वार्ता

देउवाको वरिपरि घुम्ने परिश्रमीले होइन, परिक्रमीले कांग्रेस बिगारेका छन्

उपेन्द्र अर्याल |
पुस २८, २०७९ १७:५४ बजे

‘मतदाताले ठूलो पार्टी बनाउँदै पठाउँदा पनि कांग्रेस सत्ताबाहिर रहनुको जिम्मेवारी कसले लिनुपर्ने हो त ?’ इकागजको प्रश्नमा कांग्रेसका युवा नेता तथा नवनिर्वाचित सांसद रामहरि खतिवडाको जवाफ रह्यो, ‘यसको जिम्मेवारी सभापतिले लिनुपर्छ । उहाँसँगै नजिकमा बस्ने कोटरीका सल्लाहकार जो–जो थिए, उनीहरूले जिम्मेवारी लिनुपर्छ ।’ संविधानसभा सदस्य र यसपालि गरी दुई पटक निर्वाचित खतिवडा नेतृत्वको परिपरि बस्नेले पार्टी बिगारेको टिप्पणी गर्छन् । सरकार निर्माणमा कांग्रेस पछारिनु, सरकारलाई विश्वासको मत दिनु र कांग्रेसभित्रको आन्तरिक खिचातानीका सेरोफेरोमा रहेर सांसद खतिवडासँग उपेन्द्र अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसलाई त 'अभागीको गाँस खाने बेलामा हावाले उडाउँछ' भने जस्तै भयो त ?  संसद्‌मा ठूलो दल भएर पनि सरकार गठन गर्न सकेन ?


२०७४ मा हामी कमजोर थियौँ । देशको राजनीति पनि कमजोर भयोे । संसदीय व्यवस्थामाथि प्रहार भयो । कानुनी राज्यमाथि प्रहार भयो  । राजनीतिक अस्थिरता बढ्यो । भ्रष्टाचारका काण्डको खात लाग्यो । कोरोना कहरका बेलामा जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने बेलामा समेत तत्कालीन मन्त्रिपरिषद्का सदस्य नै भ्रष्टाचारमा मुछिएको पाइयो । सेक्युरिटी प्रेस, ओम्नी, वाइड बडी जहाज प्रकरणहरू आए ।

एमाले–माओवादीको गठबन्धन कालान्तरमा आफैँ असफल भयो । त्यस्तो एउटा अप्ठेरो अवस्थामा कांग्रेस नेतृत्वको सरकारले स्थानीय, प्रदेश र संघ तीनै तहको चुनाव गरायो । ती उपलब्धिमूलक काम हुन् । हामीले अप्ठेरो परिस्थितिमा साथ दिएका पाँच दलसँग गठबन्धन गरेर कांग्रेसलाई पहिलो पार्टी बनायौँ । कांग्रेस पहिलो दल भएपछि गठबन्धनका दलसँग जसरी समझदारीपूर्वक अगाडि जाने प्रतिबद्धता गरेका थियौँ । त्यसरी जान सकेनौँ ।

गठबन्धनमा सहमति कायम गर्न जो साथीहरूलाई अगाडि सारेका थियौँ, उहाँहरूले दलमा सहमति कायम गराउन सक्नुभएन । यो उहाँहरूको कमजोरी भयो । खासमा नढाँटी भन्दा सभापतिका नजिक हुने मान्छेहरूको कमजोरी हो, गठबन्धनलाई निरन्तरता दिन नसक्नुमा । उहाँहरूले हामीलाई सहमति हुन्छ भनेर गुमराहमा पार्नुभयो । प्रचण्डजी कहिल्यै पनि एमालेसँग मिल्न सक्नुहुन्न भन्ने उहाँहरूको दाबी थियो । ‘प्रचण्डलाई एमालेले यति अपमान गरेर लखेटेको छ, प्रचण्ड अब मिल्दैनन् एउटा अडान लिएर बस्नुहोस्, तपाईँ नै सत्तामा जानुहुन्छ’ भनी सभापति देउवालाई उहाँका वरिपरिका मान्छेले विश्वास दिलाए ।  सोही समूहले उहाँलाई गुमराहमा राख्दा कांग्रेस सत्ताबाहिर बस्नुपर्‍यो । देउवाको वरिपरि घुम्ने त्यो समूह परिश्रमी होइन, परिक्रमी हुन् । त्यही कारण हामीले सही समयमा सही निर्णय लिन सकेनौँ । त्यसको परिणाम यतिखेर भोगिरहेका छौँ । गठबन्धन दलका नेताहरूसँग विश्वास लिन/दिन सकेनौँ । यसकै परिणामस्वरूप सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर परेका हौँ ।

