वार्ता

कवि/गीतकार दिनेश अधिकारीसँग जीवन–वार्ता

पैसा तिरेर गीत रेकर्ड गर्न सक्दिनँ, फिल्ममा त गीत दिन्‍नँ

लेखन मेरो व्यवसाय होइन

दिनेश अधिकारी कवितागीतको क्षेत्रमा स्थापित र चर्चित नाम हो । कविता लेखेर प्रतिष्ठित मदन पुरस्कारदेखि साझा पुरस्कारसम्म प्राप्त गरेका उनका आधा हजार हाराहारीमा गीत रेकर्ड भएका छन् । मायाप्रेम र माटोप्रेम, उनका दुवै थरी गीत चर्चित छन् । फिल्ममा पनि थुप्रै गीत लेखेका उनी अचेल भने फिल्मका लागि गीत नलेख्‍ने/नदिने भनेर बसेका छन् । बरु उनी अब आफ्ना केही गीत र कविताको कथा लिएर आउँदै छन् । पढ्नुहोस्, उनै दिनेश अधिकारीसँग विमल आचार्य, अनिष भट्टराईआधारबाबु खतिवडाले गरेको संवाद :

‘कविताको कथा, गीतको कथा’ कस्तो किताब हो ? 
किताबमा कविता र गीतको रचना प्रक्रिया के हुन सक्छ, कविताप्रति मेरो दृष्टिकोण के हो भन्‍ने आउँछ । घटना सुनाउँछु पहिला– एक वर्षअघि ‘नागरिक’मा मेरा केही गीतबारे भनिदिनु भनेर नेमिष गौतम भाइले भन्‍नुभयो । लेख्‍नुभयो, लेख्दा कति छुटे, कति पुगेन । त्यस बेलुका भुवन ढुंगाना (मेरो गुरुआमा, जसले मलाई ल क्याम्पसमा अंग्रेजी पढाउनुभयो) ले मलाई फोन गर्नुभयो । दिनेशजी नै भन्‍नुहुन्छ, मलाई उहाँले । ‘दिनेशजी तपाईंका रचनागर्भबारे लेखिएको लेख पढेँ मैले । रमाइलो त लाग्यो तर त्यो तपाईं आफैं लेखेको भए बढ्ता राम्रो हुन्थ्यो,’ भन्‍नुभयो । 


मैले पछि के महसुस गरेँ भने कहिले कुन पत्रिकामा भनिन्छ । त्यो सञ्चारित हुँदा कुराहरू फरक परिरहेको हुन्छ । देखाएर छापौं भन्‍ने हाम्रो परिपाटी प्राय: छैन । ‘अनि यस्तो भएछ नि’ भन्दा, ‘अँ मैले त्यहीँ बुझेँ’ भनिदिन्छन् । ‘अनि यो काटिएछ नि’ भन्यो भने, ‘उम स्पेस पुगेन’ भनिदिन्छन् । अनि मसँग भन्‍न केही बाँकी रहँदैन । त्यो महसुस भएपछि मैले कसरी सोचेँ भने, एउटा कविको जीवनयात्रा हो । सिर्जनाले पनि त यात्रा तय गर्छ । सिर्जनाको आयु मेरो भन्दा लामो छ, मैले सिर्जनाको जीवनबारे लेख्‍न त सक्दिनँ । तर मैले कमसेकम अहिलेसम्म गरेको यात्राको साक्षी भएर लेख्‍न त सक्छु नि भन्‍ने महसुस गरेँ । यही कन्सेप्टमा मेरा केही चर्चित कविता, गीत, मेरा केही दृष्टिकोण, अरु मानिसका विचार, प्रतिक्रिया सबै समेटेर एउटा किताब निकाल्दै छु । ‘कविताको कथा, गीतको कथा’ किताब निकाल्दै छु । 

किताब वैशाख पहिलो साता आउँछ । ‘तिमी जुन रहरले’, ‘यो सम्झिने मन छ’, ‘पहाडमा जाडो बढे’, माओवादीले परेड खेलेको गीत ‘पहाड झुक्नुपर्छ’, ‘लर्काएर सप्तरंगी टिका’ गीतहरूको कथा त्यस किताबमा छ । मलाई लाग्छ, टेस्ट नयाँ आउँछ । क्रियटिभ लेख्‍न नसकेपछि यस्तैमा चित्त बुझाउने भएको छु, म त । यो किताब म राम्रो आर्काइभ गर्ने भएको भएर लेख्‍न सकेको हुँ । पहिला पनि ‘तस्बिरको कथा’ निकालेको छु । 

तपाईंले जन्माउनु भएका कविता र गीत सबैको मुखमुखमा छन् । लेखेर मारेर कविता, गीत चाहिँ कति जति होलान् ? 
त्यसको हिसाब राखिनँ । किन राखिनँ भने, जुन चिज मन परेन, लेख्दा मन नपरेका सबै च्यातिएर गए । तर मैले लेखेर नसकेको एउटा गीत १२ वर्षपछि पूरा गरेको पनि छु । 

जस्तै ? 
कुन्ती मोक्तानले गाउनुभएको एउटा गीत छ । 'आफ्‍नो माया आफ्नो खुसी आफ्‍नो वचन’ गीत । त्यस्ता गीतहरू पनि छन्, जुन लामो समयमा पूरा गरेको छु । 

यो कोभिड कालमा एकान्तमै बस्नुपर्‍यो । कोभिड काल तपाईंको रचना यात्रामा साधक बन्यो कि बाधक ? 
मेरो यसमा दुईवटा दृष्टिकोण छ । हामी फुर्सद खोज्छौं, एकान्त खोज्छौं । तर आफूखुसीको एकान्त खोज्छौं । कवि, लेखकका लागि दबाबको एकान्तमा एकान्तको आनन्द प्राप्त हुँदैन । कोभिड छ, सबैतिर सन्त्रास छ, फुर्सद पनि छ । तर मन दबाबमा छ । त्यो दबाबमा पाएको एकान्तले सिर्जनात्मक लेखनका लागि त्यति धेरै स्पेस दिँदैन । तर मैले त्यो समयमा धेरै पढ्न पाएँ । पढ्नु भनेको पनि लेखनका लागि मलजल हो, खेतीपातीका लागि कुटो–कोदालो भनेजस्तै हो । 

