वार्ता

समग्र कांग्रेसको पदाधिकारी बन्न सकेनौँ भने त्यो उल्टो बाटो हुन्छ [अन्तर्वार्ता]

दुर्गा आचार्य |
माघ १४, २०७८ शुक्रबार १३:४५ बजे

पार्टीलाई विधिसम्मत् र संस्थागत तुल्याउन कुनै कसर नछाड्ने दृढता छ, नेपाली कांग्रेसका निर्वाचित उपभासपति धनराज गुरुङको । यद्यपि गएकै अधिवेशन–महाधिवेशनका बखत गुटप्रथा अत्यधिक हाबी भएको थियो । त्यसले कांग्रेसलाई समस्यामा पार्ने हो कि आशंका निरन्तर छ । तर, उपसभापति गुरुङ त्यस्ता ‘ह्याङ्ओभर’बाट मुक्त हुँदै आउँदो चुनाव सामना गर्ने बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गर्छन् । त्यसका निम्ति आज घोषित हुने कार्यसम्पादन समितिले काम गर्ने उनको भनाइ छ । कांग्रेसमा न्यायोचित व्यवस्थापन, स्थानीय चुनावका सन्दर्भमा उठेका विवादमा गुरुङसँग इकागजकर्मी दुर्गा आचार्यले गरेको कुराकानीकाे सम्‍पादित अंश:

महत्वपूर्ण राजनीतिक सवाल आउँदा पार्टीभित्र कुनै छलफल नगरी गठबन्धन दलबीच छलफल गर्ने क्रम बाक्लिएको छ, यसले कांग्रेसलाई असर गर्दैन ?


निर्वाचनका सम्बन्धमा हरेक दलले आफ्नै दलभित्र पहिला छलफल गर्नुपर्छ । आज केन्द्रीय समितिको बैठक बस्दैछ । उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुनु अगावै स्थानीय निर्वाचनका सन्दर्भमा पार्टीभित्रै ठोस नीति तय हुनुपर्छ । किनभने उक्त राजनीतिक संयन्त्र वैधानिक संस्था होइन । पार्टीको मान्यता बनिसकेपछि उच्चस्तरीय संयन्त्रमा छलफल हुन सक्ला । आखिर निर्णय लिने सरकारले हो । तर हाल उठेका निर्वाचनका विषयमा हरेक दलभित्र छलफल हुनुपर्छ । निर्वाचनका कुरा आ–आफ्ना दलभित्र गहन ढंगबाट छलफल हुनुपर्छ । 

यसले त महाधिवेशनपछि पार्टीलाई संस्थागत गरेर लैजाने तपाईंहरूको बोलीमै शंका उब्जायो नी ?

पार्टीलाई संस्थागत ढंगबाटै अघि बढाउने प्रयत्न हुन्छ । यसकै लागि आज बैठक बस्दै छ । यसले कार्य सम्पादन समिति गठन गर्छ । कतिपय बेला केन्द्रीय समितिको बैठक बस्न नसक्दा कार्य सम्पादन समितिले निर्णय गर्छ । पार्टी संस्थागत रूपमा अगाडि बढोस् भनी प्रयत्नहरू गरेका छौँ । पार्टी सञ्चालन चुस्त, दुरुस्त एवं संस्थागत होस् भन्ने छ । यसले पार्टीलाई एकताबद्ध गर्दै लानेछ । 

स्थानीय चुनावका सन्दर्भमा जसरी विवाद आइरहेका छन्, केन्द्रीय समितिले केही निर्णय लिन्छ ?

आज बस्ने बैठकको एजेन्डा कार्य सम्पादन समिति गठन गर्ने भन्ने छ । त्यसको लगत्तै एक दुई दिनभित्रै कार्य सम्पादन समितिको गठनपश्चात् स्थानीय निर्वाचनबारे छलफल गरी निर्णय लिइनेछ ।

सभापतिले त पार्टी पदाधिकारीसँग छलफल नगरी गठबन्धनसँग बढी छलफल गर्ने गरेको देखिएको छ नि ! किन यस्तो ?

