पूर्वाधार

चार करोड लागतमा चोभारमा बनेको नमुना क्यानओपी जीप लाइन सञ्चालनमा

स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट

इकागज |
मंसिर ३०, २०८० शनिबार १६:४२ बजे

काठमाडौँ- चोभारमा पहिलो पटक क्यानओपी जीप लाइन सञ्चालनमा आएको छ । ​शनिबार जीप लाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन् ।

आजबाट सञ्चालनमा आएको क्यानओपी जीप लाइन नेपालमै पहिलो पटक नमुना जीप लाइनको रूपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन् । उनीहरूले क्यानओपी जीप लाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालकको भनाइ छ । सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताइएको छ ।


कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमुना जीप लाइन क्यानओपी रहेको दाबी गरे । उनले जीप लाइन एउटै स्टेप र अनुभवमा सकिने भए पनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए । उनले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताए ।

महर्जनले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरूबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरू सबैले अनुभव लिनसक्ने भनाइ राखे । उनले जीप लाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्यून दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए ।

उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए ।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हब बनाउन आवश्यक रहेको जिकिर गरे । उनले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताए ।

यस्तै कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका-६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे । उनले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताए ।

चोभार क्यानओपी जीप लाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन् । उनले बालबालिकादेखि सबैले जीप लाइन क्यानओपी गर्नसक्ने बताइन् । उनले नेपालमा पर्यटक बढाउने गतिविधि बढीभन्दा बढी हुनुपर्ने भनाइ राखिन् ।

क्यानओपी जीप लाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ ।


Author

थप समाचार
x