अनि लेख्‍न चाहिँ लेख्‍नुभएन ? 
लेखेँ । तर जुन अनुपातमा लेखिन्थ्यो, त्यसअनुसार लेखिनँ । 

‘तिमी जुन रहरले ममा फुल्न आयौ’ गीतको कथा के हो ?
मेरो अभिलेखले के बताउँछ भने मैले २०३४ सालमा १८ वर्षको उमेरमा यो गीत लेखेको हुँ । पछि मैले यो गीतका एक/दुई शब्द परिमार्जन गरेको पनि देखिन्छ, २०३६ सालमा । त्यो उमेर भनेको सुसेली काढ्दै, चैते बतास जस्तो बहकिँदै डुल्ने उमेर हो । दु:ख थियो भनौं भने पनि म मज्जामै थिएँ । कुनै किसिमको आर्थिक व्यवहार सम्हाल्नुपर्ने दबाब पनि थिएन । म कलेज पढ्न सुरु गरेको मात्र थिएँ । त्यो उमेरमा मलाई त्यो संवेदना कसरी आयो, मलाई नै थाहा छैन । यही प्रश्न मैले कहिलेकाहीँ आफैंलाई सोध्छु, उत्तर पाउन सक्दिनँ । 

तपाईंको जीवन तपाईंले नै गीत, कविता बनाएर लेख्‍न पाएको भए उठान र विश्राम कसरी गराउनुहुन्थ्यो ? 
मान्छेजस्तै । गीतमा, कवितामा जसरी मेरो समाज छ, व्यक्ति छ । म कवितामा मान्छेलाई खोतल्ने, निफन्‍ने गर्छु । गीतमा पनि त्यस्तै हो । उतारचढाव जस्तो मेरो जीवनमा छ, सायद त्यस्तै गर्थें । 

नारायण गोपालसँगको भेटलाई कसरी सम्झनुहुन्छ ? 
(नारायणगोपाल) दाइलाई एकोहोरो चिन्थेँ, त्यो आफ्नो ठाउँमा थियो । दोहोरो चिनाजानी गीतकारकै रूपमा भएको हो । मलाई लाग्छ, २०४० को अन्त्य वा २०४१ को सुरुवातमा नारायण दाइ र संगीतकार दिव्य खालिङसँग सहकार्य चलिरहेको थियो । नारायण दाइले मेरो एउटा गीत गाउने तय भएछ । उहाँले गीत गाउने तय भएपछि दिव्य खालिङलाई भन्‍नुभएछ, ‘गीतकारलाई पनि सँगै लिएर डिनरका लागि आउनू ।’ खबर पाएपछि दिव्य खालिङ र म महाराजगञ्जस्थित नारायण दाइको घर गयौं । 

संयोगले त्यतिबेला दार्जिलिङबाट गीतकार नोर्देन रुम्बा, संगीतकार चन्‍दन लोम्जेल पनि आउनुभएको थियो । र, त्यहाँ बस्दाबस्दै त्यो दिनको भेटघाटमा नारायण दाइले त्यो गीतमा प्रयोग भएको एउटा शब्दको लय परिवर्तन गर्न सुझाव दिनुभयो । दिव्य खालिङले संगीतकार म हुँ, सोम तिमी गायक हौ भन्‍ने कुरा गर्न लागेपछि विवाद बढ्यो । कुरा सुन्दा नारायण दाइले यो गीत गाउनुहुन्‍न भन्‍ने मलाई लागिसकेको थियो । नभन्दै, नारायण दाइले यो गीत गाउँदिनँ भन्‍नुभयो । 

पछि नारायण दाइको स्मृति अङ्क ‘बागिना’मा भाउजू पेमला लामा गुरुवाचार्यले लामो एउटा संस्मरण लेख्‍नुभएको थियो । त्यसमा मेरो त्यो गीतबारे पनि लेखिएको छ । ‘गीत छनौटमा मैले उहाँलाई सहयोग गर्थें । तर अन्तिम निर्णय उहाँको आफ्नै हुन्थ्यो । दिनेश अधिकारीको गीत र दिव्य खालिङको संगीत भएको ‘भेटी भेटिनसक्ने आकाशको तलाउ, तिमी साँझ बत्ती बाल यात्रा मलाई देऊ’ गीत अति मन परेको थियो । तर त्यो उहाँले किन गाउनु भएन मलाई थाहा भएन’ भनेर लेख्‍नुभएको छ । उहाँलाई भेट्नुअघि पनि म कविता लेख्थेँ । त्यतिखेरसम्म एउटा किताब पनि सायद आइसकेको थियो । 

सुरुमा कथा पनि लेख्‍नुभएको रहेछ । पछि किन कथा लेख्‍न छाड्नुभयो ? अचेल ‘तस्बिरको कथा’, ‘गीतको कथा’ नाममा मात्र ‘कथा’ लेख्‍न थाल्नुभयो त ? 
हेर्नुस्, मैले कथा मात्र होइन नाटक पनि लेखेको थिएँ । तपाईंलाई सम्झनाका लागि रमाइलो होला, पत्रकार साहित्यकारका रूपमा परिचित रमण घिमिरे भाइ मेरो नाटकको नायक थिए । अहिले सर्वोच्च अदालतमा माननीय न्यायाधीशका रूपमा काम गर्ने सपना प्रधान मल्ल मेरो नाटकमा नायिका हुनुहुन्थ्यो । अशेष मल्लले मेरो नाटकमा निर्देशन गर्नुभएको थियो । २०३८ सालमा देखाइएको ‘पर्खाल’ भन्‍ने नाटक थियो । मैले यो कुरा किन भनिरहेको छु भने सुरुमा साहित्यमा लाग्दा सबै लेखियो । 

