अनियमितता

८० हजार घुस लिएको आराेपमा बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इकागज |
पुस २४, २०८० मंगलबार १४:२२ बजे

काठमाडौँ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठ नगरपालिकाका सव–इन्जिनियर टिकाराज राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सव – इन्जिनियर राईलाई सेवाग्राहीसँग ८० हजार घुस लिएको आरोपमा आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले ८० हजार घुस लिइसकेको अवस्थामा उक्त रकमसहित  गत मंसिर १४ गते नियन्त्रणमा लिइएको थियो ।


राईले ठेकेदार रामचन्द्र सुनुवारसँगको आपसी मिलोमतो गरी निर्माण भएको घरको नक्सा संशोधन गरी घर निर्माण सम्पन्न प्रमाणपत्र उपलब्ध गराउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस ८० हजार मागेको पुष्टि भएको आयोगले जानकारी दिएको छ । 

आयोगले सव–इन्जिनियर राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो  ८० हजार रूपैयाँ र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गर्न माग गरेको छ । 

ठेकेदार सुनुवारलाई सोही ऐन अनुसार जरिवाना र राईलाई गर्ने सजायको आधा सजाय गर्न माग आयोगले अदालत समक्ष गरेको छ । 
 


Author

थप समाचार
x