वार्ता

म मेयर भएँ भने सबलाई न्युड हुन प्रेरित गर्छु

अनिष भट्टराई |
माघ २६, २०७८ बुधबार १५:२८ बजे

‘पाइताला’ उपन्यासका लेखक र ‘मुसा मानुष’का अनुवादक गनेस पौडेलले बिहानै सामाजिक सञ्जालमार्फत पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरे । अनेकअनेक घोषणा गरिबस्ने उनको यो उम्मेदवारी उनलाई नजिकबाट चिन्नेका लागि  आश्चर्यजनक नभए पनि अरुका लागि भने नयाँ नै छ । सामाजिक सञ्जालमा उनले शुभकामना मात्र होइन, बधाइसमेत पाइरहेका छन् । उनको उम्मेदवारी घोषणाको केन्द्रमा इकागजकर्मी अनिष भट्टराईले पौडेललाई केही विशृंखलित प्रश्न गरेका छन्:

पोखरा महानगरपालिकाको मेयर पदमा पहिलो उम्मेदवारी घोषणा गर्नुभयो, निर्वाचनमा पहिलो बन्नुहुन्छ त ? 


म जिन्दगीमा आजसम्म सेकेन्ड भएको छैन, सधैं प्रथम भएको छु । अब चुनावमा मेयर पदमा उम्मेदवारी घोषणा गरेको छु । हेरौं के हुन्छ ? प्राप्त मतका आधारमा जे पनि हुन सक्छु, तर असन्तोषको आवाज ठूलो हो । यो आवाज ल्याउन म प्रथम भैसकें । यसर्थ म प्रथम हुँ । 

उम्मेदवारी किन दिनुभयो ? 

भनिसकें, म असन्तोष आवाजहरूलाई ल्याएको हुँ । हामी जस्ता अटेरी मान्छेहरूले आफ्नो उम्मेदवारी घोषणा गर्नु यी अरु दलका लागि चुनौती हो । किनकि उनीहरू सधैं खराब मानिसहरूबाट कम खराब मानिस छान्छन् । उनीहरूलाई प्रेसर दिन पनि मैले अलि छिटै उम्मेदवारी घोषणा गरेको हुँ । म मात्र होइन, म जस्ता अरु अटेरी साथीहरू सबै मिलेर देशभर अटेरी संघ बनाएर चुनौती दिने भन्ने पनि छ । चुनाव लड्दा लौरीहरू उठ्छन् । हेर्दै सिधा ! जनताले सोच्छन्, ‘यसलाई हातमा लिन सकिन्छ ।’ तर चुनाव जितेपछि त्यही लौरीहरू नै ढाडमा बर्सिन थाल्छ । यस्ता विरुद्ध हामी अटेरीहरू लागेका हौं । अनि, कतिपय कुराहरू आकस्मिक हुन्छन् । मेरो उम्मेदवारी धेरैका लागि आश्चर्यजनक पनि छ । किनकि मैले यसअघि कोही साथीहरूसँग छलफल नै गरेको थिइनँ । अघिल्लो पटकको निर्वाचनमा पनि म लड्छु भन्ने सोचेको थिएँ, तर त्यति बेला साथीहरूले डिमोटिभेट गरे । अहिले चाहिँ कोहीसँग छलफल नै नगरी उम्मेदवारी घोषणा गरिदिएँ । 

बिहान–बिहानै उठेर उम्मेदवारी घोषणा गर्नुभयो । राति निद्रामै मेयर बनेको सपना देख्नुभयो कि कसो ? 

(पौडेललाई चिन्नेहरू उनको लामो हाँसोसँग परिचित छन्, लामो हाँसो) मैले सपना देख्न बन्द गरिसकें । खासमा मैले हिजो बेलुका मेरो फेसबुक एक्टिभेट गरें, अनि हेरिरहेको थिएँ । चुनाव मिति घोषणा भएको रहेछ । राति सोचेर नै सुतिसकेको थिएँ, अनि बिहान उठेर ‘मिनिमलिस्ट’ शैलीमा उम्मेदवारी घोषणा गरें । किन लम्बेतान व्याख्या गरिरहनु भनेर केही वाक्यमा उम्मेदवारी घोषणा गरें । 

तपाईंको अबको किताब, जुन ‘घोषणापत्र’ नामको हुने देखियो । यो किताब चाहिँ कहिले आउँछ ? 