सुरुमा त्यो भेल जस्तो हुनेरहेछ । सबै–सबै आउने । नयाँ लेखक, नयाँ सर्जक जताततै छरिन्छ । बिस्तारै उसले कहाँ अभिव्यक्त हुन सकिन्छ, कहाँ मेरो तागतले भ्याउँछ, कहाँ राम्रो हुन्छ भन्‍ने खोज्न थाल्छ । मैले पनि त्यही गरेको हुँ । मैले पछि निबन्ध लेख्‍न छाडेँ, कथा लेख्‍न छाडेँ, नाटक लेख्‍न छाडेँ । कवितामै थिएँ, पछि झनै बढी कवितामै केन्द्रित हुन थालेँ ।

संयोगले कलेजका दिनमा मेरो भेट राम थापासँग भयो । रामसँगको संयोगमा मैले गीत लेख्‍न थालेँ । रेकर्ड भएको मेरो दोस्रो गीत ‘तिमी यसै लजायौ, म उसै धकाएँ’ थियो । त्यो समयमा लोकप्रियताको शिखरमा थियो । त्यसले गर्दा म फेरि गीतमा तानिएँ । विधाको हिसाबले एक किसिमले कविता विधाकै हो, त्यो गीत । अहिले भने फाट्टफुट्ट गद्यमा लेख्‍ने प्रयास गरिरहेको छु । 

अहिलेको युगलाई आख्यानको युग पनि भन्दा रहेछन् । कविहरू पनि भटाभट उपन्यास लेखिरहेको देखिन्छ । तपाईं ?
साहित्यका कुनै पनि विधा राम्रो वा नराम्रो भन्‍ने नै हुँदैन । हामी कसरी लेख्‍न सक्छौं, कसरी अभिव्यक्त गर्न सक्छौं, त्यसमा भर पर्छ । जहाँसम्म आख्यानको समय भन्‍ने कुरा छ, म यसमा त्यति धेरै सहमत छैन । कुन अर्थमा सहमत छैन भने, आख्यान वाचनको कुनै गोष्ठी तपाईंलाई थाहा छ ? उपन्यास, नाटक वाचन हुने कुनै गोष्ठी हुन्छ ? कथावाचन गर्ने गोष्ठी केही भएका होलान् । मैले यसलाई पहुँचको सहजतासँग जोड्न खोजेको हुँ । म मेरा कवितालाई गोष्ठीमा पढ्छु, साप्ताहिक, मासिक पत्रिकामा छाप्छु । टेलिभिजन कार्यक्रममा सुनाउँछु ।

मेरो कविता सुन्‍न–पढ्न मेरा पाठकले पैसा खर्च नगरे पनि म उहाँहरूसँग पुग्छु । मेरा गीत पुग्छन् । तर उपन्यास, कथा वा नाटक तपाईंले पैसा खर्च नगरे तपाईंको पहुँचमा छैन । बिक्रीको हिसाबले कुरा गर्नुभयो भने, उपन्यास वा कथा वा आख्यान विधाकै धेरै बिक्री भयो होला । बिक्री हुनुपर्ने बाध्यता छ, कविताको तुलनामा नकिनेर पढ्न सम्भवै नभएर धेरै बिक्री भएको हो । तर कविता नकिनेरै पनि कविता पढ्न सक्नुहुन्छ, सुन्‍न सक्नुहुन्छ । त्यसैले पहुँचको सहजताको कुरा हो । 

अर्को कुरा, लेखन मेरो पेसा र व्यवसाय होइन । म आफूलाई अभिव्यक्त गर्न लेखिरहेको हुँ । मलाई कविता र गीतमा अभिव्यक्त हुन सहज लाग्यो, त्यसैले म त्यसमा लागेको हुँ । मलाई समाजसँग मतलब छैन तर मैले सामाजिक दायित्व बोध गरेर लेख्छु । लेखेको त मेरो नितान्त आफ्नै लागि हो । भोलि उपन्यास नलेखी कवि त लेखक नै होइन भन्‍ने भएछ भने पनि मलाई पछुतो हुनेछैन । उपन्यास मैले सकेछु भने लेखुँला पनि, तर लेखिनँ भनेर म पश्चात्ताप चाहिँ गर्दिनँ । 

तपाईंले युवावस्थामै स्थापित साहित्यकार–कलाकारसँग संगत गर्न पाउनुभयो, कसरी ? केही विशेष सम्झना ?
हो, धेरैसँग मेरो संगत हुन पायो । कतिपय भन्‍न मिल्छ, कतिपय भन्‍न नमिल्ने पनि हुन्छन् । अहिले सम्झँदा म भूपी (शेरचन) दाइ र वासु (शशी) दाइलाई सम्झन्छु । भूपी दाइसँगको मेरो संगत अत्यन्त हार्दिक, आत्मीय रह्यो । दाइले मलाई अत्यन्त स्नेह गर्नुहुन्थ्यो । अन्त नभनेको कुरा सम्भवत: यो हुन सक्छ । पहिलो चोटि मैले कविता संग्रह निकाल्ने सोच बनाएँ । भूपी दाइसँग त मेरो उठ्बस् भएको हुँदा मैले दाइसँग गएर कविता संग्रह निकाल्न लागेको बताएँ । कविता संग्रहका लागि कविता छानिदिन भनेँ । 

दाइ बडो शिष्ट बोल्नुहुन्थ्यो । तपाईंको भाषा बोल्नुहुन्थ्यो, तिमी भनेको सम्झना छैन । दाइले भन्‍नुभयो, ‘यो काम म गर्दिनँ । अरुलाई पनि नगराउनुहोस् । पर ठानेर मैले गर्दिनँ भनेको होइनँ । म ती कविताहरू पढुँला । ४० वटा कवितामा मैले यो कविता मन परेन भनुँला । तर त्यही कविता तपाईंलाई मन परेको हुन सक्छ । म पूर्वाग्रही भइसकेको हुन्छु र म मेरो तर्कलाई जोड दिन चाहन्छु । त्यसैले कविता छान्‍न नलगाउनुहोस् । कविले आफैंलाई ढाँट्दैन । आफू बस्नुहोस् र इमानदार भएर कविता छान्‍नुहोस् ।’ मैले त्यही ढंगले कविता छानेँ र मैले २०४४ सालमा साझा प्रकाशनबाट ‘धर्तीको गीत’ कविता संग्रह छापेँ । मेरो पुस्तामा साझाबाट मैले नै पहिला कविता संग्रह छापेँ । जुन अहिले पनि पाठकहरूले उत्तिकै रुचाउनु भएको अनुभव छ । कविताको दोस्रो संस्करण नै ठूलो हो भनिन्छ, मेरो त्यो किताबको चौथो कि पाँचौं पुगिसक्यो । 