तपाईँको कुराले त सभापति चाहिँ निर्दोष भन्या जस्तो देखियो ? उहाँको चाहिँ दोष छैन ? अब कांग्रेस सत्ताबाहिर भएको जिम्मेवारी कसले लिने ? सभापतिले कि उहाँको वरपर घुम्ने समूहले ?

पार्टीमा पदाधिकारीको बैठक बस्छ । पूर्वपदाधिकारीहरूको बैठक बस्छ । त्यसपछि कार्यसम्पादन समितिको बैठक बस्छ । त्यसपछि मात्रै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्छ । यसपटक पनि कार्यसम्पादन समितिको बैठक बसेर कांग्रेस नेतृत्वको सरकार बनाउने भनेर निर्णय गरियो । यसको पहल गर्ने भनेर निर्णय गर्ने साथीहरूले पहल गर्नुपर्ने थियो कि थिएन ? उनीहरूले कति पहल गरे ? भन्ने प्रश्न हो । हामी एक अर्कोलाई दोषारोपणमा लागेका छौँ ।  जब सत्ता गुमेर राजनीतिमा उत्तानो परेर लडियो, त्यसपछि दोष लगाउने काम सुरु भयो । तर, दोष लगाउने पद्धतिले कांग्रेसलाई झन् कमजोर बनाउँछ । यो परिणामको जिम्मेवारी सभापतिले नै लिनुपर्छ । उहाँसँगै नजिकमा बस्ने कोटरीको दोष छ । सभापतिका सल्लाहकार जो–जो थिए, उनीहरूले जिम्मेवारी लिनुपर्छ । अब नेतृत्वको नजिकमा बस्ने कोटरी परिवर्तन पनि गर्नुपर्छ । 

महामन्त्रीहरूले त सभापतिले पार्टीमा छलफल नगरेको कारणले यस्तो भएको भन्ने आरोप लगाउनुभइरहेको छ नि । महामन्त्रीसहितका अन्य पदाधिकारीलाई समेत छलफलमा बोलाइएन भन्ने आरोप छ । किन छलफल हुँदैन पार्टीमा ?

म महामन्त्रीहरूलाई आरोप त लगाउन सक्दिनँ । तर, अरू बेला गुटको भेला गर्ने साथीहरूले त्यो बेला पनि गुटको भेला गरेर यस्तो गरौँ भन्नुपर्ने थियो । महामन्त्रीहरूले पनि पार्टीको बटमलाइन यो हुनुपर्छ भन्नुपर्छ भनी अडान राख्नुपर्ने थियो । उहाँहरू टिकट लिने बेला बिहान जुरूक्क उठेर सभापतिकोमा जानुहुन्छ त, अनि अप्ठेरो बेला निम्तो आउँछ कि आउँदैन भनी बस्नु हुँदैनथ्यो । पार्टीलाई अप्ठेरो परेको छ भन्ने थाहा पाएपछि एउटा केन्द्रीय सदस्य पनि त्यहाँ जानुपर्छ । हामीले विश्वास गरेका क्षमतावान महामन्त्रीहरू हुनुहुन्छ । उहाँहरूबाट हामी सबैले अपेक्षा राखेका छौँ । उहाँहरूसँग पार्टी अप्ठेरोमा जाँदैछ भन्ने जानकारी थियो भने सभापतिलाई भन्नुपर्थ्यो । पार्टीको भेला गरेर सुझावै दिनुभएको थियो भने पनि एउटा सन्देश जान्थ्यो । म एउटालाई दोष लगाएर आरोपको राजनीति गर्ने पक्षमा छैन । केन्द्रीय  कमिटी बैठकमा हामी यस विषयमा गम्भीर छलफल गर्छौँ । 

अब बस्ने केन्द्रीय कमिटीमा के–के अजेन्डा उठ्छन् ?

