अनियमितता

रंगशालाको स्तरोन्नतिमा भ्रष्टाचार गरेको अभियोगमा अध्यक्षसहित पदाधिकारी, इन्जिनियर, ठेकेदारविरुद्ध मुद्दा

इकागज |
असार २९, २०७९ बुधबार १८:३८ बजे

काठमाडौँ- खेलकुद रंगशालाको स्तरोन्नतिमा भ्रष्टाचार गरेको अभियोगमा जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्षसहित पदाधिकारी, इन्जिनियर, ठेकेदारहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले सप्तरीको राज रंगशालाको स्तरोन्नतिमा भ्रष्टाचार गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको हो ।

निर्धारित शर्त तथा मापदण्डविपरीत कार्य गर्नेलाई गुणस्तर युक्त र मापदण्ड बमोजिम भएको प्रमाणित गरेको अभियोगमा सप्तरी जिल्लाका तत्कालीन खेलकुद अध्यक्ष एजेट न्यासुरलाई १३ लाख २७ हजार ४ सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । त्यस अतिरिक्त तत्कालीन इन्जिनियर विकास श्रेष्ठलाई अध्यक्ष न्यासुर बराबरकै बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ ।


आयोगका अनुसार फिल्डमा कम काम भएकामा बढी काम भएको नापी किताबमा मूल्यांकन गरी चढाउने कार्यलाई ठीक भएको भनी स्वीकृति दिएको, कामै पूरा नभएको कामलाई सम्पन्न प्रतिवेदन दिएकाे आराेप छ ।

यस्तै पेस्की फर्छ्योट नगरी हिनामिना गरेको अभियोगमा खेलकुदकै उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध २ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा चलाएको छ । मापदण्डविपरीत कामलाई गुणस्तरीय ठहर्‍याउने तत्कालीन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवलाई ७ लाख ५७ हजार ६ सय २० रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको छ ।

उक्त राज रंगशाला ठेक्कामा संलग्न उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठविरुद्ध १० लाख ६३ हजार ९ सय ६२ रुपैयाँ र न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालक भीमराज यादवविरुद्ध २ लाख ६३ हजार ४ सय ६८ रुपैयाँको भ्रष्टाचार मुद्दा लगाइएको छ । उनीहरुले सम्झौता विपरीत गुणस्तरहीन काम गरी भुक्तानी लिएको आयाेगकाे जिकिर छ ।


Author

थप समाचार
x