वार्ता

अन्तर्वार्ता

'रोजगारी बोटमा फल्ने फल हो र ?'

इकागज |
असार १२, २०८० मंगलबार २१:३१ बजे

स्थानीय तहमा आन्तरिक रोजगारीका अवसरहरूमा वृद्धि गर्न रोजगारीका सम्भावित मुख्य क्षेत्रहरू जस्तै कृषि क्षेत्र, निर्माण क्षेत्र, उत्पादन क्षेत्र, यातायात क्षेत्र, पर्यटन क्षेत्र, सूचना प्रविधि, उद्यमशीलत विकास र सीप तथा क्षमता विकासका क्षेत्रहरूमा के कति लगानी गर्दा वा के कति लगानी वृद्धि गर्दा आन्तरिक रोजगारीका अवसरहरू अधिक रुपमा वृद्धि गर्न सकिन्छ । रोजगार प्रवर्द्धनमा स्थानीय तहले के कस्तो रणनीति अपनाउनु पर्छ वा कुन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्नुपर्छ । रोजगारी सृजना तथा प्रवर्द्धनमा अन्य सरोकारवाला निकाय एवं विकास साझेदार संस्थाहरूको भूमिका के हुन्छ । यसै सेरोफेरोमा रही गत महिनामा स्थानीय रोजगार रणनीतिक योजना जारी गरेको रौतहटको परोहा नगरपालिकाका रोजगार संयोजक संदीपकुमार साहसँग स्थानीय तहमा श्रम तथा रोजगारीको विभिन्न आयाम, अवसर एवं आगामी कार्यदिशाको बारेमा इकागजले गरेको कुराकानी:

सम्भवतः पहिलो स्थानीय तह परोहा नगरपालिकाले स्थानीय रोजगार रणनीतिक योजना जारी गरेको छ, यसले नगरपालिकाभित्रका बेरोजगार व्यक्तिहरूलाई के कसरी फाइदा हुने अपेक्षा गरिएको छ ?


हो, सम्भवतः पहिलो नगरपालिका परोहा नै होला । यसले नगरपालिकाभित्र रहेका रोजगारीका सम्भावित क्षेत्रहरूको पहिचान गरेको छ र आउँदो दिनमा सोही अनुसारको दक्ष, सीपयुक्त, क्षमतावान् एवं प्रतिस्पर्धी जनशक्ति तयार गरी रोजगारीमा पदस्थापन गर्न सहयोग पुग्नेछ भने रोजगारीका क्षेत्रहरूमा देखिएको समस्याहरूको समाधान तथा रोजगारी सिर्जनाका नवीनतम् उपाय एवं विधिहरूको विकास गर्न पनि रोजगार रणनीतिक योजनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । 

रणनीतिक योजना कार्यान्वयन गर्न कतिको चुनौतीपूर्ण रहेको छ, कार्यान्वयन पक्ष सफल भए के के उपलब्धि हुने आशा गरिएको छ ? 

कार्यान्वयन पक्ष जहिले पनि चुनौतीपूर्ण नै हुन्छ । लक्ष्य हासिल गर्न सजिलो भएको भए रणनीतिक योजना किन जारी गर्नु पर्थ्यो र । यसको सफल कार्यान्वयनले बेरोजगार व्यक्ति वा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूलाई उत्पादनशील र मर्यादित रोजगारी प्राप्त गर्न सहयोग पुग्ने आशा गरिएको छ । उत्पादनशील रोजगारीले मानिसको आयआर्जन क्षमतालाई बढाउँछ र यसले बेरोजगारी तथा न्यून रोजगारलाई कम गर्न सहयोग गर्छ । समग्रमा नगरपालिकाको गरिबी न्यूनीकरणमा समेत मदत पुग्ने आशा छ । 

रोजगार रणनीतिक योजनाले नगरपालिकाका सबै नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गर्न सक्छ त ?

यो रणनीतिक योजनाले परोहा नगरपालिकाभित्रका सबै नागरिकहरूलाई उत्पादनशील र मर्यादित रोजगारीका अवसरमा पहुँचका लागि एउटा आधार पक्कै पनि तयार गर्नेछ । यो रणनीतिक योजनाले आन्तरिक रोजगारी सिर्जना एवं रोजगार प्रवर्द्धन गर्न, श्रम बजारको माग बमोजिमको रोजगारमूलक तथा सीपमूलक तालिम सञ्चालन गर्न, रोजगारीका लागि पहिचान गरिएका सम्भावित क्षेत्रहरूको आवश्यकता अनुसार सीपयुक्त, दक्ष, प्रतिस्पर्धी र क्षमतावान जनशक्ति तयार गरी स्थानीय श्रम बजारमा आपूर्ति गर्न पनि सहयोग गर्नेछ । यसको साथसाथै देशमा बढदो गरेको बेरोजगारी समस्यालाई समाधान गर्न तथा आन्तरिक रोजगारीका पर्याप्त अवसरहरूको कमीका कारण रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने बाध्यात्मक अवस्थालाई निरुत्साहित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पनि योगदान गर्नेछ ।

रणनीतिक योजना कार्यान्वयनमा रोजगार सेवा केन्द्रको के कस्तो भूमिका रहन्छ ?