केन्द्रीय कमिटी बैठकमा विभिन्न विषयमा व्यापक छलफल हुनेछ । हामीले गरेका सबै कमीकमजोरीबारे छलफलमा ल्याउँछौँ । कांग्रेसको सरकार बन्दा मन्त्रीहरू बनेका साथीले के–के जिम्मेवारी बहन गरे ? चुनावमा कहाँ–कहाँ गुट बनाउने पहल गरे ? उहाँहरूका कारणले कति मान्छे पार्टीमा जोडिए ? पार्टीमा एक किसिमका मानिसले आफ्नो मात्रै क्षमता–योग्यता भएको जस्तो गर्छन् । नयाँ मान्छेलाई जिम्मेवारी नदिने प्रवृत्ति छ । यी सबै विषयमा छलफल गर्छौँ । 

निर्वाचन अगाडि देउवा र प्रचण्डबीचमा के सहमति भएको थियो ? अनि कसले यो सहमति तोड्यो ?

निर्वाचनमा म आफैँले पनि बोलेँ, ‘कांग्रेस भनेको माओवादी हो । माओवादी भनेको कांग्रेस हो ।’ हामीले एक–अर्कालाई मत माग्यौँ । त्यसको कारण कांग्रेसले लिएको सिद्धान्तमा माओवादी आएको थियो । लोकतान्त्रिक मूल्य, मान्यता, आवधिक निर्वाचनबाट सरकारमा जाने, जतताबाट आएको मतलाई स्वीकार्ने पद्धतिमा माओवादी आइसकेको थियो । तर, उहाँहरूको पार्टीको नाममात्रै कम्युनिष्टको थियो । तर, हामीबीचमा एउटा समझदारी १५ वर्षसम्म गठबन्धन लैजाने सहमति कायम भएको थियो । प्रचण्डले पनि कुनै शक्तिले भने पनि म ओलीले दिएको प्रधानमन्त्री पद लिन्न भन्नुभएको थियो । भित्री रूपमा देउवा र प्रचण्डबीच के सहमति भएको थियो कसैलाई थाहा भएन ।

कांग्रेस यस्तो पार्टी हो, यहाँ गोप्य सहमति विगतमा पनि भएका छन् । एउटा उदाहरण, गिरिजाबाबु र कृष्णप्रसाद भट्टराईबीच गोदावरीमा गोप्य सहमति भयो । त्यो कसैलाई थाहा भएन । त्यो गोप्य सम्झौतालाई केन्द्रीय कमिटीले कार्यान्वय गर्ने भनेर पास गर्‍यो । सहमति के हो ? भन्ने नै थाहा नभइकन पास भयो । यसपालि के समझदारी भएको थियो भन्ने न देउवाले भने न प्रचण्डले नै । दुवैले हुन्छ/हुन्छ मात्रै गरे । कसले, कसलाई पहिले प्रधानमन्त्री छाड्ने सहमति भएको केही भनेनन् । एउटाले आधा समय र अर्कोले आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हामीले सुनेका हौँ । कसले पहिलो कार्यकाल लिने भन्नेमा प्रचण्ड र देउवाले दुवैले के सहमति भएको थियो भनेनन् । यो प्रष्ट रूपमा छलफल गरेर बाहिर नल्याउँदाको परिणाम हो । निर्वाचन अगाडि नै खुला सहमति गरेको भए अहिलेको जटिलता आउने थिएन । 

बाहिर देखिएअनुसार त पहिलो कार्यकालमा प्रधानमन्त्री हुने आकांक्षा प्रचण्डले राखेका थिए । तर, सभापति देउवाले अन्तिमसम्म पनि अडान नछाडेकाले कांग्रेसले संघदेखि प्रदेशसम्मकै सरकार गुमाउनु परेको कुरा व्यापक छ । आखिर विश्वासको मत त दिनु नै हुनेरहेछ । अगाडि नै दिएको भए यत्रो बदनामी हुन्थेन कि ?

प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री नदिएर गल्ती भएको सभापति देउवाले स्वीकार गरिसक्नुभएको छ । हामीले अन्तिममा त बोलाएकै थियौँ । तर, ढिला भइसकेको थियो । प्रचण्डजी बालकोट गएर कुरा गरिसक्नुभएको थियो । त्यो बेला पूर्णबहादुर खड्काले ‘ल आउनुहोस् के लेख्नुपर्ने हो म लेख्न तयार छु’ भनेर सभापतिसँगै भएर फोन गर्नुभएको थियो । तर, ढिला भइसकेको थियो । 

विश्वासको मत दिएपछि त कांग्रेस अब प्रतिपक्षी पनि रहेन नि होइन त ?

