घटना-दुर्घटना

मनाङ एअर दुर्घटना

मौसममा सुधार नहुँदा चारवटा शवमात्रै काठमाडौँ लगियो, दुईवटा भोलि पठाइने

बाबुराम भण्डारी |
असार २६, २०८० मंगलबार १७:५८ बजे

विराटनगर- मंगलबार विहान मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका पाइलटसहित ६ जनाको शवलाई काठमाडौँ पठाउन मौसम बाधक बनेको छ । 

छिनछिनमै बाक्लो हुस्सु लागेका दुर्घटनास्थलमा उद्धारका लागि गएका हेलिकप्टर अवतरणमा कठिनाइ भएपछि चारवटा शवलाई आधा घण्टा तल रहेको सडकमा पुर्याएर त्यहाँबाट हेलिकप्टरबाट काठमाडौँ पठाइएको लिखु पिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतले बताइन् ।


दुर्घटनास्थलमै पुगेकी अध्यक्ष बस्नेतले खराब मौसमका कारण चारवटा शवमात्रै अल्टिच्यूड एअरको हेलिकप्टरबाट काठमाडौँ पठाइएको जानकारी दिइन् ।

मंगलबार विहान १० बजेर १३ मिनेटमा सम्पर्कबाहिर पुगेको मनाङ एअरको ९एन–एएमभी (एएस५०) कलसाइनको हेलिकप्टर सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–२ को सीमावर्ती लिखु पिके गाउँपालिका–५ लामजुरा क्षेत्रको काँडे भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।

गाउँपालिका अध्यक्ष बस्नेतका अनुसार सडकभन्दा आधा घण्टामाथि डाँडामा दुर्घटना भएको र त्यहाँको मौसममा सुधार नभएपछि शव काठमाडौँ पठाउन समस्या भएको छ ।

‘स्थानीय र प्रहरीको सहयोगमा आधा घण्टाको ओरालोमा स्ट्रेचरमार्फत चारवटा शव बोकाएर हेलिकप्टरसम्म पुर्‍याएर पठाइएको छ, बाँकी दुईवटा शव लैजाने तयारी गर्दागर्दै बाक्लो हुस्सुले सबै छोपिएको छ,’ अध्यक्ष बस्नेतले भनिन्, ‘अब फेरि हेलिकप्टर यहाँ आउने सम्भावना देखिएको छैन, दुईवटा शव आज यही राख्नुपर्ने अवस्था भएको छ ।’

दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित हेलिकप्टरमा सवार मेक्सिकन नागरिकहरू सिफुएन्टेज जी फेरान्डो, गोन्जालेज एबरिक, गोन्जालेज ओलासियो लुज, सिफुएन्टेज जी मारिया जोइस र रिनकोन इस्माइलको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यक्ष बस्नेतले दुर्घटनास्थल हेर्दा मौसमकै खराबीले हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिन् । दुर्घटनास्थलमा ठूला रुखहरू नभएकाले हेलिकप्टर जमिनको नजिकैबाट उड्ने क्रममा दुर्घटना भएर गुराँसको पोथ्रोमाथि खसेको उनले जानकारी दिइन् ।

‘यहाँ हेर्दाखेरी अग्लो रुख कतै छैनन्, साना पोथ्राहरूमात्रै छन्, रुखमा ठोक्किएको जस्तो देखिँदैन,’ उनले भनिन्, ‘स्थानीयले पनि बिहान यस क्षेत्रमा बाक्लो हुस्सु लागेको भन्नु भएको छ, हेलिकप्टर होचोमै उडेर आएकाले दुर्घटनामा परेको हो कि भन्ने लागेको छ ।’

मंगलबार खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित सुर्के हेलिप्याडबाट काठमाडौँतर्फ उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटना हुँदा दुर्घटनास्थलमा शवहरू यत्रतत्र अवस्थामा भेटिएका थिए । मृतक मध्ये एक जनाको शव पहिचान गर्नै नसकिने गरी क्षतविक्षत अवस्थामा फेला परेको भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु भएका मेक्सिकन नागरिकहरू नेपाल घुम्न भन्दै आइतबार काठमाडौँ ओर्लिएका थिए । १५ दिने नेपाल भ्रमणमा आएका पाँचैजना भारतको इन्दिरागान्धी विमानस्थल ट्रान्जिट भएर मेक्सिकोबाट सँगै भएर काठमाडौँ आइपुगेको अध्यागमन विभागले जनाएको छ । उनीहरू आइतबार काठमाडौँमै बसेर सोमबार मनाङ एअरको हेलिकप्टरमा लुक्ला पुगेका थिए ।

लुक्लाबाट माउन्टेन फ्लाइट सकेर मंगलबार पुनः काठमाडौँ फर्किने तयारीमा रहेकोमा पाँच मेक्सिकन नागरिकसहित पोखरा निवासी हेलिकप्टरका पाइलट गुरुङ सधैंका लागि बिदा भए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x