पूर्वाधार

गाउँ-गाउँमा झोलुङ्गे पुल, सहज बन्दै यात्रा

इकागज |
साउन १०, २०८० बुधबार १७:० बजे

चौतारा । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि उनीहरूको यात्रा अवधि छोटिएको हो । गाउँपालिकाको आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक एवं सामाजिक सहजीकरणमा उक्त पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए ।    
    
उनका अनुसार ४९ मिटर लामो उक्त पुल रु बत्तीस लाख ४० हजार छ सय ४१ मा निर्माण भएको हो । यसैगरी बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने तीन सय ४९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार उक्त झोलुङ्गे पुल निर्माणबाट हिमाली क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । उहाँले नगरपालिकाका नौवटै वडामा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए ।    
    
त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभे्रको भुल्मु गाउँपालिका–२ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण भएको उक्त पुल तीन सय १० मिटर लामो रहेको रहेको वडा नं–२का वडाध्यक्ष विष्णु महतले जानकारी दिए ।    
    
 उनका अनुसार पुल निर्माणले घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने यात्रा १० मिनेटमै छोटिएको छ ।    
    
 हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गणमा निर्माण भएको एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल तयार भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिदँै आएको झण्डै पाँच घण्टाको समय एकै घण्टामा पार गर्न सकिने गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।



Author

थप समाचार
x