प्रधानमन्त्री प्रचण्डले सपथ लिएकै दिन प्रमुख प्रतिपक्षी लेखेको कुर्सीमा शेरबहादुर देउवा बसिसक्नु भएको छ । २६ गते हामीले विश्वासको मत दियौँ । कानुनमा कहीँ कतै पनि प्रतिपक्षी दलबारे उल्लेख छैन । यो नैतिकताको कुरा रहेछ । हामी सरकारमा सहभागी नहुने भएकाले हामी नै प्रतिपक्षी हौँ । प्रतिपक्षी दलको भूमिका निर्वाह गर्छौँ । साना पार्टीहरू मिलेर सरकार बनेको छ । हामीले विश्वासको मत दिएनौँ भने संवैधानिक दुर्घटनामा जाने डरले विश्वासको मत दिएका हौँ । 

तर, कांग्रेसले विभिन्न पदमा सौदाबाजी गरेर विश्वासको मत दिएको भन्ने कुरा आइरहेको छ । कांग्रेसबाट कसले के पाउँदैछ ?

कांग्रेसले पदका लागि विश्वासको मत दिएको होइन । त्यस्तो केही सहमति भएको छैन । हाम्रो झण्डै आफ्नै नेतृत्वको सरकार बनाउन सकिन्थ्यो । तर, त्यो सम्भव भएन । संविधान र संसदीय व्यवस्थामाथि प्रहार नहोस् भनेर हामीले विश्वासको मत दिएको हौँ । प्रचण्डलाई पनि ओलीले जबरजस्ती गर्न थाले भने तिमी मात्रै छैनौँ अरूको साथले पनि बहुमत पुग्छ भन्ने देखाउने उद्देश्य पनि हो ।

कांग्रेसको भोट घट्यो, मुखमा आएको सत्ता गयो । प्रतिपक्षमा पुग्नुभयो । अब त तपाईँहरू पार्टी निर्माणमा लाग्नुपर्ने हैन ? तर, अझै सत्ताकै खेलमा सक्रिय हुनुहुन्छ ? 

एक वर्ष भयो पार्टीको महाधिवेशन भएको । हामी त्यसबीचमा स्थानीय निर्वाचनमा लाग्यौँ । त्यसपछि संघ र प्रदेशको निर्वाचन गरियो । सबै साथीहरू त्यसैमा खटियौँ । यसमा दोष कसैको छैन । अब तुरुन्त हामीले केन्द्रीय कमिटीको बैठक बोलाएर भ्रातृ संगठनको गठन गर्नुपर्छ । मैले पहिले पनि भने अहिले नेताको वरिपरि परिश्रमी होइन, परिक्रमी मान्छेको झुण्ड बसेको छ । यसलाई अन्त्य गरेर परिश्रमीलाई साथमा लिएर भ्रातृ संगठनको नेतृत्व चयन गर्छौँ । अब पार्टीलाई सबल बनाउनतिर लाग्नेछौँ । हाम्रो आवश्यकता पनि त्यही हो । 

नेतृत्वको वरिपरि अनिर्वाचितले घेरेर पार्टीले धेरै कुरा गुमाउनु पर्‍यो भनेर तपाईँ आफैँले भन्नुभयो । यो चाहिँ कसरी करेक्सन हुन्छ ?

चुनावमा जाँदा सँधै हार्ने र त्यहाँ बसेर 'ग्रुपिज्म' गर्ने प्रवृत्ति कांग्रेस नेतृत्वमा छ । उनीहरू कार्यकर्ताका बीचमा पनि जाँदैनन् । समानुपातिकमा बस्छन् । समानुपातिक पद नेताका वरपर बस्नेले यो जनप्रियको भन्दा धनप्रियको कोटा जस्तो बनाएका छन् । यसलाई परिवर्तन गर्नुपर्छ । मन्त्री भएका मान्छेले पार्टीको १० भोट पनि बढाउन सकेका छैनन्  । तर, उनीहरू नै पटक-पटक मन्त्री भइरहेका छन् । त्यसैले यो प्रवृत्तिका विरुद्धमा हामी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो कुरा राख्छौँ ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
ad
x