म अर्को सुनाउँछु– वासु दाइको । वाशु दाइ देउपाटनमा बस्नुहुन्थ्यो । नयाँ पुस्ताका मान्छेसँग बस्न, कुरा गर्न, हौस्याउन वासु दाइको अत्यन्तै ठूलो योगदान छ । म सम्झिरहेको छु, २०३६ सालको सडक कविता क्रान्तिमा म पनि सहभागी थिएँ । मोती महल भन्‍ने थियो, पीपलबोट पारि जहाँ हप्ताको कुनै एकदिन कविहरू बसेर चिया खाने व्यवस्था मिलाइएको थियो । भवानी घिमिरे, जो सडक कविता क्रान्तिमा अग्रणी भूमिका निभाउनु भएको थियो । उहाँले दिनेशको कविता संग्रह निकाल्नुपर्छ भन्‍नुभयो । साथीहरूले पैसा पनि उठाए । 

युवा साहित्यिक समाज भन्‍ने थियो, दर्ता नभएको संस्था । हामी त्यो संस्थाका साथी रत्नपार्कको चौरमा घेरा लगाएर बस्थ्यौं, अग्रजहरूलाई बोलाउँथ्यौं, कविता सुनाउँथ्यौँ, सुझाव माग्थ्यौं । पछि मेरो किताब युवा सांस्कृतिक अभियानले नै छाप्यो । मलाई सम्झना छ– दिनेश सत्याल (सौरभ), अविनाश राई, गोविन्द गिरी प्रेरणा, फणीन्द्र नेपाल सबै थियौं । किताब छाप्ने जानकारी वासु दाइलाई भएछ । वासु दाइले ‘दिनेशले किताब निकाल्ने अनि मैले केही लेख्‍न नपाउने ?’ भन्‍नुभयो । अघिका पेज त सबै भरिएका थिए, पछि बाँकी रहेका कभर पेपरमा वासु दाइले आफैंले इच्छा जताएर, खोजेर मेरो कवितामा केही मन्तव्य लेखिदिनुभएको थियो । त्यो मेरो ठूलो गहना हो । 

त्यसरी कविहरू भेला भएर बस्दा केबारे कुरा गर्नुहुन्थ्यो ? 
हामी सबै विषयका कुरा गथ्र्यौं । आआफ्ना सिर्जना सुनाउँथ्यौं । पहुँचका लागि बाटो खोतल्थ्यौं । म कविता लेख्‍नेलाई त झनै गाह्रो थियो । २०३६ साल अघि विदेह नामको पत्रिका निस्कन्थ्यो । वाशु रिमाल ‘यात्री’ दाइ सम्पादक हुनुहुन्थ्यो त्यसमा । त्यो पत्रिकाले त सूचना छाप्थ्यो, ‘हामी पत्रिका छाप्दैनौं, कविता नपठाउनु’ भनेर । हामी कविता लेख्‍नेलाई त त्यो ठूलो सकस थियो, त्यसकारण हामी पहुँच खोज्थ्यौं । ३६ सालको सडक कविता क्रान्तिले चाहिँ समाजबाट टाढिएको कवितालाई फेरि समाजसँग जोड्ने काम गर्‍यो । 

सडक कविता क्रान्ति पछि चाहिँ विदेहले कविता विशेषांक निकाल्यो । त्यो बीचमा यति पत्रिका निस्के कि हामीलाई छाप्न गाह्रो भएन । गुणस्तरका हिसाबले हामीलाई रूपरेखा र मधुपर्कमा छपाउनु थियो ।

किन लेखक बन्‍नुभयो ?
एउटा चिजलाई अघि राखेर मलाई यसले लेख्‍न प्रेरणा दियो भन्‍न मिल्ने चिज छैन । अलिकति तपाईंलाई पृष्ठभूमि सुनाउँछु । मेरो घर नै साहित्यिक वातावरणको छ । मेरा पिताजी नन्दनहरि उपाध्याय, उहाँका दुईवटा कृति प्रकाशित छन् । उहाँ कविता लेख्‍नुहुन्थ्यो । 

मेरा ठूला दाजु, ऋषभहरि अधिकारी उहाँले ओखलढुंगामा ‘दैलो’ पत्रिका निकाल्नुहुन्थ्यो । अर्का दाजु ध्रुवहरि अधिकारी पत्रकारितामा हुनुहुन्छ, साहित्यमा रुचि राख्‍नुहुन्छ । अर्का दाजु उद्धवहरि अधिकारीले संस्कृत पढ्नुभयो । घरमा पठनपाठनको वातावरण थियो । साहित्यका किताबमाझ हुर्किएँ । रुचि बढ्दै गयो । 

लेख्‍न थालेपछि छपाउने इच्छा हुन्थ्यो । छापिएपछि ‘ए ! राम्रो रैछ’ भनिदिए हौसिएर लेख्‍न मन लाग्थ्यो । मान्छेहरूले रुचाउँदै गएकाले म अझै प्रेरित हुँदै गए । अलिकति पारिवारिक वातावरण, अलिकति प्रकाशन, अलिकति साथीभाइ, अलिकति संगत, अलिकति पाठक प्रतिक्रिया मेरो प्रेरणाका स्रोत हुन् । 

पहिलो पटक कविता कहिले लेख्‍नुभयो ? 
चार कक्षामा पढ्दा । 

कविता याद छ ? 
कविता चाहिँ याद छैन । गीतको लयमा लेखेको थिएँ । विद्यालयको रिजल्टमा कविता सुनाएर प्रथम भएको थिएँ । १६ पानाको नोटबुक र सिसाकलम उपहार पाएको थिएँ । 

