वातावरण

२४ दिनमै २४ जनाको ज्यानै लिनेगरी किन सल्कदैछ आगो ?

१ अर्ब ४० करोड बराबरको क्षति

दुर्गा आचार्य |
बैशाख २५, २०८१ मंगलबार १६:० बजे

काठमाडौँ- सिन्धुपाल्चोक बलेफीका रामप्रसाद पराजुली राति मस्त निद्रामा थिए । दिनभरको भागदौडले थाकेका उनको मोबाइलमा घण्टी बज्यो । राति २ बजे आएको फोनले उनी आत्तिए । किन फोन आयो भनेर एकछिन अलमल्ल परे ।

‘तपाईंको गोठ डढ्न लाग्यो छिटो आउनुहोस्,’ फोन उठाउनसाथ आवाज आयो । उनको मन एकैपटक खङ्‌ग्रङ्ग भयो । हतार-हतार उनी टर्च बालेर गोठतिर दौडिए । आगो गोठै छेउमा पुग्न लागिसकेको थियो । सबै मिलेर राति नै नियन्त्रणमा लिए । 


जिलौटो पोलेर त्यतिकै छाडेको आगोले भिर पाखा हुँदै बस्ती पसेको उनले बताए । ‘जिलौटोमा आगो सल्काएर बारी धनी घर फर्किए,’  केशवले भने, ‘हावाहुरीले पातपतिङ्गर हुँदै आगो बस्तीमै पुग्यो ।’ समयमै थाहा पाएर कुनै क्षति नभएको उनले बताए । तर पशुपंक्षी किरा फट्याङ्ग्राको बासै उडेको उनको भनाइ छ । 

गाउँ वरिपरिका भिर र पाखामा आगलागी घटना दैनिक हुने उनले बताए । ‘कहिले गिदेडाँडा भिर, कहिले बुकेडाँडामा डढेलो दैनिकजसो लाग्ने गरेको छ’, उनले भने ‘मानिसले हेलचेक्य्राइँ गरेर चुरोट खाएर ठुटो फाल्दा डढेलो लाग्ने गरेको छ ।’ 

वसन्त ऋतु लागेसँगै हरियाली हुनुपर्ने बस्ती वरिपरि रहेका भिर र पाखो कालै भएको छ । डढेलो लगाउने गिरोह नै सक्रिय भएको उनले बताए । डढेलोले वातावरण प्रदूषित बनेको छ । ‘खै विश्वको पहिलो प्रदूषित शहर भनेर काठमाडौँको नाम टिभिमा देखाइरहन्छ’, के हुन लाग्यो उनले प्रश्न गरे । 

साँझ परेपछि पारि हेर्दा जताततै डढेलो मात्रै देखिने बलेफीकी मनमाया तामाङ बताउँछिन् । ‘बस्ती छेउ लामो आकारमा डढेलो लागेको दृश्य मात्रै देखिन्छ’ उनले भनिन् ‘पहिला यति धेरै डढेलो लागेको थिएन ।’ यो साल निकै वन जंगल सखाप भएको उनले सुनाइन् । ‘डढेलोको धुवाँले ढाकेर होला मौसम पनि खुल्न सकेन उनले भनिन् ।’ 

आगलागीमा कति क्षति भयो ?
आगलागीका घटना दिनानुदिन बढिरहेका छन् । भूक्षयविद्हरू पानी नपरेका कारण आगलागीका घटना बढेको बताउँछन् । अहिलेको अवस्थाले पछि वर्षायाममा बाढी र पहिरोको जोखिम उतिकै रहेको उनीहरूको भनाइ छ । 

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत तीन वर्ष (२०७८ देखि हालसम्म) मा १६ हजार ७४ वटा आगलागीका घटना भएका छन् । १ हजार ८ सय १६ वटा वन डढेलोका र १४ हजार २ सय ५८ आगलागीका घटना भएका छन् । जसमा परेर ४ सय ८१ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सय १६ जना घाइते भएका छन् । 

प्राधिकरणले दिएको जानकारी अनुसार सो आगलागीका घटनामा १ अर्ब ४० करोड बराबरको क्षति भएको छ । यस्तै २ हजार ८ सय ८० पूर्वाधारमा क्षति पुगेको छ भने ८ हजार ३ सय ८६ पशुचौपायले ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष २०७८ वैशाख १ देखि २०७९ चैत ३० सम्ममा १० हजार २ सय १९ आगलागी र डढेलोका घटना भएका छन् । वन डढेलोका ७ सय ७४ वटा र आगलागीका ९ हजार ४ सय ४५ वटा घटना घटेका छन् ।

प्राधिकरणले दिएको तथ्यांक अनुसार ३ सय ३२ जनाको मृत्यु भएको छ भने १ हजार ३ सय ७ जना घाइते भएका छन्  । ५ हजार ३ सय ५८ पशुचौपायाको मृत्यु भएको छ भने पूर्वाधार क्षति २ हजार ८ सय ८० भएको छ । सो आगलागीबाट ७३५ करोडको अनुमानित आर्थिक क्षति भएको छ ।

