वार्ता

अन्तर्वार्ता

‘साथीहरूले हामीलाई नेतृत्वको जिम्मेवारी सुम्पनेमा ढुक्क छौं’

इकागज |
असार २९, २०८० शुक्रबार १९:१९ बजे

काठमाडौँ- शैक्षिक परामर्श संघ (इक्यान)को शनिबार हुने महाधिवेशनमा नेतृत्वका लागि चार जना प्रतिस्पर्धी मैदानमा छन् । अध्यक्षका प्रयासी सबैले आफू र आफ्नो टिमको जित निश्चित भएको दाबी गरिरहेका छन् । यसै परिवेशबीच अध्यक्षका एक उम्मेदवार शेषराज भट्टराईसँगको संक्षिप्त कुराकानी: 

इक्यान महाधिवेशनको संघारमा हुनुहुन्छ । कस्तो छ माहोल ?


माहोल एकदमै राम्रो छ । हामीले महाधिवेशनको तयारी करिब पूरा गरिसकेका छौं । नीतिगत बहसदेखि नेतृत्व छनोटको प्रक्रिया पनि अघि बढिसकेको छ । विश्वास छ, सभ्य र भव्य ढंगमा महाधिवेशन सफल हुनेछ । 

तपाईंंले पनि अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ । किन दिनुभएको उम्मेदवारी ?

इक्यान नेतृत्वका लागि मेरो उम्मेदवारी एकदमै स्वाभाविक मात्रै होइन, आवश्यक पनि हो भन्ने ठम्याइ छ । यसअघि मैले महासचिव र उपाध्यक्ष हुँदा निर्वाह गरेको भूमिकाले पनि मेरो नेतृत्वको आकांक्षा स्वाभाविक लाग्छ ।

शैक्षिक परामर्श व्यवसाय तथा इक्यानका बारेमा उठेका विषयवस्तुलाई तार्किक निष्कर्षमा पुर्याउनका लागि पनि मेरो उम्मेदवारी हो । आइटिपीविरुद्धको हाम्रो लडाई थियो जुन समयमा म महासचिव थिएँ । यसमा म आफैँ प्रतिवादी भएर अदालत पुगेँ । विभिन्न विषय परिवेशसँगै आजका दिनमा धरौटीका प्रसंग आएका छन् जुन कुनै तरिकाबाट पनि जायज छैन । आगामी दिनमा इक्यानलाई व्यवसायीमैत्री बनाउँदै यस क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालीन समाधान खोज्ने अभियानमा लाग्ने सोच पनि मेरो छ । त्यसैले मैले उम्मेदवारी दिएको हुँ ।

तपाईंंले प्रतिस्पर्धामा जित हासिल गर्ने आधार के छन् ?

हाम्रो जितको मुख्य आधार भनेको हाम्रा प्रभावकारी योजना र सशक्त टिम नै हो । इक्यानमा एउटा यस्तो नेताको खाँचो छ, जसले सरोकारवाला निकाय, सरकारी निकाय, कूटनैतिक निकाय, विदेशका कलेज तथा युनिभर्सिटीसँग करस्पन्डेन्ट गर्न सक्ने हुनुपर्छ । इक्यानका शाखा विभिन्न स्थानमा छन् । ती शाखासँगको समन्वयमा कमी छ । ती शाखासँग समन्वय गरेर अगाडि बढ्नु आवश्यक छ । मेरो ध्यानमा यसमा हुनेछ । सरोकारवाला सबैलाई समेटेर संस्थाको नेतृत्व गर्ने र इक्यानको गरिमालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित हामी मैदानमा छौं । यो नै हाम्रो जित्ने आधार हो ।

अध्यक्षकै लागि चारजना प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरूले पनि आफू जित्ने दाबी गरिरहनु भएको छ । के भन्नुहुन्छ ?

उहाँहरूलाई पनि त्यस्तो लाग्नु स्वाभाविक हो । तर, तुलनात्मक रूपमा हाम्रो टिमलाई अधिकांश अग्रज र अनुज व्यवसायीको साथ, सहयोग र समर्थन छ । अहिलेका अध्यक्ष, महासचिव र म स्वयम् उपाध्यक्ष हाम्रै टिममा छौं । पूर्व अध्यक्ष एवम् सल्लाहकारहरूको पनि मलाई साथ छ । त्यसैले मेरो जित निश्चित जस्तै देखेको छु ।

अन्तिममा के भन्नुहुन्छ ?

इक्यानको सुन्दर भविष्यका लागि सम्पूर्ण प्रतिनिधि साथीहरूले म र मेरो टिमलाई मत दिनेमा आशावादी मात्रै होइन, ढुक्क छु । अझै कोही साथी कन्फ्यूजमा हुनुहुन्छ भने यसपालि हाम्रो टिमलाई नेतृत्वको जिम्मा दिएर परीक्षण गर्न अनुरोध गर्दछु । म सबैलाई विश्वास दिलाउन चाहन्छु कि, तपाईंहरूको भरोसामा तुषारो पर्न दिने छैन ।


Author

थप समाचार
x