प्रधानमन्त्रीको हैसियतमा गठबन्धनमा रहेका दलसँग छलफल गर्नु अस्वाभाविक, आश्चर्यजनक वा अनौठो मान्नु हुँदैन । सँगै प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेसको पनि सभापति भएका कारणले संस्थागत रूपमा पार्टीभित्र पनि छलफल बढाउनुपर्छ । उहाँ समानान्तर रुपमा अघि बढ्नुपर्छ । सभापतिको हैसियतले राष्ट्रिय मुद्दामा पार्टीभित्र छलफल चलाउनुपर्छ । प्रधानमन्त्रीको हैसियतमा गठबन्धनभित्र छलफल गर्नुलाई स्वाभाविक लिनुपर्छ । त्यहीकारण पनि पार्टीमा तमाम विषयमा छलफल चलाउनकै निम्ति कार्य सम्पादन समिति निर्माणमा जोड गरेका हाैँ । किनभने केन्द्रीय समिति ठूलो आकारको छ र यसको बैठक बोलाइरहन सम्भव नहुन सक्छ । त्यसो हुँदा तत्काल आवश्यक पर्ने विषयमा निर्णय लिन कार्यसम्पादन समितिको बैठक बसाउन सजिलो हुन्छ । पार्टीभित्र बृहत् छलफल गर्ने वातावरण निर्माणका लागि हामीले यो बाटो अपनाएका छौँ ।

महाधिवेशनपछि पार्टीमा केही परिवर्तन होला कि भन्ने अपेक्षा थियो तर केन्द्रीय समिति मनोनयन र राष्ट्रिय सभा सदस्य उम्मेदवार चयनमा व्यक्तिवाद हावी भएको चर्चा सुनियो ? भविष्यमा यो समस्या कति जटिल होला ?  

अब पार्टीलाई एकतावद्ध र संस्थागत गर्दै लैजाने हाम्रो पनि दायित्व हो र कार्यभार हो । राष्ट्रिय सभा सदस्यमा उम्मेदवार चयन गर्दा छोटो समयमा निर्णय लिनुपर्दा केही प्रविधिक रूपमा परिपाटीहरू नमिलेको थियो । जस्तै गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले कार्यसमिति बैठक बस्दै निर्णय गरेर पठाउनुभयो । त्यसमा गण्डकीले धेरैको नाम पठायो, त्यो अलि गलत भयो जस्तो लाग्छ । विधानले एक उम्मेद्वारका लागि ३ जनाको नाम सिफारिस गर्नु भनेको छ । लुम्बिनीले भने विधान बमोजिम नै नाम पठायो । लुम्बिनीमा सिफारिसमा भएकै नाम परेको छ । अन्य प्रदेशबाट त्यस्तो नभएको देखियो । त्यतिखेर समय अभाव थियो । यसमा पटक्कै संस्थागत भएन र व्यक्तिवादी ढंगले गयो नभनिहालुँ । छलफल नै भएन भन्ने पक्कै होइन । त्यसमा छलफल पनि भएकै हो । त्यसमा केही तलमाथि भएको छ भन्ने कुरालाई मैले स्वीकार पनि गरेँ । मुख्य कुरा न्यायोचित व्यवस्थापन गर्नुपर्छ भनेर महाधिवेशनभन्दा अघिदेखि हामीले कुरा गर्दै गर्दा ६ जनाका लागि खासै प्रश्न उठाइहाल्नु पर्ने देख्दैनौँ ।

भर्खरै सकिएको महाधिवेशनमा दुई गुटमा स्पष्ट उभिँदै सभापति चयन भएको दृश्य छँदैछ, सभापतिमा शेरबहादुर देउवा चुनिएपछि उहाँले तमाम कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी सुनिन थालेका छन् ? यस्तोमा तपाईंहरूको भूमिका के हुन्छ ?