घोषणापत्र किताब निकाल्छु, जब चुनाव चिह्न पाउँछु । चुनाव चिह्नबिना घोषणापत्र निकालेर त काम भएन नि ! 

त्यो घोषणापत्र किताब चाहिँ फिक्सन हुन्छ कि नन–फिक्सन ? 

(फेरि हाँस्दै) नन–फिक्सन हुन्छ नि । मैले बाँचेको जीवन चाहिँ फिक्सन हो । तर सामूहिक जीवन चाहिँ नन–फिक्सन हो नि त । 

‘घोषणापत्र’ किताब ‘पैताला’जस्तो सृजना हुन्छ कि ‘मुसा मानुष’ जस्तो अनुवाद ? 

दुवै हुन्छ । किनकि घोषणापत्र किताब त मेरै सृजना हुने हो । अनि अनुवाद चाहिँ यसर्थमा कि घोषणापत्रमा सामाजिक परिवेश नउतारी हुँदैन । समाजको परिवेशलाई चाहिँ अनुवाद नै गरेर पनि हाल्नुपर्यो ।
 
सामाजिक सञ्जालमा त तपाईंले चुनाव जितिसक्नु भयो । वास्तविक चुनावी मैदानमा चाहिँ के होला ? 

(फेरि फेरि हाँस्दै) सामाजिक सञ्जालमा त म पोखरा महानगरपालिकाको सर्वसम्मत मेयर भइसकेँ नि । कसैले उम्मेदवारी नै दिएको छैन अहिलेसम्म, जितिहालें त्यहाँ त । 

वास्तविक मैदानमा जितिहाल्नु भयो भने पोखरामा किनार लगाइएका ‘मुसा’हरूलाई कसरी मानुष बनाउनुहुन्छ ? 

सीमान्तीकृतको कुरा होला यहाँ । सीमान्तीकृत भनेको मानिसमात्र हुँदैन, विचार पनि हुन्छ होइन । हरेक ठाउँमा सीमान्तीकृत हुन्छन् । सबै चिजलाई एकैसाथ मूलधारमा ल्याउन सकिँदैन । जस्तो खोलामा एउटा मूलधार हुन्छ, किनारा पनि हुन्छ नै । किनारा नभएको त खोला हुँदैन । मानव समाजमा पनि किनारा हुन्छ नै, तर एउटै मानिस, एउटै समूह, वर्ग चाहिँ सधैं किनारा लगाइनुहुँदैन । 

तपाईंका साथी अजित बरालले शुभकामना दिँदै तपाईंको निर्णय चुनावसम्म नबद्लिए ‘अटेरी मत’ दिन्छु भन्नुभएको छ । तपाईंले उम्मेदवारी दर्ता गर्नुहुन्छ÷हुन्न भन्नेमै पनि आश्वस्त देखिन्नन् त ? 

(हाहा) अब चाहिँ उम्मेदवारी दर्ता नगर्ने भन्ने छँदै छैन नि । किनकि मैले सबै अटेरीहरूलाई प्रोत्साहन होस् भनेर घोषणा गरेको हुँ । अनि साथीहरूले यत्रो साथ, शुभेच्छा देखाउनुभएको छ, अब त यहाँबाट फिर्ता हुने अवस्था नै छैन । 

‘जित–हार भन्दा पर एउटा लडाइँ हुन्छ’ भन्दै ‘नजित्ने–नहार्ने’वाला कस्तो खाले लडाइँ लड्ने कुरा गरिरहनुभएको छ यहाँ ? 

