पूर्वाधार

नौ वर्षसम्म पनि पूरा भएन गमगढी-नाकच्यालाग्ना सडक

इकागज |
मंसिर २९, २०८० शुक्रबार २२:० बजे

फाइल तस्बिर

मुगु- नौ वर्षअघिदेखि निर्माण गर्न सुरु गरिएको सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैं सम्पन्न हुन सकेको छैन । 

गमगढी-नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ । 


सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर वीरबहादुर जिटीले गमगढी-नाकच्यालाग्ना सडक २०७२ सालदेखि २०८० सालसम्ममा रु ३० करोड रकम खर्चेर १९ दशमलव ५ किलोमिटर ट्रयाक खोलेको बताए । 

सडक विस्तार र स्तरोन्नति गर्न चालु आर्थिक २०८०/८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिङ्ङ गर्न र ७ दशमलव ५ किलोमिटर  ग्राबेलका साथ नाला  निर्माणका लागि रु छ करोड  ५० लाख  रकम सङ्घीय सरकारबाट विनियोजित भएको छ ।

इञ्जिनियर जिटीका अनुसार उक्त सडक निर्माणको ठेक्का अवधि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रहेको छ । उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका कम्पनीले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपेर अनुमति लिएका छन् ।

साढे एक किलोमिटरको पहिरोमा ब्लास्टिङमार्फत सडक निर्माण गर्ने जिम्मा पाएको थोदुङयाराभान जेभीले हाल छाँयालबाट स्काभेटरद्वारा सडक निर्माण गरिरहेको कम्पनीका सञ्चालक कार्मा तामाङले बताए । रासस


Author

थप समाचार
x