छापिएको पहिलो कविता चाहिँ ? 
‘रत्नश्री’ पत्रिकाको २०३२ चैत, २०३३ वैशाख अंकमा छापिएको हो मेरो पहिलो कविता । आधार मान्दा २०३२ साललाई मान्‍नुपर्ला । 

प्रेममा परेर गीत, कविता लेख्‍नुभयो कि आफ्ना रचनामै प्रेम पाउनुभयो ? 
तपाईंले युवकयुवतीबीच हुने प्रणय पिरतीलाई संकेत गर्न खोज्नुभएको हो भने म त्यस्तो कहिल्यै परिनँ । एकतर्फी प्रेम मैले गरेँ हुँला, मलाई पनि गरे होलान् । तर दुईतर्फी प्रेममा म परिनँ । म प्रेममा परेर लेखिनँ, तर अनुभूत गरेर लेखेको छु । भोग्न जरुरी छैन, पढेर, देखेर, सुनेर अनुभूति हुन्छ । खालि अनुभूत गर्ने कुरा हो । अनुभूत चाहिँ गरेको छु ।

प्रेम नै प्रेमका गीत, कविता लेख्‍ने अनि प्रेममै परिनँ भनेर पनि भन्‍ने । पत्याउन अलि गाह्रै पार्नुभयो त !
नपत्याउने धेरै कुरा हुन्छन् । तर सत्य यही हो । (हाँसो) 

यो सम्झिने मन छ, मनले किन सम्झिन्छ ? 
सम्झिनकै लागि मन बनेको हो, सोझो भाषामा भन्दा । 

कस्तो अवस्थामा लेखेको गीत हो यो ? 
यो गीत मैले कलेज सकिने–सकिने बेला लेखेको हुँ । साथीहरूका बीचमा प्रेम सम्बन्ध थियो । ‘ल, भैगो बिर्सिदेऊ’ भनेर सहजै भने एउटा साथीले । एउटा पक्षले पो बिर्स भनेर सजिलै भन्यो, अर्कोको मनमा के भएको हुँदो हो ? यही सम्झेर लेखेको हुँ ।  

चार/पाँच महिनाअघि फेसबुकका एक जना मित्रले यो गीत गाएर हाल्नुभयो । पोस्ट गर्नुभयो, मलाई ट्याग गर्नुभएको रहेछ । ‘आमाको सम्झनामा गाएको छु, ध्यान दिएर सुनिदिनु होला’ भनेर हालेछन् । म त झसंग भए । कहिलेकाहीँ नसोचेको हुँदो रहेछ । मैले त विशुद्ध युवकयुवतीको प्रणय प्रेम सम्झेर लेखेको थिएँ नि । पछि मैले त्यो सुनेँ, आमाकै लागि गाउँदा पनि मिल्ने रहेछ । प्रेम गर्ने सबैलाई सम्झेर गाउँदा मिल्ने रहेछ । यो कुरा २०७८ मा आएर फिल गरेँ । 

तपाईंलाई विमल कोइरालाको कविता चोरेर ‘हर्कबहादुर’ कविता लेख्यो भन्‍ने आरोप रहेछ नि ? 
तपाईंले ठ्याक्कै भन्‍नुभयो, तर मैले त्यो कथा यहाँ भनेँ भने अत्यन्तै लामो हुन्छ । छोटकरीमा भनिहाल्छु । ममाथि जुन आरोप लाग्यो, विमल कोइरालाजीको ‘धुव्रे, उर्फ धुव्रबहादुर’ पनि रूपरेखामै छापिएको थियो । मेरो कविता ‘हर्कबहादुर’ पनि रूपरेखामै छापियो । नाम यतिबेला भुलेँ पाठकको जसले प्रतिक्रिया लेख्‍नुभएको थियो, उहाँले चोरी गरिएकै हो भनेर लेख्‍नुभयो ।

त्यसपछि मैले प्रतिवाद गर्ने कुरा त आफ्नै ठाउँमा थियो, समालोचक कृष्णचन्द्रसिंह प्रधान, मदनमणि दीक्षित, अशेष मल्लले लेख्‍नुभएको थियो । मदनमणि दीक्षितले त सात पेजको लामो लेख नै लेखेर यत्तिको विषयवस्तुमा आजसम्म पढेको सर्वोत्कृष्ट कविता हो भनेर लेख्‍नुभएको थियो र साथमा दुई कविताको तुलना पनि गर्नुभएको थियो । कृष्णचन्द्रसिंह प्रधानले त दिनेश अधिकारीले चोर्‍यो भनेको सुन्दा असहमत भएको हुँ भनेर भन्‍नुभएको थियो । समानता के हो भने शीर्षकमा नाम भएको कुराले पाठकको आफ्नो तहमा आफ्नो विचार राख्‍नुभयो, त्यो आफ्नो ठाउँमा छ । 

पछि तारानाथ शर्माले ‘नेपाली आधुनिक कविताका चार बहादुरहरू’ भनेर समालोचना लेख्‍नुभएको थियो, जुन ‘गरिमा’मा प्रकाशित थियो । त्यसमा ‘धुव्रे, उर्फ धुव्रबहादुर’, ‘हर्कबहादुर’, श्यामलको ‘राइफल म्यान : कीर्तिबहादुर’, क्षेत्रप्रताप अधिकारीको ‘धनबहादुर’ थियो । आरोप लागेको कुरा सत्य हो, तर आरोप स्थापित नभएको कुरा त्यो भन्दा ठूलो सत्य हो । यसको बारेमा विस्तृत जानकारी चाहनुहुन्छ भने मेरो आउन लागेको नयाँ किताब पर्खनुपर्छ । 

रातलाई सुताएर तपाईं कति रात जाग्राम बसेर लेख्‍नुभएको छ ? 
रात त सधैं सुत्छ । म लेख्‍ने र पढ्ने क्रममा कहिलेकाहीँ रातैभर पढेको अनुभव त छैन । एक/दुई बजेसम्म पढ्ने लेख्‍ने गर्थें । 

प्राय: कुन समयमा लेख्‍नुहुन्छ ? 
मलाई सहज लाग्ने समय भनेको बेलुका घर–परिवार सबै बसेर खाना खाएर आ–आफ्नो कोठामा गएपछि हो । 

