पूर्वाधार

मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत वित्तीय लगानी सुनिश्चित

इकागज |
कात्तिक १, २०८० बुधबार १४:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- विश्वकै सबैभन्दा लामो मुक्तिनाथ केबलकार बनाउन ८० प्रतिशत लगानी सुनिश्चित भएको छ ।  विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।

इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने प्रारम्भिक सम्झौता केही समयअघि गरेसँगै परियोजना बनाउनका लागि ८० प्रतिशत लगानी सुनिश्चित भएको मुक्तिनाथका अध्यक्ष अरुण सुवेदीले बताए । उनले इपिसिएफ मोडेलबाट बन्न लागेको मुक्तिनाथ नेपालकै पहिलो ठूलो परियोजना भएको भन्दै ८० किलोमिटर लामो केबलकार बनाउन ५५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको बताए ।


अध्यक्ष सुवेदीले समझदारीअनुसार कुल लागतको ८० प्रतिशत अर्थात ४४ अर्ब रुपैयाँ के एण्ड आर इन्जिनियरिङले लगानी गर्ने भएको जानकारी दिए । उनले आयोजनाको वातावरण मूल्याङ्कन प्रतिवेदन पास हुने र सरकारसँग आयोजना विकास सम्झौता गर्न बाँकी रहेको उल्लेख गरे । उनले नेपालका कानुनी प्रक्रियाहरू लामा भएकाले प्रक्रिया पूरा गर्नका लागि काम गरिहेको भन्दै १८० दिनभित्र पूरा गरी योजना निर्माणको विषयमा के एण्ड आर इन्जिनियरिङसँग सम्झौता गर्ने बताए ।

मुक्तिनाथ केबलकार परियोजना बनाउनका लागि ८० प्रतिशत वित्तीय स्रोत जुटेको भन्दै अध्यक्ष सुवेदीले बाँकी २० प्रतिशत वित्तीय स्रोत नेपाल र बाहिरी कम्पनीहरूले इकुटीका रूपमा जुटाउने बताए । उनले आयोजना निर्माणका लागि ९० प्रतिशत जग्गा खरिद गर्ने काम सकिएको भन्दै बाँकी १० प्रतिशत पनि लिने प्रक्रिया सुरु भइसकेको उल्लेख गरे । उनले वातावरण प्रभाव मूल्याङ्कनको ड्राफ्ट रिपाेर्ट आइसकेको जिकिर गरे । उनले मुक्तिनाथ केबलकार विश्वकै सबैभन्दा लामो केबरकार प्रणाली हुने बताए ।

मुक्तिनाथ केबलकार निर्माण सम्पन्न भएपछि गिनिजबुकमा नाम रहने उनकाे भनाइ छ । मुक्तिनाथ जाँदा सडक खतरायुक्त, हवाई मार्ग पनि खतरा जस्ता समस्याहरूले केबलकार उपयुक्त हुने उनले बताए ।  उनले मुक्तिनाथ मन्दिर विष्णुका स्वयम्भू सर्वप्राचीन पौराणिक ८ घाम मध्ये एउटा भएको बताए । उनले मुक्तिनाथ केबलकार आयोजना निर्माणका लागि केपी ओली प्रधानमन्त्री हुँदा लगानी बोर्डले लाइसेन्स दिएर सम्झौता भएको बताए । उनले नेपालको कानुनी झमेला र कानुनी प्रतिकूलता नगरिदिए मात्रै पनि धेरै ठूलो सहयोग निजी क्षेत्रलाई पुग्ने बताए । उनले आयोजना सम्पन्न भएपछि ७० अर्बसम्म राष्ट्रको जीडीपीमा योगदान गर्ने भन्दै ९ अर्ब रुपैयाँ सरकारलाई राजश्व मात्रै जाने बताए ।

त्यस्तै, के एण्ड आर रेलका अध्यक्ष कुरु प्रविर कार्रलाले मुक्तिनाथ केबलकार परियोजना बनाउन चुनौती र समस्या भए पनि आफूहरू सक्षम रहेको बताए । उनले मुक्तिनाथ केबलकार बनाउन के एण्ड आर प्राविधिक र आर्थिक रुपमा सक्षम रहेको बताए  । अध्यक्ष कार्रलाले मुक्तिनाथ विष्णु भगवानको पावन भूमि भएकाले पनि केबलकारमा लगानी गर्न तयार भएको बताए । उनले मुक्तिनाथ केबलकार निर्माणले उक्त क्षेत्रमा पर्यटकहरूको ठूलो सम्भावना रहेको बताए ।

मुक्तिनाथको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को काम सकिएको दुई वर्ष भइसकेको छ । यस्तै वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथले केबलकारको डिपिआर तयार पारी २०७८  कात्तिक १५ गते लगानी बोर्डमा बुझाएको थियो । इआइएको स्वीकृतिमा भएको ढिलाइले रोकिएको थियो । केबुलकारमा टप टु बटम १९ वटा स्टेसन हुनेछन् ।  यीमध्ये ८ स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने छ । ५ स्टेसनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ । कास्की वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकारको लम्बाइ ८०.१५ किलोमिटर हुनेछ । केबलकारमा ७ सय ७६ वटा गोण्डोला राख्न प्रस्ताव गरिएको छ ।

मुक्तिनाथ केबलकार १ हजारदेखि ३ हजार ७ सय मिटर उचाइसम्म पुग्नेछ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केबलकार योजनाको रहेको छ । केबुलकारको पहिलो स्टेसन वीरेठाँटीमा हुनेछ । दोस्रो वीरेठाँटीदेखि घोडेपानी १३.३१ किलोमिटर, तेस्रो घोडेपानी–तातोपानी १२.७३ किलोमिटर, चौथो तातोपानी–लेते १६.४४ किलोमिटर रहनेछ । पाँचौं स्टेसन लेते–जोमसोम २३.९२ किलोमिटर, छैठौं जोमसोम–कागबेनी ८.२४ र सातौं स्टेसन कागबेनी–रानीपौवा मुक्तिनाथसम्म ९ किलोमिटर रहने कम्पनीले जनाएको छ । वार्षिक ३६ लाखले यात्रा गर्ने अनुमान गरिएको छ ।


Author

थप समाचार
x