पूर्वाधार

पुनःनिर्माणको पर्खाइमा कागवेनी

इकागज |
असोज २०, २०८० शनिबार १६:३७ बजे

फाइल फोटो

गण्डकी - गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीका कारण क्षतिग्रस्त बारागुङमुक्तिक्षेत्र गाउँपालिका वडा नं ४ स्थित कागवेनी यतिखेर पुनःनिर्माणको पर्खाइमा छ ।

बाढीका कारण मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा पुगेको क्षतिले यहाँको जनजीवन अझै तहसनहस छ । बाढीका कारण खानेपानी, सिँचाइलगायतका अत्यावश्यकीय पूर्वाधारमा भएको क्षतिका कारण दैनिकी सञ्चालनमा नै समस्या भइरहेको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले जानकारी दिइन् । 


“बाढीले पुर्याएको क्षतिका कारण कागबेनी यतिखेर विभिन्न समस्या झेलिरहेको छ”, उनले भनिन्, “क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्थानीयवासी भने आआफ्ना तवरबाट जुटिसकेका छन् ।”

सोह्रश्राद्धको समय पारेर ठूलो सङ्ख्यामा कागबेनीमा पुुगेका तीर्थयात्रीहरू यस स्थानमा बाढीले पुर्याएको क्षतिका कारण समस्यामा परेका छन् । बाढीले तीर्थालुलाई आश्रय दिँदै आएका धर्मशालासहित पाँच÷छ वटा होटेल भत्काएको थियो । कृषि पेसामा आबद्ध स्थानीयवासी सिँचाइ कुुलो भत्कँदा समस्यामा परेका छन् भने बस्ने घर, नदीबाट आवतजावत गर्ने पुलका साथै कृषि उपज फलाउने बारी बगरमा परिणत बन्दा ठूलो समस्या भोग्नुपरेको स्थानीयको दुःखेसो छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको प्रारम्भिक तथ्याङ्कअनुुसार बाढीले कागबेनीमा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ । बाढीले घर तथा होटेलका साथै विभिन्न संघसंस्थाका कार्यालयमा क्षति पुर्याएको थियो । बाढीका कारण सिँचाइ कुलो, स्याउका बगैँचा एवम् ठूलै सङ्ख्याका गोठमा क्षति पुर्याएको कागवेनीमा विगत लामो समयदेखि निर्माण कार्यमा काम गर्दै आएका पदम लामगादेले जानकारी दिए । 

बाढी दिउँसो ५ बजेतिर आएका कारण कुनै मानवीय क्षति भने नभएको बताउँदै उनले रातको समयमा आएको भए हुनसक्ने क्षति कल्पनासमेत गर्न नसकिने बताए । “दिउँसो बाढी आएको खबर मुक्तिनाथ माथिका बस्तीका स्थानीयले खबर गरेपछि थाहा भएको हो”, नले भने, “सूचना आउनासाथ गरिएको सजगताले मानवीय क्षति नभएको हो ।”

बाढीले कागबेनीवासी कृषकको करोड मूल्यभन्दा बढीको स्याउ, ओखर र नास्पातीलगायतका फलफूलका बोट क्षति पुर्याएको थियो । स्याउ बगैँचाका साथै कृषियोग्य जमिन र झण्डै सात हेक्टर जमिनमा सिँचाइ गर्दै आइएको कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको छ ।
    
बाढीले कृषकको गोठ र पशुचौपायामा क्षति पुर्याएको थियो । यहाँका २३ गोठ, ३२ लुलु गाई, दुई वटा खसी र एउटा घोडा बगाउँदा करिब ५० लाख रुपैयाँ बढीको क्षति पुर्याएको तथ्यांक छ । गाउँपालिकाले तयार गरेको तथ्यांकले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति पुुगेको छ । त्यस्तै सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति भएको छ । यहाँका रु पचास ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ र २२ वटा घर पूर्ण र पाँच वटा घरमा आंशिक क्षति भएको गाउँपालिकाले जनाएको छ ।

कागवेनी पुनःनिर्माणको पर्खाइमा रहेको उल्लेख गर्दै गाउँपालिकाका उपाध्यक्ष गुरुङले स्थानीय समिति अत्यावश्यकीय पूर्वाधारको पुनःनिर्माणका लागि जुटिसकेको बताइन् । सरकारी तवरबाट निरीक्षण हुने र आश्वासन आउने गरे पनि पुनःनिर्माण कार्य भने अझै नथालिएको उनको भनाइ छ ।

कागवेनीमा आएको बाढीले आसपासका अन्य हिमाली बस्तीका लागि खतराको संकत दिएको जनमुक्ति युवा क्लब, ठिनीका उपाध्यक्ष निरज थकालीले बताए ।  असामान्यरुपमा आएको बाढीले कागवेनीमा ठूलो क्षति पुर्याएको बताउँदै उनले यसलाई जलवायु परिवर्तनको असरका रुपमा लिइएको बताए । 

पछिल्ला समयमा कृषिजन्य उत्पादनमा समेत जलवायुु परिवर्तनको असर देखिएको बताउँदै उनले यस वर्ष मुस्ताङमा स्याउको उत्पादन घटेको जानकारी दिए । 

बढ्दो तापक्रमकै कारण मुस्ताङमा विभिन्न रोगका सङ्क्रमण पनि बढ्न थालेको उल्लेख गर्दै उनले पछिल्ला समयमा बढ्दै गएको डेङ्गुको सङ्क्रमण यसको ज्वलन्त उदाहरण भएको बताए । विगतमा पहाडी भेगमा पशुबस्तुमा हुने रोग तथा सङ्क्रमण हिमाली भेगमा नहुने गरेकामा अहिले भने लम्पी स्किन जस्ता रोगले सताउन थालेको उनले जानकारी दिए । 

“पानी नपर्ने हिमाली बस्तीमा पानी पर्न थालेपछि माटाले छाइएका घर चुहिन थालेका छन्”, उनले भने, “जस्ताले छाउन नसक्ने आर्थिकरुपमा विपन्न समुदायका लागि यो गम्भीर चुनौती बनेको छ ।”

कागवेनीमा भएको क्षति र यसको पुनःनिर्माण सम्बन्धमा सरकारी तवरबाट राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिकसहितको टालीले स्थलगत निरिक्षण गरेको बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रशासकीय अधिकृत होमबहादुर थापा मगरले जानकारी दिए । प्राधिकरणले यस सम्बन्धमा प्रतिवेदन तयार गर्ने र त्यसपछि पुनःनिर्माणका काम बढ्ने उनले बताए । कागवेनीको क्षतिका सम्बन्धमा नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को टोलीले पनि अध्ययन गरेको उनले बताए । 

पुनःनिर्माणका लागि यहाँको भौगोलिक अवस्थिति, नदी प्रणालीको विगतको अवस्था आदि सम्बन्धमा अध्ययन गर्नुुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गर्दै काम अघि बढाउने गरी कुरा भइरहेको बताउँदै उनले अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुनःनिर्माण कार्य अघि बढ्ने बताए । गत भदौ १५ गते बारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको गाउँसभाको अधिवेशनले रकमान्तर गरेर कागवेनी वस्ती पुनःनिर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए । रासस


Author

थप समाचार
x