आफ्नो जिउनुलाई अरुसँग मिसाउने कसरी ? 
त्यो सम्झौताको जीवन हो । अरुसँग मिसाउनु भएन भने, अहिलेको सन्दर्भमा बाँच्न कठिन छ । मिसाउनै पर्छ । 

निराश भएर लेख्‍ने कि लेखेर निराश हुने ? 
मेरो लागि पीडाको समयमा पीडा नै सुखद हुन्छ । पीडाले पीडा लेखिन्छ, लेखिसकेपछि सुख महसुस हुन्छ । 

किन लेख्‍ने ? 
आफूलाई अभिव्यक्त गर्न । सकसबाट मुक्ति पाउन । 

तपाईंलाई मन पर्ने संगीत ? (आफ्नाबाहेक) 
यो भन्‍न सक्दिनँ । तपाईंसँग प्रतिप्रश्न गर्छु । तपाईंले देशका बारेमा भन्‍नुभएको हो कि प्रणय प्रेमको भन्‍नुभएको हो कि बाल मनोविज्ञानका गीत भन्‍नुभएको हो कि लोक संस्कृतिलाई समेट्न खोज्नुभएको हो कि ? 

सबै विधाबाट पाँचपाँचवटा रोज्‍नुपर्दा ?
यति धेरै गीतबाट पाँचवटा छान्‍न म क्षमता नै राख्दिनँ । (हाँसो)

आफूले लेखेको आफैँलाई नै औधि मन पर्ने गीत ? 
त्यसमा पनि छान्‍न सक्दिनँ । किन छान्दिनँ भने मलाई मन नपरेको कुनै पनि गीत सार्वजनिक गरेको छैन । मलाई एउटा टेस्ट मन पर्छ, तपाईंलाई अर्को । एउटा उदाहरण दिन्छु– मैले ‘लैजा चरी’ भन्‍ने गीत पुरुष स्वरमा सोचेकै थिइनँ । योगेश्वर अमात्य भाइले पछि त्यो गीत गाउनुभयो, उहाँले गाएकै कारण धेरै उचाइ लियो । मैले नारी स्वर खोजेको सत्य हो, त्यो भन्दा ठूलो सत्य अमात्यकै स्वरका कारण बढी लोकप्रिय भएको छ । 

प्रशासनमा बसेका धेरै मान्छे कवि भएको देखिन्छ । के हो खास यसको कारण चाहिँ ? 
सबै विधा, सबै क्षेत्रमा छन् नि त्यो त । 

कुर्सीमा बसिसकेपछि सत्ता–शासनविरुद्ध सिधै बोल्न नपाएपछि  साहित्यको घुमाउरो अभिव्यक्ति ? 
कुर्सीमा बस्दा म प्रशासक हो तर म मानवीय संवेदना, समाजको अवस्थासँग म पृथक् छैन नि । म सम्भवत: २०३८/३९ सालमा नायब सुब्बा पदमा जागिर खान्थेँ । आर्मी हेडक्र्वाटरभित्र काम गर्थें । विष्णुविभु घिमिरेसँग संयुक्त कविता लेखेपछि मलाई राजकाज मुद्दा लाग्यो । ‘अब लेखिस् भने दश वर्ष सढाइदिन्छौं’ पनि भनेथे । फेरि नलेखी बस्न पनि सकिनँ । यसैले मानवीय संवेदना र अभिव्यक्त गर्ने कुरा जहाँ बसे पनि गर्छन् । प्रशासनमै बसेका कारण लेखेको भन्‍ने होइन बरु सुरुसुरुमा लेखेका र पछि प्रशासनमा बसेकाहरूले लेख्‍न चाहिँ छाडेको देखेको छु । टिक्न जुनै क्षेत्रमा पनि गाह्रो छ । 

आजसम्म कति गीत लेख्‍नुभयो ? 
लेखेको संख्या यकिनका साथ भन्‍न सकिनँ । सात/आठ सय जति लेखेँ हुँला । 

कति रेकर्ड भए ? 
रेकर्डका हिसाबले ४ सय ६० भन्दा बढी रेकर्ड भएको अभिलेख मसँग छ । 

रेकर्ड नभएका गीतहरूलाई के गर्ने सोच्नुभएको छ ? 
रेकर्ड नभएका गीतहरूमध्ये कुनै छाप्छु, कुनै राख्छु । 

सुन्‍न नपाइने ? 
हैन, गाउने प्रक्रिया अर्को छ । जसले गाउन चाहनुहुन्छ, उहाँ आउनुपर्यो । म रेकर्ड गर्दिनँ, पैसा तिरेर म रेकर्ड गर्न सक्दिनँ । अहिले व्यक्तिगत लगानीमा गीत रेकर्ड भइरहेका छन् । गायक, संगीतकारहरू आए भने म उहाँहरूलाई गीत सुनाउँछु, गाउन दिन्छु । तर सर्त के हो भने– कसैको लहड, रहरमा आउनु भएन । सिन्सेरिटी म हेर्छु । मैले ‘ल, यो गीत गाउनुस्’ भनेर दिँदैमा गाइहालिने अवस्था हुँदैन, छैन । 

नेपाली गीत–संगीतको गुणस्तरको यात्रा कता छ ? उकालो या ओरालो ? 
यो सापेक्षताको कुरा हो । अहिलेको नेपाली संगीत उद्योग भनिन थालिएको छ र व्यावसायिक हुँदै गएको छ । समर्पण, प्रेम, समय हामीले गीत लेख्दै गर्दा पहिला धेरै थियो, हामीले लेख्दै गर्दा पनि थियो । एउटा संस्थामा दुई सय जना कर्मचारी भए भने २० जना मात्र हुन्छन्, जसले त्यो संस्था धानेका हुन्छन् । नेपाली संगीत बजार पनि त्यस्तै भएको छ, मान्छे धेरै छन्, गीत धेरै छन् तर स्तरको हिसाबले र गर्व गर्न सक्ने संगीतको संख्या थोरै भेटिन्छन् । दिनमा अहिले मलाई लाग्छ डेढ सय जति गीत रेकर्ड हुन्छन्, तिनमा चार/पाँच राम्रो भए पुग्छ । म आशावादी मान्छे हो, निराश हुँदिन । विगतभन्दा आगत हेर्नुपर्छ । 