स्थानीय तहमा श्रम तथा रोजगार सम्बन्धी एकीकृत सेवाहरू सञ्चालन गर्ने मुख्य काम रोजगार सेवा केन्द्रको नै छ । यसको साथसाथै आन्तरिक तथा वैदेशिक रोजगारीका अवसरहरूको जानकारी उपलब्ध गराउने, रोजगारीका सम्भावना तथा अवसरहरूको पहिचान गर्ने, रोजगारमूलक सेवाहरूको नाक्सांकन गर्ने, स्वरोजगारका अवसर सम्बन्धी जानकारी उपलब्ध गराउने, स्थानीय तहमा रहेका रोजगारदाताको प्रोफाइलिङ्ग तयार गर्ने, रोजगार विनिमय सेवा, उद्यमशिलता विकास, सुरक्षित आप्रवासन, वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति, वैदेशिक रोजगार सम्बन्धी कल्याणकारी सेवाहरूको सञ्चालन, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूलाई पुनःएकीकरण लगायत अन्य श्रम रोजगारका विषयमा परामर्श तथा रेफरल सेवा प्रवाह गर्ने भएकोले यो रणनीतिक योजना कार्यान्वयन गर्ने मुख्य अभिवारा, दायित्व एवं जिम्मेवार निकाय पनि रोजगार सेवा केन्द्र नै हो । संविधानमा रहेको श्रम तथा रोजगारी सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने निकाय स्थानीय तहमा रोजगार सेवा केन्द्र नै रहेको छ ।  

रोजगारी सिर्जनामा स्थानीय तहको के कस्तो भूमिका रहनु पर्छ ?

हेर्नुस, रोजगारी बोटमा फल्ने फल होइन । जसलाई सजिलै उत्पादन गर्न सकिन्छ । रोजगारी त सिर्जना गर्नु पर्छ र सजिलो पनि होइन । रोजगारी सिर्जनामा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको छ । स्थानीय तहभित्र रोजगारी कसरी वृद्धि गर्ने, कुन कुन क्षेत्रमा वृद्धिको सम्भावना छ, दक्ष सीपयुक्त जनशक्ति, प्रविधि, श्रमशक्ति, वित्तीय पहुँच, श्रोत साधन, यातायातको सञ्जाल र सुविधा, बजार आदिको दृष्टिले कुन कुन ठाउँ र क्षेत्रहरूमा आगामी वर्षहरूमा कति संख्यामा रोजगारी सिर्जना हुने, रोजगारी सिर्जनामा सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको भूमिका कस्तो हुने र सार्वजनिक, निजी, सामुदायिक तथा सहकारी क्षेत्रहरूबाट आउँदो वर्षहरूमा कुन कुन क्षेत्रमा के कति संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ र त्यसका लागि स्थानीय तहले श्रम बजारमा हस्तक्षेप गर्ने खालको नीतिगत व्यवस्था, वित्तीय सहयोग तथा पूर्वाधार निर्माण एवं प्रविधिको व्यवस्था गर्नु पर्दछ आदि कुरामा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ । 

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न सरोकारवाला पक्षहरूको के कस्तो भूमिका रहेको छ ?

रोजगारी बहुआयामिक तथा अन्तरसम्बन्धित विषय हो । रोजगारीको आफ्नो कुनै विशेष क्षेत्र हुँदैन । यो विभिन्न क्षेत्रहरूमा सिर्जना हुने हो । कुनै एक तह, क्षेत्र वा कार्यक्रमबाट रोजगारी सिर्जना हुने पनि होइन । यसका लागि त विभिन्न तह, क्षेत्र, कार्यक्रम र सरोकारवालाहरू बीच समन्वय र सहकार्य हुनु जरुरी छ । सरोकारवाला पक्षहरूको सहभागिता बिना रोजगारी सिर्जना गर्ने काम एकदम कठिन नै हो । अधिकतम रोजगारी सिर्जना गर्नका लागि विभिन्न तह, क्षेत्र, कार्यक्रम एवं सरोकारवालाहरूसंग समन्वय, सहकार्य र साझेदारी गर्न आवश्यक छ । 

अबको दिनमा रोजगारी सिर्जना गर्न परोहा नगरपालिका कसरी बढ्छ ?

रणनीतिले औंल्याएका रोजगारीका सम्भावित मुख्य क्षेत्रहरू जस्तैः कृषि क्षेत्र, निर्माण क्षेत्र, उत्पादन क्षेत्र, यातायात क्षेत्र, पर्यटन क्षेत्र, सूचना प्रविधि तथा वैदेशिक रोजगारी आदि क्षेत्रहरूमा जनशक्ति उपलब्धताको अवस्था कस्तो छ, उक्त क्षेत्रहरू के कस्ता सीप तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने अथवा उक्त क्षेत्रहरूमा के कति लगानी गर्दा वा के कति लगानी वृद्धि गर्दा वा नगरपालिकाले के कस्तो रणनीति अपनाउँदा वा कुन क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दा आन्तरिक रोजगारी अवसरहरूमा वृद्धि गर्न उल्लेखनीय भूमिका खेल्न सक्छन् । त्यसै बमोजिम आउँदो दिनहरूमा परोहा नगरपालिका योजनाबद्ध तरिकाले अगाडि बढ्ने छ । 

अन्तमा रोजगारी सिर्जना गर्ने कार्यमा रोजगार सेवा केन्द्र कतिको सक्षम छ त ?

रोजगारी सिर्जना गर्ने कार्यमा मात्र होइन रोजगार प्रवर्द्धन, रोजगार सम्बद्ध सरोकारवालहरूबीच समन्वय र सहकार्य गर्न, श्रम बजारको माग अनुसारको दक्ष, व्यावसायिक, सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति तयार गर्न, उद्यमशिलताको विकास गर्न समेत रोजगार सेवा केन्द्र सक्षम र जवाफदेही हुँदै गएको छ । अबको दिनमा श्रम तथा रोजगारको क्षेत्रमा स्थानीय तहमा रोजगार सेवा केन्द्रको विकल्प नरहेको देख्छु म । 


Author

थप समाचार
x