अनियमितता

इन्जिनियर डाँगीले आफूसँग भएको रकमको स्रोत खुलाउन नसक्दा...

इकागज |
साउन १२, २०७९ बिहीबार १५:३१ बजे

काठमाडौं– मोटरबाटो निर्माण उपभोक्ता समितिसँग घूस लिएको अभियोगमा गंगादेव गाउँपालिका, रोल्पामा प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगले बिहीबार डाँगीविरुद्ध ४ लाख ६ हजार ५ सय रुपैयाँ घूस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । तर आयोगले डाँगीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा २०७९ असार २४ मा नियन्त्रणमा लिएको थियो । 


अनुसन्धानका अनुसन्धानको सिलसिलामा खानतलासी गर्दा इन्जिनियर डाँगीबाट ३ लाख ५६ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो । घूस रकम ५० हजारसमेत गरी ४ लाख ६ हजार ५ सय विगो कायम गरी मुद्धा गरिएको हो ।

आयोगका अनुसार, बरामद रकमको श्रोत खुलाउने बस्तुनिष्ठ प्रमाण पेश गर्न नसकेकाले उक्त रकम डाँगीले सेवाग्राहीहरुबाट घुस÷रिसवतवापत लिएको देखिन्छ । उक्त रकम घूस भएको जिकीरसहित आयोगले जफतको माग दाबीसहित मुद्दा दर्ता गरेको हो ।

रोल्पाको गंगादेव गाउँपालिका मोटरबाटो निर्माण उपभोक्ता समितिले निर्माण गरेको मोटरबाटोको नापी किताव तयार गरी अन्तिम भुक्तानीको लागि फाइल पेश गरी दिने प्रयोजनार्थ सेवाग्राहीबाट घूस लिएको दाबी आयोगको छ ।
 


Author

थप समाचार
x