तपाईंहरू जस्ता राम्रो गीतकार चुप लाग्दा पनि गीतको स्तर घटिरहेको हो कि ? 
यो व्यक्तिगत कर्म हो । सामूहिक मूल्यांकन स्रोता र पाठकले गर्ने कुरा हो । म यसमा दुई/तीनवटा कुरा भन्छु । सबैभन्दा पहिला मिडिया जिम्मेवार हुनुपर्छ । यदि स्तर खस्किएको छ भने मिडियाले नै पहिलो जिम्मेवारी लिनुपर्छ । मिडियाले भाषा नमिलेको, व्याकरण नमिलेको गीतलाइै प्रश्रय दिएको किन छ ? त्यही सिकेर बालबच्चाले भाषा सिकेका छन्, अब सोच्नुस् हामी कहाँ पुग्दै छौं । सामाजिक जिम्मेवारीबोध हामीले गरेका छौं कि छैनौं ? बजारमा सामान सबै पाइन्छ, पाइएका 
सबैलाई प्रयोग गर्नुपर्छ भन्‍ने छैन । मिडियाले पनि राम्रालाई स्थान दिए अहिले धमिलिएको पानी फेरि संग्लिएर आउँछ । 

संगीत भनेको रहर र लहडको कुरा होइन । यो साधनासँग जोडिएर आउँछ । यसमा लाग्ने सबैले स्वीकार गर्नुपर्छ । मैले गरेको सबै राम्रो छ भन्दिनँ, अर्कोले गरेको मेरो भन्दा धेरै राम्रो हुन सक्छ । एउटा राम्रो हुँदैमा उसको सबै राम्रो हुन्छ भनिदिन्छौं । यसमा फेरि मिडिया जोडिएर आउँछ । मिडियापछि ठूलो जिम्मेवारी स्रोताको हुन्छ । स्रोताले राम्रा गीत मात्रै, स्तरीय गीत मात्रै मन पराए स्तरीय गीतको सर्जकले अर्को स्तरीय गीत बनाउँछ । अहिले आफैंले लगानी गरेर गीत रेकर्ड गर्नुपर्ने अवस्थामा स्रोताले राम्रा गीत मन नपराए कसरी चल्छ ?

पहिला कवितालाई पनि गीत बनाएर गाइन्थ्यो । अहिले ?
हामीले जे चिजलाई पनि सहज रूपमा ग्रहण गरिदिएको कारण यस्तो भएको हो । 

गीतकारमा गायन र संगीतको ज्ञान भए सुनमा सुगन्ध हुन्छ भनिन्छ । तपाईं चाहिँ बजाउने, गाउने कति गर्नुहुन्छ ?
तपाईंलाई एउटा रमाइलो कुरा सुनाउँछु । मलाई गीत मिटरमा लेख्‍नेसम्मको ज्ञान छ, मैले केही गीत लयबद्ध भइसकेका धुनमा लेखेको छु । मेरो सिरानी संगीतकार राम थापाका कारण गीतको क्षेत्रमा छु । ऊ र म सँगै हुँदा कहिलेकाहीँ मैले रहरमा गीत गाउँथे, मैले गाउँदा एउटै तालमा गाउँदो रहेछु । मेरो गीत सुनेपछि रामले ‘तपाईं अरु जेसुकै गर्नुहोस् तर गीत चाहिँ नगाउनू, म आफ्नै ट्युन बिर्सिन्छु’ भनेपछि मैले गीत गाउने त प्रयास नै गरिनँ । तर मैले गीत लेख्दा चाहिँ गाएरै लेख्छु । 

तपाईंका गीत स्रोतका कानसम्म पुग्दा केकस्ता परिवर्तन भएका छन् ? 
मैले सम्झिनै पर्छ । किनभने म यो मामिलामा एकदमै कठोर मान्छे हुँ । एकदमै कठोर । एक समय थियो, जब संगीतकारहरू भन्थे, ‘दिनेशकहाँ गीत लिन जान एकदमै गाह्रो छ । कागज नगरी दिँदैन । शब्द परिवर्तन गर्न दिँदैन, पारिश्रमिक पनि लिन्छ ।’ म केही संगीतकार मित्रलाई के भन्छु भने, ‘ठोक्नुपर्ने भयो, चाँडै दिनुपर्ने भयो भने मलाई नसम्झनुहोला ।’ त्यसैले मेरा गीत गाउँदागाउँदै उच्चारणवश केही फरक परेका छन् । तर जानाजान मेरा शब्द परिवर्तन भएका छैनन् । 

‘तिमी जुन रहरले ममा फुल्न आयौ’मा रक्ताम्य भनिएको छ, यो राताम्य हुनुपथ्र्यो भन्‍ने तर्क रहेछ नि ? 
(हाँसो) मैले लेख्दा राताम्य नै लेखेको हुँ, त्यतिबेला छापिएको पत्रिकामा पनि राताम्य नै छ । रेकर्डिङका बेला संगीतकारले गायकलाई सिकाउँदा त्यो राताम्य कसरी रक्ताम्य बन्यो मलाई थाहा छैन । मैले लेखेको राताम्य नै हो किनभने त्यो मिटरमा ठ्याक्कै मिल्छ । तर सम्पूर्ण स्रोताहरूले मैले जुन भावमा लेखेको थिएँ, स्रोताहरूले त्यही भावमा चाहिँ बुझिदिनुभयो ।