आर्थिक वर्ष २०८० वैशाख १ देखि चैत ३० सम्ममा ४ हजार ५ सय ३९ आगलागीका घटना हुँदा १ सय २७ जनाले ज्यान गुमाएका छन् भने ५ सय २८ जना घाइते भएका छन् । २ हजार २ सय १६ पशुचौपायले ज्यान गुमाएका छन् । २५५ करोडको आर्थिक क्षति हुँदा १ हजार १ सय १४ पूर्वाधारमा क्षति पुगेको छ ।

यस्तै २०८० वैशाख २ गतेदेखि २५ (आजसम्म) सम्ममा १ हजार ३ सय १६ वन डढेलो र आगलागीका घटना भएका छन् । ५ सय ५० वन डढेलो लाग्दा ७ सय ६६ आगलागीका घटना भएका छन् । यस अवधिमा २४ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । यस अवधिमा ८ सय १२ पशुचौपायले ज्यान गुमाएका छन् भने ९ सय १८ भौतिक पूर्वाधारमा क्षति पुगेको छ । यी घटनामा ५० करोड आर्थिक क्षति भएको छ । 

राज्य संयन्त्र गम्भीर छैन 
वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीले पानी नपरेर सुक्खा भएका कारण डढेलो र आगलागीका घटना फैलिएको बताइन् । इकागजसँग कुरा गर्दै उनले यसलाई नियन्त्रण गर्न राज्यको पूर्व तयारी नदेखिएको बताएकी छन् । ‘आगलागी नियन्त्रण गर्न राज्यका संयन्त्रहरू बलियो देखिएनन् ’ उनले भनिन् ‘ वर्षेनी हुने यस्ता घटना नियन्त्रणका लागि उपकरणहरू पनि भएन ।’ 

डढेलोका कारण वातावरण प्रदूषण बढेको उनको भनाइ छ । प्रदूषणमा नयाँ-नयाँ रेकर्ड ब्रेक गरिरहेको उनले सुनाइन् । ‘प्रदूषणका कारण अहिले श्वास फेर्दा पनि धुवाँ नै फेरिरहेका छौँ जस्तो लाग्छ’, उनले भनिन्  । 

अब डढेलो नियन्त्रणका लागि राज्यका सबै संरचना लगाएर आपतकालीन अवस्था घोषणा गर्नुपर्ने उनले बताइन् । त्यस्तै उनले राज्यले विभिन्न योजना बनाएर लागू गर्न सुझाव दिइन् । 

के छ कानुनी व्यवस्था 
वन ऐन, २०७६ को दफा ५० को उपदफा (४) अनुसार डढेलो लगाउनेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद र ६० हजार जरिवानाको व्यवस्था छ । आवश्यक परेका दुवै सजाय हुने व्यवस्था छ । 

डढेलो लगाउनेको सुराकी दिनेलाई ५० हजार पुरस्कार
आगलागीका घटना बढ्न थालेपछि विभिन्न स्थानीय तहहरूले डढेलो लगाउनेहरूको खोजबिन सुरु गरेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले वनमा डढेलो लगाउनेबारे सुराकी गर्नेलाई ५० हजार पुरस्कारको  व्यवस्था गरेको छ । 

हेलम्बु गाउँपालिकाले एक सूचना जारी गरी वन डढेलोमा संलग्न व्यक्तिको बारे सप्रमाण जानकारी गराएमा सूचनादाताको नाम गोप्य राखी ५० हजार पुरस्कार प्रदान गरिने जनाएको छ ।

आम नागरिकलाई असर गर्ने र कानुनले समेत वर्जित गरेको विषयमा दिनप्रतिदिन आगलागीको घटना घटेकाले यसलाई नियन्त्रणमा लिन पुरस्कारको व्यवस्था गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

‘दैनिक आगलागी र वन डढेलोको घटनाहरू बढिरहेकाले त्यसलाई न्यूनीकरण गर्न डढेलो लगाउनेको सूचना दिनेलाई पुरस्कारको घोषणा गरिएको हो’, शेर्पाले भने, ‘गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने र त्यस्ता कार्यको न्यूनीकरण गर्न प्रयत्न गर्ने हाम्रो प्रयास हो ।’

आगलागी पीडितका लागि क्षतिपूर्ति के छ ? 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले अग्नि पीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । गत वैशाख १७ बाट सो प्रक्रिया सुरु भएको उनले जानकारी दिए । 

बैठकले अग्नि पीडितलाई दुई किस्तामा ५० हजार आर्थिक सहयोग उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । ‘विपद् प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८१’ अनुसार उक्त रकम प्रदान गरिनेछ ।

कार्यविधिअनुसार आगलागी, डढेलो, भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरीबतासबाट घरवास गुमाएका परिवारलाई अस्थायी आवास बनाउन २५ हजारका दरले दुई किस्तामा रकम प्रदान गरिने छ ।


Author

थप समाचार
x