्ध विशेष अदातलमा मुद्दा दर्ता गरेको हो । 


थपलिया २०४० फागुन गते सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०७५ चैत ३० सम्म सरकारी सेवामा थिए । उनको सेवावधिमा आर्जित सम्पत्ति जाँच गर्दा स्रोत प्रमाणित हुन नसकेको सम्पत्तिलाई भ्रष्टाचारजन्य कर्मबाट आर्जन गरेको दाबी अख्तियारको छ । 

आयोगका अनुसार, थपलियासँग २ करोड ६७ लाख ७१ हजार ९ सय ५८ रुपैयाँ सम्पत्ति भेटिएको थियो । आयोगले १ करोड २ लाख ८२ हजार २ सय ५८ रुपैयाँ सम्पत्ति मात्र वैध भएको ठहर छ । उनीसँग भएको स्रोत खुल्न नसकेको सम्पत्ति भ्रष्टाचारजन्य कर्मबाट आर्जित भएको दाबीसहित जफत माग आयोगको छ । 

उनकी श्रीमती मुना पन्तको नाममा भएको सम्पत्तिको स्रोत खुल्न नसकेको दावीसहित प्रतिवादी बनाउँदै मुद्दा चलाएको छ ।
 


Author

थप समाचार
x