कुनै एउटा देशले सानो देशलाई आक्रमण गर्यो भने कमजोर देशले पनि सीमामा सेना राख्छ । सबै युद्ध जित हारका लागि हुँदैन । कुनै युद्ध यस्तो हुन्छ जहाँ, जित्नेले पनि जित्दैन, हार्नेले पनि हारेको हुँदैन । बलभद्र हारेर पनि त्यहाँ उनको सालिक राखिएको छ । हार र जित भन्दा पर लडाइँ हुन्छ । कति हार असम्यभाव्य छन् भन्दाभन्दै जितिहाल्छन्, कहिलेकाहीँ जितिहाल्छु भन्दा भन्दै हारिहाल्छन् । कहिलेकाहीँ हार सुन्दर हुन्छ, जित कुरूप हुन सक्छ । अर्जुनलाई मार्दिनँ भनेरै पनि कर्ण कौरवहरूको सेनापति बनेर लडेका थिए, जब कि उनलाई थाहा थियो उनी हार्नेछन् भन्ने । जितहार भन्दा पनि विचार अघि ल्याउने हो । जित हार भन्दा पर रहने सौन्दर्य हुन्छ, त्यही सौन्दर्यका लागि लड्ने हो । 

मानौं, तपाईंले मेयरको चुनाव जितिहाल्नुभयो । विजयी सभामा भाषण दिँदै गर्दा एक अनुच्छेदमा दिनुपरे, के भन्नुहुन्छ ? 

त्यति टाढा नजाऔं । महत्वाकांक्षाको क्षितिज भन्दा पर गएर पनि सोच्नु हुँदैन । जिन्दगी प्राकृतिक बाँच्नुपर्छ के । खाका बनाएर भाषण गरेर के गर्ने ? जितें भने स्वतःस्फूर्त हुन्छ ।

‘पैताला’ले दुनियाँ नाप्नुपर्छ, सीमामा बाँधिनु हुँदैन, नागरिकता त्याग्नुपर्छ भन्ने विश्ववादी, अन्तर्रािष्ट्रियतावादी, कलावादी, स्वच्छन्द प्राकृत मान्छे तपाईं संघीय र प्रादेशिकसमेत नभई कसरी स्थानीय हुन खोजिरहेको ? 

ओहो, यो चाहिँ बडो दार्शनिक प्रश्न भयो । जिन्दगी सधैँ दार्शनिक हुन सक्दैन, व्यावहारिक पनि हुनुपर्छ । अनि यस्तो पनि हो, तपाईं जति टाढा गए पनि फर्कनैपर्ने घर हुन्छ । त्यो घर कहिले खरको हुन्छ, कहिले छानाको होला, तर एउटा घर हुन्छ, जहाँ तपाईं फर्कनै पर्छ । पहिचान, जात, घरको ठेगाना हुन्छ मान्छेसँग । ठेगाना नभएका मानिसलाई हामी ठेगान लाइदिन्छौं भनेर गाली दिन्छौं । तर ठेगानाविहीन हुनु चाहिँ बडो सुन्दर हो जुन जोगी पारा भइहाल्यो । जोगी नै पनि फर्कने एउटा ठाउँ त हुन्छ नि, रात पर्दा बस्ने ठाउँ त हुन्छ नि । संसारिकताबाट विमुख हुनुभयो भने पनि संसारसँग जोडिने केही त चाहियो नि । टेक्ने चाहिने एक पाइला जमिन पनि ठेगाना नै हो । मेरो ठेगाना पोखरा हो । म यहीँ ठेगाान लाएको मान्छे चाहिँ होइन । पोखरासँग प्रेमको ठेगाना, मातृभूमिको ठेगाना हो नि । ठेगाना प्रतिको प्रेमले गर्दा म मेयरमा उठ्न लागेको हुँ ।

 तपाईं त प्राकृतिक रूपमा नंग्नता चाहिन्छ, बन्धन हुनुहुँदैन भन्ने मान्छे, मेयर बनिहाल्नुभयो भने गाह्रो होला त ? 

(हाँस्दै) नेकेड हुनु नराम्रो हो । तर न्युडिटी त सुन्दर चिज हो । म अहिले पनि कतिपय सन्दर्भमा मलाई तनाव, छटपटी भयो भने, काम भएन भने घरमा न्युड भएर बस्छु । जाडोमा त सम्भव भएन । तर न्युडिटी आवश्यक छ, आफ्नो अवलोकनका लागि पनि । न्युड हुनु भनेको पारदर्शी हुनु हो । पारदर्शिता सुशासनको एउटा मुख्य तत्व हो । म मेयर भएँ भने अरु प्रतिनिधिहरूदेखि सबैलाई पनि न्युड हुन प्रेरित गर्छु । सबै विचार, धर्म, वाद, जेजेले मान्छेको कित्ताकाँट गरेको छ, त्यो सबै आवरण फुकालेर नांगो हुन लगाउँछु । 

तपाईंका प्रिय साथी लेखक कुमार नगरकोटीलाई तपाईंले चुनावी प्रचार–प्रसारमा सँगै हिँडाउनुभयो भने मत बढ्ला कि घट्ला ? ‘दुई जोगी’ले ‘मताम् देही’ भनिरहेको दृश्य पनि रमाइलो देखिएला त...

