घटना-दुर्घटना

भारतको नैनीताल दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका

सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, घटनाको खबरले पूरै वडा शोकमा

इकागज |
चैत २७, २०८० मंगलबार २२:० बजे

कञ्चनपुर- सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका-८ का बासिन्दा रहेका छन् । 

उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ-८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको बैजनाथ गाउँपालिका-८ का वडाध्यक्ष भगन थारुले जानकारी दिए । उनका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरू नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।


'सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्,' वडाध्यक्ष थारुले भने, 'मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन् ।' मृतकमध्ये कोही ६ महिना अघि त केही एक वर्षअघि मजदुरीका लागि भारत गएका थिए । मृतकमध्ये तीन जना फत्तेपुर, एक जना रिहारपुर र दुई जना थपुवा गाउँका रहेको वडाध्यक्ष थारुले जानकारी दिए ।

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका दशरथ थारु र एक महिला घाइते भएकी छिन् । 'महिलाको नाम थाहा हुन सकेको छैन,' उनले भने, 'घटनाको खबरले पूरै वडाका बासिन्दा शोकमा छन् ।'

उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।

बेतालघाटस्थित पुलिस थानाका सब-इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिए । उनीहरू सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दै आएका थिए । सोमबार काम सकिएपछि जीप भाडामा लिएर सबै जना भारतको टकनपुर हुँदै महेन्द्रनगर आउँदै थिए । जीप चढेको केहीबेरमै उनीहरू दुर्घटनामा परेका थिए । 

बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । सोमबार राति नै भारतीय प्रहरी, स्थानीयलगायत उनीहरूको उद्धारमा खटिएका थिए । रासस


Author

थप समाचार
x