वार्ता

रास्वपाको कृषि नीतिबारे महामन्त्री तथा प्रवक्ता मुकुल ढकाललाई ५ प्रश्‍न

इकागज |
चैत १३, २०८० मंगलबार १७:२२ बजे

काठमाडौँ- कृषिमा आश्रित मुलुक सबैभन्दा कमजोर कृषिमा नै छ । सरकारले कृषिलाई प्राथमिकतामा राखेकै छैन । कुनै समय खाद्यान्न निर्यात गरेको इतिहास छ । तर अहिले इतिहास विपरीत खाद्यान्न आयातमा निर्भर छ । जसले गर्दा कृषि क्रान्तिको नारालाई जिस्क्याएको भान हुन्छ । 

कृषिमा आधुनिक प्रणालीको विकास भइसक्दा पनि मुलुकले उल्लेख्य प्रगति गर्न सकेको छैन । कृषिमा प्रविधिले फड्को मारिसक्दा पनि यहाँ लागू हुन सकेको छैन । अहिले पनि खेतबारीमा परम्परागत प्रणालीमा कृषि व्यवसाय गरेको पाइन्छ ।  व्यवहारिक कृषिमा लागू भएका छैनन् । 


राजनीतिक दल र सरकारले कृषिलाई प्राथमिकतामा नराख्दा यो क्षेत्र ओझेलमा परे जस्तै भएको छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बाहिरी कभरमा लेखिएको छ ‘ठूला ठूला कुरा भनेर हैन, अब भनेको काम गरेर देखाउने बेला आएको छ । रास्वापाले वाचापत्रमा कृषिमा क्रान्ति, जन जनमा समृद्धि अनि शान्तिको नारा दिएको छ । 

एक क्षेत्र, एक बाली किसानको जीवनमा खुशीयाली, पाँच लाख टन क्षमताको रासायनिक मल कारखाना स्थापना गर्ने, कृषि भूमि बैंकको स्थापनालगायतका वाचा रास्वापाले आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ । उनीहरुले गरेको वाचा अनुसार हालसम्म के के काम भए त ? रास्वापाका महामन्त्री मुकुल ढकालसँग इकागजले गरेको कुराकानी । 

तपाईंहरूले वाचापत्रमा उल्लेख गर्नुभएको कृषि क्रान्तिका लागि के के गर्नुभएको  छ ?
अहिले हामीसँग कृषि मन्त्रालय छैन। हाम्रो भागमा मन्त्रालय नपरेकाले हामीले त्यति धेरै जिम्मेवारी लिनचाहिँ सक्दैनौँ । तर सबै राजनीतिक दललाई मनाएर केही सुधार गर्ने प्रयास रहन्छ । हाम्रो कृषि विभाग छ । चितवन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिका जहाँ चेपाङ बस्ती छ । बिहान बेलुका के खाने भन्ने अवस्था छ, भोकमरीको अवस्था छ ।  हाम्रो कृषि विभागले त्यहाँ गएर तरुल खेती गर्न सिकाएको छ । त्यो हाम्रो पाइलट प्रोजेक्ट हो । कोहीलाई नसकेपनि हाम्रा कार्यकर्ताहरूलाई सिकाउँछौँ । कृषि विभागले अहिले स्विट मकै निकालेको छ । १० केजी बिउ निकाल्नु भएको छ । त्यो बिउ रोपेर धेरै उत्पादन गर्ने हाम्रो लक्ष्य छ । १ केजी मैले पनि लगाएको छु । 

एक क्षेत्र एक कृषि बाली किसानको जीवनमा खुशीयाली भन्नु भएको थियो के भइरहेको छ ?  
हामीले एक निर्वाचन क्षेत्र एक कृषि बालीको नारा दिएका थियौं । त्यसका लागि कृषि विभागका भूमिनन्द बरालले कार्ययोजना बनाइरहनुभएको छ । कहाँ कहाँ कुन बाली लाग्छ तयार पारिसक्नुभएको छ । त्यसबारे हामी बसेर छलफल गर्छौ । कुन क्षेत्रमा के बाली लाग्छ भन्ने कार्ययोजना पुरा भएपछि हामी कार्यान्वयनमा जान्छौं । 

५ लाख टन उत्पादन क्षमताको रासायनिक मल काराखाना स्थापना गर्ने कुरा कहाँ पुग्यो ? 
रासायनिक मलको कारखाना नेपालमा खोल्नुपर्छ भनेर लेखेका थियौं  । हाम्रो वाचापत्रमा पनि छ । हामीले सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम तय गर्दा यो कुरा मैले उठाएको पनि छु । अन्य राजनीतिक दलका नेताहरूपनि सहमत हुनुहुन्थ्यो । यसमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ र यसले प्राथमिकता पाउँनुपर्छ भन्नेमा सबै सहमत हुनुहुन्छ । । कति कुरा सरकारले नगरी पनि हुँदैन । पार्टीले मात्रै गर्न सक्दैन । 

बाहिरबाट ल्याउँदा डिमाण्ड पुग्दैन भन्ने रैछ । तर बाहिरबाट आउने मल रोकेर सरकारले अनुदान दिने हो भने मल कारखाना खोल्न सकिन्छ । डिमाण्ड एउटा उद्योग नै धान्न नसक्ने भन्ने हैन । सप्लाइ चेन्ज म्यानेज गर्नुपर्ने जरुरी रहेछ ।

राष्ट्रिय कृषि ग्रिडको स्थापना गरी कृषि उत्पादन, भण्डारण र वितरणका विभिन्न पक्षहरूमा आमुल परिवर्तन ल्याई ५ वर्षभित्र किसानको आय दोब्बर बनाउने भनिएको थियो के भइराछ ?
यो नीतिगत कुरा हो । 

कृषि भूमि बैंकको स्थापना गर्ने कुरा थियो के भइराछ ?
अब साझा न्यूनतम कार्यक्रममा भूमि बैंकका कुराहरू समेट्ने प्रयास गरेका छाैँ । नाम अर्काे हाेला कुरा त्यहिँ हाे । नीतिगत रुपमा स्विकारोक्ति हुनुपर्छ । हाम्रो कुरा हामीले बिर्सेको छैन । साझा न्यूनतम कार्यक्रम पछि नीति तथा कार्यक्रममा आउँछ त्यसपछि बजेटमा आउँछ, बजेट कार्यान्वयन भएपछि जनताले पाउँछन् ।


Author

थप समाचार
x