घटना-दुर्घटना

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

इकागज |
चैत ३०, २०८० शुक्रबार ८:३० बजे

प्रतिकात्मक तस्बिर

डोल्पा - जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीन जना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुई जनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । 


गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका  बालबालिका  अपरान्ह गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझमा जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताए । ​

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताए । 

गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चार जना नेपाली सेनाका जवानमध्ये तीन जनाको मृत्यु भएको थियो । 


Author

थप समाचार
x