घटना-दुर्घटना

दाङमा जिप पल्टिँदा एकको मृत्यु

इकागज |
चैत ५, २०८० सोमबार १४:४१ बजे

दाङ- पश्चिम दाङमा आज यात्रुबाहक जिप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका-१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए ।

बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो । त्यसैगरी जिप चालक बबई-१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।


पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जिप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर पल्टिँदा सात जना घाइते भएका थिए । 

अन्य घाइते हुनेमा बबई-१ निवासी ५० वर्षका जोगबहादुर बुढा, १७ वर्षकी तारा सारु मगर, ३२ वर्षका सङ्गीता बुढा, ४० वर्षका बन्दना बुढा र सल्यानको शारदा नगरपालिका-९ निवासी ५० वर्षकी नन्दकली थापा छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x