(लामो हाँसो) त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ । म चुनाव प्रचार भौतिक रूपमा नगर्न पनि सक्छु । उहाँ (नगरकोटी)को प्रेम, साथ मलाई छ भन्ने त जगजाहेर नै छ । मानिसको राजनीतिक जीवनसँगै वैयक्तिक जीवन पनि हुन्छ, कति खुल्ने÷नखुल्ने भन्ने हुन्छ । तर उहाँ आउनुभयो भने प्रेमको अभिव्यक्ति हुन्छ । प्रेमको अभिव्यक्ति त कसले नकार्न सक्छ र ? अहिले झनै ‘भ्यालेन्टाइन विक’ पनि चलिरहेको छ नि । (हाँसो) 

तपाईं एकदमै अस्थिर हुनुहुन्छ । चुनाव जितेकै भोलिपल्ट राजीनामा दिन पनि सक्नुहुन्छ नि ? 

हो, यो चाहिँ बडा गाह्रो पर्यो । (फेरि लामो हाँसो हाँस्दै) । म अस्थिर प्रकारको मान्छे हो, अस्थिरता हुनु भनेकै थिरता पनि हो । थिरता सहितको छटपटी भएको मान्छे हो म । छटपटी यसर्थमा कि मलाई सन्तोष छैन । सन्तोष हुनु र सन्तुष्टि हुनुमा त फरक छ नि । अभावमा पनि खुसी हुनुलाई सन्तोष भनिन्छ भने अभावविनाको खुसी सन्तुष्टि हो । म चाहिँ सन्तुष्टिवादी मान्छे हो, सन्तोषवादी होइन । जनताले सन्तुष्टि चाहेका छन्, सन्तोष होइन । जनताले खोज्ने डेलिभरी हो । 

आजसम्म कति वटा (राजनीतिक) पार्टी चाख्नुभयो ?

चाख्नु भनेको अरुले तयार गरेको खाने हो । म अरु कसैले खोलेको पार्टीमा समावेश भएको छैन । सानोमा त नबुझी, लहलहैमा लागें होला किनभने यहाँ घरघरमा दलका मान्छे छन्, दलदलका बच्चा जन्मन्छन् । म बुझ्ने भएपछि भने त्यसरी अरुले बनाएको खाना (पार्टी) चाख्न गइनँ । बीचमा चाहिँ डाक्टर बाबुराम भट्टराईले नयाँशक्ति पार्टी निर्माणका बेला पार्टी निर्माणमै लागेको थिएँ । तर पछि मैले बनाउन लागेको भान्साको जस्तो स्वरूप नआएपछि त्यागिदिएँ । म अरुको भान्सामा गएर चाखेको चाहिँ छैन, भान्सा बनाउन चाहिँ लागेको थिएँ । 

हालका महानगर–नेतृत्वलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? 

अहिले नै नगरौं भो । उनीहरूले अझै ३–४ महिना काम गर्ने समय छ । कोही मान्छेले अन्तिम–अन्तिममै पनि राम्रोे काम गर्छ नि हैन ? म चाहिँ सन्तुष्ट छैन । सन्तोषजनक चाहिँ छ । 

ल तपाईंलाई बधाई छ । समयका लागि धन्यवाद पनि । 

हाहा हुन्छ, आज अलिक धेरै भावुक कुराहरू गरें । बिहानैबाट भावुक छु आज । (पौडेलले हरेक लाइनमा लामो हाँसो दिएका थिए । यहाँ कतै कतै मात्र ब्राकेटमा लामो हाँसो लेखेको भए पनि सबैतिर लामो हाँसो हो भनेर बुझिदिनुहोला ।) 
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x