हो, पार्टीमा मन मिल्ने साथीबीच बढी उठबस होला । त्यस्तो मेरो पनि हुन सक्छ । तर पार्टीमा के मान्यता स्थापित गर्नुपर्छ भने उम्मेदवार बन्दा एउटा समूहबाट बन्नुपर्ने परिस्थिति आयो । म पनि उपसभापतिमा चुनाव लड्दा एउटा समूहबाटै लडेको हुँ । त्यसरी नै पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि समूहबाट चुनाव लड्नु भएको हो । तर अब निर्वाचित भइसकेपछि हामी सबै कांग्रेसजनका हाैँ । अब हाम्रो कार्यव्यवहार गुटगत हुनु हुँदैन । त्योभन्दा माथि उठ्दै सबैको सभापति, सबैको उपसभापति, सबैको महामन्त्री हुँदै अरु पदमा विजय हासिल गरेकाहरूले पनि त्यसरी अघि बढ्नुपर्छ । हाम्रो कार्य व्यवहारलाई त्यसरी अघि बढाउने बाटोमा हामी लागिसकेका छौंँ । हाम्रो चार वर्षे कार्यकाल भर्खर मात्र प्रारम्भ भएको छ । हामी समग्र कांग्रेसको पदाधिकारी बन्न सकेनौँ भने उल्टो बाटो लाग्न सक्ने खतरा हुन्छ । पार्टी, चुस्त, सवल र सक्षम संगठन बनाउने सन्दर्भमा हामी सबैको एकचित्त हुनुपर्छ । हामी जसरी प्यानलमा चुनाव लड्यौँ त्यही प्यानलका लागि बोल्नुपर्छ र तिनैका लागि मात्र काम गर्नुपर्छ भन्ने सोचकै कारण पार्टी बिग्रिएको हो । अब पनि त्यही बाटोमा हिँडियो भने त पार्टीलाई राम्रो गर्दैन । हामीले अब त काम गरेरै देखाउनुपर्ने बेला छ, त्यसो हुँदा कुनै समूहको होइन कि सबैको बनेर अघि बढ्नुपर्ने बेला छ । हामी विगतकै ‘प्यानल ह्याङ्गओभर’बाट अघि बढ्नु हुँदैन ।

तपाईंले भन्नुभयो, गुटगत राजनीति वडा तहसम्मै पुगेको छ, त्यसलाई कसरी सल्टाउन सक्नुहुन्छ र ?

हो, त्यस्तो स्थिति छ । त्यही कारण मेरो तमाम कांग्रेस साथीहरूसँग आग्रह छ कि अधिवेशन–महाधिवेशनका सिर्जित गुट बिर्सेर अघि बढ्नुपर्छ । पुरानै ‘ह्याङ्ओभर’मा रहने हो भने पार्टीलाई गति दिन सकिँदैन । झन् अब तीनै तहको निर्वाचन आउँदैछ, ती निर्वाचनमा पार्टीलाई जिताउनेतिर लाग्नुपर्छ । पार्टी बलियो भएन भने त ती चुनाव सामना गर्न कठिन हुन्छ । तपाईँले प्रश्न गरे झैँ वडा तहसम्म पुगेको समूहगत स्थितिलाई सल्टाउनेमा हामी सबै लाग्नुपर्छ । हामीले ती ‘च्याप्टर क्लोज’ गर्नुपर्छ, हामी एकै घरभित्रका परिवार भएपछि मिलेर जानुको विकल्प हुन्न ।

आज जसरी न्यायोचित व्यवस्थापनको सन्दर्भ उठाउनुभयो, आज बन्दै गरेको कार्य सम्पादन समितिमा त्यस्तो व्यवस्थापन हुन सक्ने सम्भावना कत्तिको छ ?

म उचित र न्यायोचित व्यवस्थापन हुने देख्छु । किन नहुने ? पार्टीका सिनियर नेता र साथीहरू कार्यसम्पादनमा समितिमा पर्नुहुन्छ, बस्नुहुन्छ भन्ने मलाई विश्वास छ ।

तपाईँ त कांग्रेसको तेस्रो स्थानमा हुनुहुन्छ, कांग्रेसलाई दर्बिलो बनाउने योजना चाहिँ के–के छन् ?

हामीले कांग्रेसलाई विधिगत्–संस्थागत शैलीमा अघि बढाउने हो । यसबारे छलफल पनि चलिरहेको छ । कोभिड-१९ संक्रमणका कारण भौतिक रुपमा छलफल हुन नसके पनि भर्चुअल, फोनमा चलिरहेकै छ । हाम्रो मुख्य योजना पार्टीलाई विधानसम्मत् तरिकाले अघि बढाउनुपर्छ भन्ने हो । त्यहीकारण विधानतः कार्य सम्पादन समिति बनाउन लागिएको हो । विधानले तोके बमोजिम नै व्यवहारमा उत्रने हाम्रो योजना हो । 

 


Author

थप समाचार
x