पछि सुन्दै जाँदा मलाई नराम्रो लाग्दै गयो, रेकर्डिङका बेला चाहिँ म बैतडीमा थिएँ । दश वर्षपछि मैले रेडियो अन्तर्वार्तामा भनेँ, ‘गीतकार रेकर्डिङ स्टुडियोमा हुनु जरुरी छ, नत्र यस्तै दुर्घटना हुन्छ ।’ मैले नै त्यो कुरा उप्काएँ, आजभन्दा करिब १५/२० वर्ष अघि । पछि भाषाविद् शरच्चन्द्र वस्तीले रक्ताम्यको प्रयोग ठीक भएन भनेर टिप्पणी लेख्‍नुभयो । उहाँले लेख्‍नुअघि नै मैले त्यसबारे बोलिसकेको थिएँ । गीतकार रेकर्डिङका बेला भएन भने यस्तो दुर्घटना हुन्छ । अहिले त्यो कमजोरी हुँदैन किनकि मैले गीत दिने बेलामै रेकर्डिङको सबै जानकारी हुनुपर्छ भनेर सर्त राख्छु र रेकर्डिङमा पुग्छु पनि । 

अहिलेका कविता चाहिँ कस्ता लाग्छन् ? 
गीतको सन्दर्भमा जसरी कुरा गर्नुभयो, अहिलेका कविहरूको कुरा गर्दा भाइबहिनी पुस्तामा सबै लेख्‍नेको कुरा गर्दिनँ तर एक दर्जन बढी कवि हुनुहुन्छ, जसका कविता पढेर म उहाँहरूको दाइ हुँ भनेर गर्व गर्छु । उहाँहरूले कविता विधालाई धेरै अघि पुर्याउनुहुन्छ भन्‍ने कुरामा म बडो विश्वस्त छु । 

फिल्ममा गीत लेख्‍न किन छाड्नुभयो ? 
फिल्ममा पटक्कै सन्तुष्टि भएन । पारिश्रमिक दिन किचकिच गर्ने, एउटा सिन दिएर गीत लेख्‍न लगाउने अर्कोमा गीत राखिदिने । स्क्रिप्ट फाइनल नहुँदै गीत लेख्‍न लगाउने, पछि स्क्रिप्ट चेन्ज गर्ने । अनि गीतकारले त बुझ्दै नबुझेको जस्तो बन्छ । अरु छाडिदिनुस्, साहित्यकारसमेत रहेका प्रकाश सायमीको फिल्ममा पनि त्यस्तै भयो । ‘पृथ्वी’ भन्‍ने चलचित्रमा ‘फूल फूलमा पात पातमा’ भन्‍ने गीत लेखेँ । भर्खर ‘घाम झुल्केको छ, शीतहरूमा घामको किरण परेको छ, अनि नायिकाले गीत गाउने गरी गीत लेखिदिनोस्’ भने । पछि त्यो सिन त क्याक्टसमा देखाइएछ । 

अर्को, ‘झुमा’ भन्‍ने चलचित्रमा मैले सबैभन्दा मन परेको गीत, ‘घामभन्दा प्यारो लाग्छ’ लेखेको थिएँ । ‘हिउँबाहेक केही देखिँदैन, केटाकेटीलाई कलरफुल ड्रेस लगाउँछौं, कलरको आधारमा चिन्‍ने हो’ भनेर मलाई गीत लेख्‍न लगाएका थिए । हिउँमा सबैभन्दा प्यारो के हुन्छ ? घाम नै हुन्छ । त्यही भएर मैले ‘घामभन्दा प्यारो लाग्छ’ गीत लेखेँ । पछि नायकहरू जाँदा लेक लाग्ने अनि फर्कने गरे । शिव श्रेष्ठ, भुवन केसीहरू लेक लागेर हिउँमा पुग्न सकेनन् । सुटिङका बेला हिउँ पग्लिसकेको थियो । अब नेपालगञ्जमा खलखल गर्मी भएका बेला फिल्म हलमा ‘घामभन्दा प्यारो लाग्छ’ भन्‍ने गीत बजाएपछि गीतकार कहाँ पुग्छ ?

अर्को उदाहरण : युवराज लामाको सिनेमामा मैले धेरै गीत लेखेको छु । उहाँको ‘देउराली’ भन्‍ने सिनेमामा गीत लेखेँ । शक्तिवल्लभले बढीमा २ लाइनमा स्टोरी सुनाउनुहुन्थ्यो । मैले गीत लेखेर ‘ट्रंकलमा’ टिपाउँथे । पछि फाइनल रेकर्डिङका बेला मलाई पनि आउनुपर्छ भन्‍नुभयो, म आएँ । ‘प्राकृतिक पानी परिरहेको छ, एउटा केटी हुन्छे अनि गाउँछे– यो पानी कस्तो बेइमानी भन्दै गीत गाउँछे’ सुनाएपछि मैले सर्त राखेँ, ‘यो गीतमा केटी नै खेलाउनुपर्छ, पानी परेको सिन देखिनुपर्‍यो ।’ शक्तिले भन्‍नुभयो, ‘हामी त ट्याङ्करबाट पानी पार्ने हो । परतिर घाम लागेको हुन्छ, मिल्दै मिल्दैन ।’ त्यसपछि मैले दिन्‍नँ भनेँ । 

पछि पाटिल नामको टेक्निसियन थियो, उसले मिल्छ जंगलको छेउमा खिचे घाम बचाउन सकिन्छ भन्यो । पछि कुरा मिल्यो । म एकदिन टिभी हेर्दै थिएँ– गीत सुन्छु, मैले नै लेखेको जस्तो छ । तर दृश्य हेर्छु मैले भनेको दृश्य नै छैन । म कन्फ्युज्ड भएँ आफैं । के भयो भन्दा– नायिका झोला बोकेर आउँछे, स्विमिङ पुलमा गएर हाम फालेर गाउँछे गीत ‘यो पानी कस्तो बैमानी !’ मैले गीतमा खोजेँ आकस्मिकता, उसले दियो योजना । त्यो हेर्ने अडियन्सले मेरो मूल्यांकन कसरी गर्छ ? 
भनेपछि न दाम छ, न व्यावसायिकता छ, न केही छ । युनिभर्सिटीमा मेरो कविता पढ्नेले त्यो गीत हेरेपछि मेरो मूल्यांकन कसरी गर्छ ? मैले चलचित्र छाड्नका कारणमध्ये प्रमुख कारण तपाईं पनि हो भनेर युवराजलाई भनेको छु ।



Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
ad
x